असार १३, काठमाडौं । केही दिनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सम्वन्धि निर्देशिकाको मस्यौदामा राय सुझाव मागेको थियो । योसँगै कतिपय लगानीकर्ताले अब आईपीओे रू. १०० मा नपाइने भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्न थालेका छन् ।
वास्तवमा आईपीओमा बुक बिल्डिङ प्रक्रिया अपनाउनुको आशय नै प्रिमियममा आईपीओ जारी गर्ने हो । बुक बिल्डिङ भनेको एक प्रकारको लीलामी प्रक्रिया हो ।
यस प्रणालीमा कम्पनीले सार्वजिनक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित लीलामी गरिन्छ । र, त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्कासन गर्दा मूल्य निर्धारित गरिन्छ । मानौं, कुनै कम्पनीले १० लाख कित्ता शेयर आईपीओ जारी गर्न लागेको छ ।
कम्पनीले त्यसमा २ लाख कित्ता बुक बिल्डिङ प्रक्रिया मार्फत विक्री गर्न आह्वान गर्न सक्छ । यसमा सबैभन्दा बढी कुन मूल्यमा सबै (२ लाख) कित्ता विक्री हुन सक्छ, त्यो हेरिन्छ र त्यही मूल्यमा आईपीओ जारी गरिन्छ ।
बुक बिल्डिङ प्रक्रियामा अपनाइने लीलामी प्रक्रियालाई ‘डच अक्शन’ भनिन्छ ।
सामान्य लीलामीमा खरीदकर्ताले तिर्न चाहेको मूल्य र तिर्ने मूल्य एउटै हुन्छ (कि त उसले खरीद गर्नै पाउँदैन) । डच अक्शनमा भने केही खरीदकर्ताले साँच्चै तिर्ने मूल्य तिर्न चाहेको मूल्यभन्दा कम हुन्छ । लीलामीमा भाग लिनेको हकमा मात्र यस्तो हो । सर्वसाधारण खरीदकर्ताले तिर्ने मूल्य भने एउटै हुन्छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनका लागि कम्पनी लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन भएको हुनुपर्छ ।
साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारणसभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । यी सबै मापदण्ड पूरा गरेर मात्र कम्पनीले बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्न सक्नेछ ।
सबै कम्पनीले यस्तो मापदण्ड पूरा गर्न सक्दैनन् । मापदण्ड पूरा गर्न नसक्ने कम्पनीले रू. १०० मै आईपीओ निष्कासन गर्छन् ।
बुक बिल्डिङ विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्तालाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ ।
यसरी शेयर लिने संस्थागत लगानीकर्ताले आईपीओ निष्कासन गरेको ६ महीनासम्म त्यो कम्पनीको शेयर खरीद विक्री गर्न पाउने छैनन् ।
यो विधि अन्तर्गत लीलामीमा भाग लिन धितोपत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचीकृत संघसंस्था, सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र मान्यताप्राप्त अवकाश कोष मात्र योग्य हुनेछन् ।
बुक बिल्डिङ प्रणाली लागू भएपछि धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रका सूर्य नेपाल, सीजी फूड्स र डाबर नेपाल जस्ता उच्च नाफा भइरहेका कम्पनीलाई शेयर बजारमा आउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । उनीहरू नेटवर्थको उचित मूल्यमा शेयर विक्री गर्न सक्ने हुन्छन् ।
विकसित राष्ट्रहरूको शेयर बजारमा बुक बिल्डिङ प्रणाली नै प्रचलनमा छ ।
*केहि अंश पुन : अद्यावधिक गरिएको