ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तंग्रिँदै दुईपांग्रे सवारीको बजार

२०७७ सावन, १६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सरकारले अटोमोबाइलको आयातमा गरेको कडाइ र त्यसपछिको चारमहीने बन्दाबन्दीका कारण समग्र अटोमोबाइल बजार शिथिल भए पनि दुईपांग्रे सवारीको बजार भने तंग्रिँदै छ ।

सरकारले असार पहिलो सातादेखि जोर–बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो भने साउनको पहिलो सातादेखि बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसयता चारपांग्रे सवारीको बजार चलायमान बन्न नसके पनि मोटरसाइकल र स्कुटरको व्यापार भने बढ्दै गएको छ ।

बढ्दो कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न पनि सार्वजनिक सवारीभन्दा निजी सवारीप्रति ग्राहकको मोह बढेको विक्रेताहरूको अनुमान छ । सार्वजनिक यातायातमा कोरोनाको जोखिम हुने भयले दुईपांग्रे सवारीप्रति ग्राहकको मोह बढेको टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । चारपांग्रे सवारीसाधन महँगो पर्ने भएकाले दुईपांग्रेको व्यपार बढेको हो । गतवर्षको तुलनामा यस वर्ष दुईपांग्रे सवारीको बजार ५० प्रतिशतसम्म बढेको छ । उनका अनुसार असारदेखि नै टीभीएसले कोरोनाको जोखिमका कारण ग्राहकलाई अनलाइन बुकिङ र होम डेलिभरी समेत शुरू गरेको छ ।

‘कोरोना संक्रमणबाट जोगिन र सार्वजनिक यातायात नचलेको अवस्थामा लामो दूरीको यात्राका लागि पनि ग्राहकले दुईपांग्रे सवारी खरीद गर्ने गरेको देखिन्छ,’ उनले बताए । कोरोनाका कारण अर्थतन्त्र धराशयी भएको र धेरैले रोजगारी गुमाएको कारण दुईपांग्रेको बजार बढ्दै जानेमा शंका उनी गर्छन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका दुईपांग्रे सवारीका लागि सभापति तथा हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मोटर्सका अध्यक्ष अभिक ज्योति दुई पांग्रेको माग बढेको बताउँछन् । कोरोना संक्रमणको जोखिमका कारण मागअनुसार सवारी आयात गर्न नसकेको र देशका विभिन्न स्थानमा पठाउन नसकेको उनले बताए । ‘लकडाउनमा सवारी किन्न खोज्ने ग्राहक पनि पर्खिएर बसेकोले पनि माग बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘गतवर्षको यही अवधिको तुलनामा यस वर्ष विक्री बढेको छ ।’ यसलाई माग बढेको भन्न नसकिने उनको भनाइ छ । ‘पर्खिएर बसेका ग्राहकहरूले सवारी किनेकाले माग बढे जस्तो देखिएको हो, यही अवस्था दशैंसम्म यथावत् रहे माग बढेको भन्न सकिएला,’ उनले बताए ।

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सका मार्केटिङ प्रमुख समीर सिंह लकडाउनपछि पनि राम्रै व्यवसाय भएको बताउँछन् । ‘हामीले बजार चलायमान हुन समय लाग्छ भन्ने सोचेका थियौं । तर दुईपांग्रेको सवालमा पहिलेभन्दा माग राम्रो देखिन्छ,’ सिंहले बताए ।

चारपांग्रे सवारीको बजार भने सेलाएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण दुलाल चारपांग्रे सवारीको माग पनि उत्तिकै भएको तर सरकारी नीतिले यसलाई धराशयी बनाएको बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)