ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका उद्योग व्यवसायमा २० प्रतिशत रोजगारी गुम्यो

२०७७ असार, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोभिड १९ का कारण गरिएको लकडाउनले चितवनमा २० प्रतिशत रोजगारी गुमेको अनुमान गरिएको छ । चितवन उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, चेम्बर अफ कमर्शमा आबद्ध गरी करीब ६ हजार ५०० ओटा उद्योग व्यवसायमा कार्यरत करीब २ लाख रोजगारीको २० प्रतिशत कटौती भएको बताइएको छ ।

विशेषगरी पर्यटन उद्योग, शैक्षिक संस्था र यातायातका क्षेत्रबाट रोजगारीमा पूर्ण असर गरे पनि अन्य क्षेत्रमा रोजगारी कटौती नभएको व्यवसायीले बताएका छन् । लकडाउनको शुरूका अवधिमा उद्योग व्यवसाय ठप्प हुँदा दैनिक ज्यालामजदुर संख्यामा पूर्णरूपमा कटौती भए पनि मासिक तलबका कर्मचारी तथा मजदुरलाई भने नियमित तलब दिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताए ।

‘हामीले लकडाउन अवधिमा पनि आंशिक र पूर्णरूपमा तलब दिँदै आएका थियौं । अहिले उद्योग व्यवसाय खुल्दै गएका छन् । कर्मचारी आउने क्रम बढ्दो छ’, उनले भने । उनका अनुसार उद्योग संघमा १ हजारको हाराहारीमा उद्योग व्यवसाय दर्ता छन् भने करीब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पर्यटन, सार्वजनिक यातायात, शैक्षिक संस्था र सैलुन व्यवसायमा पूर्णरूपमा रोजगारी कटौती भए पनि अन्य क्षेत्रमा कटौती नभएको उनले जानकारी दिए । चेम्बर अफ कमर्श चितवनमा आबद्ध ७०० उद्योग व्यवसायबाट २५ प्रतिशतले रोजगारी गुमाएका छन् । ‘लामो समय बन्दाबन्दी जारी रहँदा कतिपय उद्योग व्यवसायका कर्मचारी विस्थापित पनि भए भने कतिले विकल्प पनि रोजिसकेका छन्’, चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराईले भने ।

उनका अनुसार उद्योग व्यवसायको क्षमता र कारोबार हेरेर दैनिक ज्यालादारीहरूको संख्यामा पनि भारी कटौती भएको छ । कम्पनीलाई अति आवश्यक पर्ने कर्मचारी, प्राविधिक लगायत कर्मचारीलाई भने नियमित तलब दिएको उनको भनाइ छ ।

तर, उद्योग वाणिज्य संघ, चितवनले भने उद्योग व्यवसाय ठप्प भए पनि कर्मचारीको तलब नकटाउन अनुरोध गरेका कारण बेरोजगारीको संख्यामा कमी नभएको दाबी गरेको छ । ‘हामीले हाम्रो व्यवसाय ठप्प भए पनि कर्मचारी र मजदुरको पारिश्रमिक नरोक्न सबै व्यवसायीलाई अनुरोध गरेका थियौं’, संघका अध्यक्ष राजु श्रेष्ठले भने, ‘अहिलेसम्म रोजगारी गुम्यो भनेर कसैले कम्प्लेन गर्न आएका छैनन् ।’

उनका अनुसार भारतीय कामदार र कर्मचारी लकडाउनले गर्दा काम गर्न आउन नपाएका कारण रोजगारीको संख्या कमी भएको देखिएको हो । विशेषगरी उद्योग कलकारखाना, इँटा उद्योग, निर्माण सामग्री उद्योगमा मजदुर, प्राविधिक गरी करीब ३० प्रतिशत भारतीयले रोजगारी गर्दै आएको उद्योग वाणिज्य संघको अनुमान छ ।

कोभिड–१९ को प्रभाव कम भएसँगै उद्योग व्यवसाय क्षेत्रले पनि गति लिने श्रेष्ठको भनाइ छ । ‘लकडाउनका कारण नेपाली कामदारलाई स्वालम्वन र आत्मनिर्भर बन्न मद्दत पुगेको छ’, उनले भने, ‘समयलाई सदुपयोग गर्न जान्यौं भने क्षणिक रूपमा कोरोनाले असर गरे पनि दीर्घकालीन रूपमा फाइदा हुन सक्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)