ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य वृद्धिको प्रभाव : विकल्प खोज्दै चितवनका व्यवसायी

२०७७ सावन, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । केही वर्षयता सुनको मूल्य निरन्तर उकालो र कारोबार ओरालो लाग्दै गएपछि चितवनका सुनचाँदी व्यवसायीले विकल्प अपनाउन थालेका छन् । कतिपय व्यवसायीहरूले विगतदेखि नै अन्य व्यवसाय समेत गर्दै आएका छन् भने केहीले शुरू गर्ने तयारी गरेका छन् ।

विगत ४० वर्षदेखि नारायणगढमा सुनचाँदी व्यवसाय गर्दै आएका जय सन्तोषी माँ सुनचाँदी पसलका सञ्चालक एवं चेम्बर अफ कमर्शका सदस्य रुबिन दामुदामुले अब सुन व्यवसायको विकल्प खोज्नु पर्ने बेला आएको बताए । ‘हामी शिक्षित युवाहरूले अब सुनचाँदी व्यवसायमा मात्र भविष्य खोजेर सफल हुने अवस्था रहेन’, उनले भने, ‘अन्य बहुआयामिक व्यवसायलाई पनि सँगै लानु पर्ने बाध्यता भयो ।’

लकडाउनपछि अप्रत्याशित रूपमा सुनको मूल्य उकालो लाग्दा व्यवसाय ठप्प हुने र बैंकको ब्याज बढ्दै जाने भएकाले वैकल्पिक पेशा अपनाउन बाध्य हुने अवस्था आएको उनको भनाइ छ । आफूहरूले जसोतसो सुनको व्यवसाय सञ्चालन गरी जीवन धानेको भए पनि भावी पुस्ताले यो क्षेत्रलाई अँगाल्न नसक्ने उनको तर्क छ ।

यस्तै नारायणगढ भृकुटीपथस्थित जय माँ श्री वैभवलक्ष्मी ज्वेलर्सका सञ्चालक अनिल रामुदामु हालसम्म पर्ख र हेरको अवस्था रहे पनि विकल्प खोज्नुको अर्को उपाय नभएको सुनाए । ‘सुनको मूल्य रू. १ लाख नाघ्यो’, उनले भने, ‘अब यो व्यवसायलाई सहायक र अन्य व्यवसायलाई प्रमुख रूपमा लैजानु पर्ने बेला आयो ।’ सुनको मूल्य लगातार बढ्दा बैंकको ऋण, घरभाडा, कर्मचारी खर्चका कारण आफूहरू थप मारमा पर्न थालेको उनको भनाइ छ ।

सिजनको समयमा व्यवसायले गति लिने अपेक्षा गरे पनि मूल्य वृद्धिका कारण झनै बजार सुनसान भएको उनले बताए । सुनको व्यवसाय पुख्र्यौली भएको र यसमा करोडौं लगानी गरेका कारण कतिपय व्यवसायीले चटक्कै व्यवसाय छोड्न नसकेको पनि उनले बताए ।

विदेशमा समेत ५ ओटा शाखा र देशका मुख्य शहरमा शाखा भएका बराह सुनचाँदी पसलका सञ्चालक शरण लामिछाने पनि विकल्प खोजिसकेको बताउँछन् । ‘हाम्रो यो पुख्र्यौली व्यवसाय हो । यत्तिकै छोड्न मिल्दैन’, उनले भने, ‘त्यसैले हामीले २ दशक अघिदेखि बराह ग्रुपबाट अन्य व्यवसायलाई पनि महत्त्व दिँदै आएका छौं ।’

आगामी दिनमा सुन व्यवसायीको भविष्य अझै अन्योलपूर्ण हुने उनको अनुमान छ । देशका विभिन्न जिल्लामा कृषि फार्म, डिपार्टमेन्टल स्टोर्स, रेष्टुराँ, ब्यूटीपार्लर, कृषि कम्पनी लगायत क्षेत्रहरूमा पनि बराह ग्रुपले लगानी गरेको उनले बताए ।

विगत केही वर्षदेखि सुनको मूल्य उकालो लाग्दै गएपछि र कारोबार घट्दै गएपछि अधिकांश व्यवसायीले विकल्पको बाटो रोजेका छन् । अहिले कतिपय व्यवसायीले पसल विक्रीका लागि सूचना समेत टाँसेका छन् । सुनचाँदी व्यवसायी संघ, चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्मा व्यवसाय जोखिममा पर्दै गएपछि अन्य व्यवसायमा हात हाल्नुको विकल्प नरहेको बताउँछन् ।

‘यहाँ अधिकांश व्यवसायीले विकल्प खोज्दै छन् र कतिले खोजिसके’, उनले भने, ‘अहिले बजारमा पसल विक्रीका लागि बोर्ड पनि झुन्ड्याइएका देखिन्छन् ।’ सुनको व्यवसायमा उत्तारचढाव हुँदा व्यवसायी र उपभोक्ता समेत अन्योलमा परेका छन् । उनका अनुसार उपभोक्ता सुनको मूल्य घट्ने आशामा रहने व्यवसायी मूल्य स्थिर रहला भन्ने आशामा रहेका कारण पनि कारोबारमा कमी आएको उनको भनाइ छ । हाल चितवनमा ५०० को हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)