ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टिएमएसमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा छलफल हुने

दिर्घकालीन समाधानको बाटो पहिल्याउन लगानीकर्ताहरुको माग 

२०७७ भदौ, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

भदौ २८, काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा बारम्बार समस्या आएपछि सोमवार अर्थमन्त्रालयमा छलफल हुने भएको छ । 

बिहान ११ बजे मन्त्रालयमा सबै सरोकारवाला पक्षसहित छलफल गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाले जानकारी दिएका हुन । धितोपत्र बजार सञ्चालकको जिम्मा लिएको नेप्सेले जिम्वेवारीपूर्वक काम गर्न नसकेको अनुभूति बोर्डलाई पनि भएको उनले बताए । 

‘हामीले नियमनको पक्षबाट बारम्बार टिएमसीमा दोहोरिएको समस्याका विषयमा कमजोरी कसको हो ? कसलाई के कारर्बाही गर्नुपर्छ लेखेर पठाऊ भनेका छौं’, उनले भने, ‘नेप्सेले अहिलेसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन, अव सोमवारको छलफलपछि स्पष्ट कुरा वाहिर आउँला । 

नेपालमा एक मात्र बजार सञ्चालक भएकाले सबैले नेप्सेकै भर पर्नुपर्ने अवस्था रहेको छ । नेप्सेले टिएमएसमा समस्या भएको बताए पनि नेप्सेको अनलाईन कारोबार प्रणालीमै समस्या रहेको ढुङ्गानाको भनाइ छ । 

‘नेप्सेको अनलाईन कारोबार प्रणालीलाई सुधार गरेर अघि बढ्न सकिन्छ या विकल्प खोज्नुपर्ने अवस्था हुन्छ, हामी निचोड निकाल्नेनै छौं’, उनले भने, ‘ब्रोकरहरुले पनि टिएमएस आफैं व्यवस्थापन गर्ने तयारी गरिसकेका छन्, यसबाट पनि आगामी दिनमा विकल्पको लागि समस्या नहोला ।’

नेप्सेले बारम्बार समस्या दोहोरिएपनि समाधान पश्चात अवधि थप गरेर पनि कारोबारलाई निरन्तरता भने दिइरहेको छ । आइतवार पनि विहान ११ बजेर २५ मिनेटपछि बन्द भएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको थियो ।

आइतवार ५ बजेर १५ मिनेटसम्म खुलेको बजारमा रू. ३ अर्ब ३७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन परिसूचक १६ दशमलव ५६ अंकले माथि उक्लिएर नेप्से परिसूचक १ हजार ५३७ दशमलव २५ विन्दुमा पुगेको छ ।नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा हरेक दिन फरक– फरक समस्या आइरहेको नेप्सेले बताएको छ ।

एकपछि अर्को समस्या देखा परिरहेकाले कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता समस्या नदोहोरिन अनलाईन कारोबार प्रणाली तयार गर्ने वाईको टिम र नेप्सेको आईटी टिमले प्रयास गरिरहेको पनि नेप्सेले बताएको छ ।

नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या दोहोरिंदा लगानीकर्ताहरुले आलोचना गर्दै आएका छन् ।भविश्य यहि क्षेत्रमा देखेर लगानी गर्ने लगानीकर्ताहरुलाई ठूलो घात भइरहेको शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलको भनाइ छ ।

अर्बौं रुपियाँको राजस्व संकलन भइ देश निर्माणमा सहयोग पुग्ने अर्थतन्त्रको ऐना भनेर व्याख्या गरिने धितोपत्र बजारमा केटाकेटीको खेल जस्तो हदै सम्मको लापरवाही गरिनु आपत्तिजनक रहेको उनले बताए । उनले भने, ‘अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि भनेर व्याख्या गरिन्छ, काम भने विश्वसनीय तवरले भएको छैन ।’

अनलाईन कारोबार प्रणालीमा हरेक दिन जसो प्राविधिक समस्या आउँदा कारोबार गरिरहेका लगानीकर्ता आजित बनेको भन्दै उपाध्यक्ष फुल्लेलले दिर्घकालीन रुपमा समाधान गर्न माग गरेका छन् । 

धितोपत्र बजारका अध्येता एवम् लगानीकर्ता दिलिप मुनकर्मीले नेप्सेको कारोबार प्रणालीमा देखिएको समस्या हालैको केहि दिनको मात्र प्राविधिक समस्या हो कि ? सफ्टवेयरको क्षमतानै कमजोर वा सफ्टवेयरका निर्माताको असक्षमता ? भन्ने प्रश्न उब्जिएको बताए । स्वचालित भनिएको कारोबार प्रणालीमा भएको कारोबार सहि छ भन्ने विश्वास गुमाउँदै गएको उनको भनाइ छ । 

बजार सञ्चालकले समस्या देखिएपछि त्यसको पहिचान र दीगो समाधान नगरी काम चलाउ समाधान खोजेर अपूर्ण र गुणस्तरहिन सफ्टवेयरको परीक्षण त गर्दैछैन ? कतै सफ्ट्वेयर बनाउने निर्माता बजार संचालक माथि हावी भएको त होइन ? यी लगायत यावत प्रश्नहरु यतिवेला लगानीकर्ताहरुको मनमा उठेको उनको भनाइ छ ।

यति धेरै समस्या हुदाँ पनि नदेखे जस्तो गर्ने नियामक निकायको भूमिकाले हामी कस्तो बजार प्रणाली र कस्तो नियमनमा धितोपत्र कारोबार गर्न बाध्य छौं भन्ने उजागर गरेको छ भन्दै उनले सबै पक्षको कमजोरीको मार लगानीकर्ता र कारोबारीहरुले भोग्नु परीरहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)