ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व असुली लक्ष्यभन्दा ५५ प्रतिशत कम

२०७७ असार, ७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरमा राजस्व असुली वार्षिक लक्ष्यभन्दा ५५ प्रतिशत कम असुली भएको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७६÷७७ को ११ महीनाको अवधिमा जम्मा वार्षिक लक्ष्यको ४५ प्रतिशत मात्रै राजस्व संकलन गरेको बताएको छ । आन्तरिक राजस्व विभागले यस वर्ष भरतपुर कार्यालयलाई रू. ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व असुली गर्ने लक्ष्य दिएको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी मूल्य अभिवृद्धि करमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम अन्तशुल्क शीर्षकमा संकलन गरेको छ । तर, कार्यालयको कुल राजस्व संकलनमध्ये ८० प्रतिशत भन्दा बढी कर संकलन अन्तशुल्कबाट हुँदै आएको छ ।

कार्यालयका अनुसार हालसम्म अन्तशुल्क शीर्षक अन्तर्गत राजस्व विभागले रू. ३७ अर्ब ९४ करोड ४३ लाख ८८ हजार वार्षिक लक्ष्य दिए पनि हालसम्म रू. १७ अर्ब ९२ करोड ८ लाख ८ हजार मात्रै राजस्व संकलन भएको छ । कार्यालयलाई मूल्य अभिवृद्धि करमा रू. २ अर्ब ८ करोड ९८ लाख १९ हजार लक्ष्य दिइएकोमा रू. १ अर्ब ७१ करोड २ लाख २१ हजार राजस्व असुली गरेको छ ।

यस्तै आयकर शीर्षक अन्तर्गत रू. ३ अर्ब ६ करोड ४७ लाख ४४ हजार लक्ष्य दिइएकोमा रू. १ अर्ब ७९ करोड ७० लाख ११ हजार राजस्व असुल भएको छ । बहाल करअन्तर्गत रू. ९ करोड ३९ लाख २३ हजार लक्ष्य दिइएकोमा रू. ४ करोड ७२ लाख ६३ हजार राजस्व असुल भएको कार्यालयले बताएको छ ।

यस्तै ब्याज कर शीर्षक अन्तर्गत रू. १८ करोड १० लाख ८३ हजार वार्षिक लक्ष्य दिइएकोमा हालसम्म रू. १२ करोड २१ लाख ६४ हजार राजस्व संकलन भएको छ । शिक्षा सेवाशुल्क मा रू. १ करोड ३७ लाख ४३ हजार लक्ष्य दिइएकोमा रू. १ करोड २९ लाख ३५ हजार राजस्व संकलन भएको छ ।

स्वास्थ्यसेवा शीर्षक अन्तर्गत विभागले कुनै लक्ष्य दिएको छैन । तर, बक्यौता रकम असुली गर्नका लागि जेठ महीनासम्मको लक्ष्य रू. १ करोड ४३ लाख ३८ हजार दिएकोमा हालसम्म यो शीर्षकमा कार्यालयले रू. २ लाख २२ हजार मात्र संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी कपिल नेपालले लकडाउनका कारण मदिराजन्य वस्तुको उत्पादन र कारोबार ठप्प भएकाले राजस्व असुलीमा कमी आएको बताए । फागुनदेखि भ्याट रकम, आयकर, ब्याजकर, कर परीक्षण र जरीवाना असुली कम भएका कारण राजस्व बढाउन नसकिएको उनको भनाइ छ ।

उनका अनुसार हाल वार्षिक लक्ष्य ४५ प्रतिशतको हाराहारीमा असुली भए पनि असार मसान्तसम्म शतप्रतिशत नै उठाउने लक्ष्य कार्यालयले लिएको छ । हाल कार्यालयमा करदाताको चाप बढ्दै गएको र अनलाइन प्रणालीबाट करदाताले कर तिर्ने क्रम बढेकाले कर असुलीको अनुपात बढ्ने उनको विश्वास छ । हाल आन्तरिक राजस्व कार्यालय भरतपुरले चितवन र नवलपरासी पूर्वका करदाताहरूबाट कर संकलन गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)