ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्रमा प्रविधिले थप्यो आर्थिक बोझ

२०७७ असोज, ६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा

काठमाडौं । प्रविधिको प्रयोगले शेयर खरीदविक्री सजिलो त भएको छ तर लगानीकर्ताले शेयर खरीदविक्री गर्दा विभिन्न ठाउँमा पैसा तिर्नुपर्दा आर्थिक बोझ थपिएको छ ।

डिम्याट र मेरोशेयरमा लाग्ने वार्षिक शुल्क ब्यहोर्दै आएका लगानीकर्ताहरूले दैनिक विक्री गरेको कारोबारमा प्रतिकम्पनी प्रतिदिन रू. २५ तिरिरहेका छन् । हाल विद्युतीय भुक्तानीको नाममा कनेक्ट आइपिएस शुल्कको भार पनि लगानीकर्ता माथि नै परेको छ ।  यसका अतिरिक्त इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङको शुल्क थप लागत त छँदैछ ।

नेपाली धितोपत्र सञ्चालक र सहजकर्ताहरूका लागि प्रविधि लगानीकर्तासँग पैसा असुल्ने माध्यम भएको छ । खरीद गर्दा र विक्री गर्दा लाग्ने दोहोरो कारोबार कमिशन शुल्कले धितोपत्रमा कारोबार गर्ने लगानीकर्ता मर्कामा परेका छन् ।

अभौतिक सेयरको कारोबार गर्ने प्रविधिको उदयसँगै डिम्याट खाता खोल्न र वार्षिक नवीकरण शुल्क तिर्न बाध्य लगानीकर्ताहरू सेयरको नामसारीका लागि विगतको ५ रुपैयाँको सट्टा २५ रुपैया तिर्न बाध्य भएका छन् । डीपीमार्फत डिम्याट खातामा निःशुल्क अनलाइन पहुँच पाइरहेका लगानीकर्ताहरू सीडीएसले विकास गरेको सशुल्क ‘मेरो सेयर’को लगइन लिन बाध्य भएका छन् । यसले साधारण सेयरमा आवेदन दिन समयको बचत त भएको छ तर वर्षेपिच्छे थप शुल्क तिर्नुपर्ने अवस्था छ ।

साथै, अनिवार्य बैंक खाता, एकाउन्टपेयी चेकबाट मात्र भुक्तानी, बैंक खाताबाट मात्र लाभांशको भुक्तानीजस्ता सेवाको उदयसँगै लगानीकर्ताहरू बैंक खाता सञ्चालन र अनलाइन एक्सेस, चेक क्लियरिङ र आईपीएसका लागि थप शुल्क तिर्न बाध्य छन् ।

सरसर्ती हेर्दा एक जना लगानीकर्ताले डिम्याट खाता खोल्दा १ सय ५० रूपैयाँ, वार्षिक नवीकरण शुल्क रू. १ सय, मेरो सेयरको लग–इनका लागि वार्षिक  रू. ५०, शून्य मौज्दातको बैंकमा खाता खोल्दा पनि अनलाइन सेवा लिन वार्षिक  रू. २ सय हाराहारी र दुई लाखभन्दा बढीको सेयर बिक्रीमा प्रत्येक चेक क्लियरिङ शुल्क रू. ३० तिर्नुपरिरहेको छ । अझै आइपिओ भर्दा बैंक पिच्छे आस्बा शुल्क पनि तिर्नुपरिरहेको छ ।  
 
प्रविधिले गर्दा धितोपत्र शेयरको आवेदन र लाभांश प्राप्ति सहज भएको छ, तर प्रविधिको नाममा अनेक शुल्क तिर्न बाध्य लगानीकर्ताहरूका लागि प्रविधि महँगो बनेको छ । अर्थात्, प्रविधि लगानीकर्ताबाट पैसा उठाउने माध्यम बनेको छ  बैंक खातालाई शेयर ब्रोकरको खातासँग इन्टिग्रेट गरेको भए लगानीकर्तालाई आर्थिक बोझ कम पर्ने लगानीकर्ता बताउँछन् ।

लगानीकर्ताहरू अनलाइनका नाममा थप लागत बेहोर्नुपर्ने हो कि भनी सशंकित भएका छन् । प्रविधिले लगानीकर्तासँगै बजार सञ्चालक, डिपोजिटरी र क्लियरिङ, सेयर दलाल, डीपी सेवाप्रदायक र नियामक सबैलाई सहज भएको छ, तर यसको सम्पूर्ण आर्थिक भार आफूमा लादिएको अनुभूति लगानीकर्ताहरूले गरिरहेका छन् ।

अन्य देशमा यति धेरैथरिका शुल्क तिर्नु नपर्ने लगानीकर्ताहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)