ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन खुकुलो भए पनि व्यापारमा आएन सुधार

व्यवसायीमाथि बैंकहरुले दबाब बढाउँदा थप तनाव

२०७७ असार, ११  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर व्यापार व्यवसाय खोल्न अनुमति दिए पनि व्यापारमा भने सुधार नआएको व्यापारीहरूले बताएका छन् । गत जेठ ३२ गतेपछि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै लकडाउनलाई खुकुलो बनाएको थियो । तर, लामो समयसम्म आर्थिक कारोबार नै ठप्प हुँदा बजार अझै पनि प्रभावित बनेको सुनसरीका व्यवसायीहरू बताउँछन् ।

यहाँको इटहरी बजार खुला भए पनि कारोबारमा कुनै सुधार नआएको उनीहरूको भनाइ छ । सामान्य घरायसी सामग्रीको विक्री भए पनि बजार पूर्ण रूपमा सञ्चालन हुन नसकेको उनीहरूले बताएका छन् । अहिले घरभाडासँगै बैंकको ब्याज, कर्मचारी तलब धान्नै मुस्किल भएको गुनासो व्यापारीको छ ।

होटेल व्यवसाय गर्दै आएका व्यापारी तथा उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष तेजबहादुर पुरीले लकडाउनले व्यवसाय चौपट भएको बताए । ‘लकडाउनअघि ६ लेनको सडक विस्तारका कारण व्यवसायमा मन्दी आएको थियो । त्योसँगै लकडाउन थपियो अहिले त व्यापार नै ठप्प छ’, उनले भने ।

होटेल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले होटेल व्यवसायीहरू झन् प्रभावित बनेको बताए । लकडाउन खुकुलो भए पनि होटेल, रेष्टुराँहरू सञ्चालनमा कडाई गरिँदा करोडौं लगानी गरेर खोलिएका होटेलहरू अहिले समस्यामा रहेको उनको भनाइ छ । इटहरीमा साना–ठूला गरी करीब १ हजार २०० ओटा होटेल छन् ।

यस्तै रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष सिताराम सापकोटाले पनि व्यवसाय खस्किएको बताए । उनले स्थानीय ग्राहक मात्रैले घरभाडादेखि जीविकोपार्जन गर्न समस्या हुने बताए । ‘प्रदेशकै केन्द्रमा इटहरी बजार रहेकाले विभिन्न शहरबाट ग्राहकहरू आउने गर्दथे’, उनले भने, ‘तर लकडाउनका कारण ग्राहकको अभावमा व्यापार चल्न सकेको छैन ।’ लकडाउन खुकुलो भएसँगै अहिले बैंकको ताकेताका कारण व्यवसायीहरू थप दबाब र पीडामा परेको उनको भनाइ छ ।

करोडौं लगानीमा सञ्चालित पार्टी प्यालेसहरू संकटमा परेका छन् । विवाह तथा ब्रतबन्धको समयमा शुरू भएको लकडाउनको कारण व्यवसाय धराशयी बनेको उनीहरू बताउँछन् । करोडौं लगानी धराशयी बनेको भन्दै इटहरीका पार्टी प्यालेस व्यवसायी राजकुमार कार्कीले दर्जनौं कर्मचारी, बैंकको ब्याज र भाडामा अहिले मासिक रू. ५ लाख घाटा भइरहेको बताए । इटहरीको दुर्गा पार्टी प्लालेस र लाइन्स क्लबमा रहेको पार्टी प्यालेस सञ्चालन गर्दै आएका कार्की भन्छन्, ‘सबैभन्दा बढी मार हामीलाई भयो, विवाह ब्रतबन्धमा धेरै चल्ने व्यापार यो वर्ष चौपट भएको छ ।’

लकडाउनको वैकल्पिक समाधान निकाल्दै सरकारले उपभोक्ता र व्यापारीहरूबीच सामाजिक र भौतिक दूरी कायम गरी असार १ गतेबाट व्यापार–व्यवसाय सञ्चालन गर्न दिने अनुमति दिएको छ । सरकारले बैंकको ब्याज, विभिन्न प्रकारका कर, घरभाडा र विद्युत् महशुलमा छुट दिनुपर्ने व्यापारीहरूको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sanjib kumar karki

[Jun 24, 2020 11:02pm]

This is world's problem . We have to face bravely and we pray for god.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)