ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपि पावरले जुटायो वित्तीय लगानी, ४७ % हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढ्ने 

२०७७ असोज, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असोज १२, काठमाडौं । वित्तीय लगानीको लागि सम्झौता नगर्दा रोकिएको अपि पावरको ४७ प्रतिशत हकप्रद शेयर अब भने निष्कासनमा आउने भएको छ । 

नेपाल धितोपत्र बोर्डले गत फागुन १२ गतेनै अपि पावरलाई ४७ प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएकोे थियो । बोर्डले अपिलाई वित्तीय लगानीको सम्झौता गरेपश्चात मात्र हकप्रद निष्कासन गर्ने शर्तमा स्वीकृति दिएको थियो । 

कोरोना महामारीका कारण चैत ११ गतेदेखि अवस्था असमान्य बनेसँगै वित्तीय लगानीको सम्झौता प्रक्रियामा ढिलाई भएको अपि पावरका अध्यक्ष गुरु प्रसाद न्यौपानेले जानकारी दिए । उक्त कम्पनीले आइतवार हिमालयन बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता गरेको छ । 

आयोजनका लागि वित्तीय लगानी जुटिसकेकाले बोर्डले दिएको शर्त पुरा भएको भन्दै अध्यक्ष न्यौपानेले यहि साताभित्र हकप्रद निष्कासनका लागि विवरण पत्र सार्वजनिक हुने बताए । 

अपिले तेस्रो जलविद्युत् आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा रू.५ अर्ब १८ करोड रूपैयाँ लगानी गर्ने गरी ६ ओटा कम्पमनीहरुसँग आइतवार सम्झौता गरेको हो । उक्त आयोजनाका लागि कुल रू.७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान कम्पनीको छ । 

अपिको हकप्रद विक्रीको जिम्मा पाएको सिद्धार्थ क्यापिटलका अनुसार अपिले फाइनान्सियल क्लोजरको डकुमेण्ट तयार गरी थप विवरण सहितको आव्हान पत्र पुनः बोर्डबाट स्वीकृत गराउनुपर्नेछ ।

 क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले फाइनान्सियल क्लोजरकै कारण अपिको हकप्रद निष्कासनमा ढिलाई भएको बताए । बोर्डले फाइनान्सियल क्लोजर पश्चात मात्र हकप्रद विक्री गर्ने शर्तमा स्वीकृति दिएको समेत उनले जानकारी दिए । फाइनान्सियल क्लोजरको प्रक्रिया पुरा भएपश्चात बोर्डबाट पुनः स्वीकृति प्राप्त गर्न धेरै समय नलाग्ने तिमिल्सिनको भनाइ छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली ,२०७३ मा भएको व्यवस्था अनुसार बोर्डबाट विवरणपत्र, विक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महीनाभित्र सार्वजनिक निष्कासन गरिसक्नुपर्ने व्यवस्था छ ।

कम्पनीले हकप्रद निष्कासनको स्वीकृति पाएको असोज १२ गते सात महिना पुरा हुनेछ । यस आधारमा अपिले शर्त पुरा गर्न बैंकले लगानी गर्ने सहमतिसहितको फाइनान्सियल क्लोजरको प्रतिवेदन बोर्डमा पेश गर्नुका साथै थप विवरण सहितको आव्हान पत्र बोर्डबाट स्वीकृति गराउनु पर्नेछ ।

कम्पनीले माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप लगानी जुटाउन २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना आजभन्दा तीन वर्षअघि बनाएको थियो । बोर्डबाट पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गर्न अपिले अनुमति पाएको हो । अपिले विसं २०७४ असार ३० गते पहिलो पटक नेपाल धितोपत्र बोर्डमा १ बराबर २ को अनुपातमा हकप्रद जारी गर्न निवेदन दिएको थियो ।

कम्पनीले बोर्डको निर्देशनमा आवश्यक प्रक्रिया पुरा गरी २०७५ पुस ४ गते पुनः निवेदन दर्ता गराएपश्चात स्वीकृति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाख रहेको छ । सोहि पूँजीको आधारमा अपिले ४७ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । 

उक्त कम्पनीले ४७ प्रतिशत हकप्रद पश्चात १ बराबर शून्य दशमलव ९१ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारितका लागि चैत ७ गते तय गरिएको साधारण सभा पनि लकडाउनका कारण स्थगित भएको थियो । कम्पनीका अध्यक्ष न्यौपानेले हालसम्म स्थगित उक्त सभा अब गत आवको वार्षिक साधारण सभा सँगै संयुक्त रुपमा गर्ने जानकारी गराएका छन् । 

उनले आर्थिक वर्ष २०७५/ ७६ को प्रस्तावित विषयहरु यथावत राखी आगामी असोज मसान्तभित्र आर्थिक वर्ष २०७६÷७७ को समेत साधारण सभा सक्ने योजना रहेको जानकारी दिए । कम्पनीले गत चैत ७ गते गर्न नसकेको वार्षिक साधारण सभाका लागि ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ४७ प्रतिशत हकप्रद र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको छ । हकप्रदको प्रयोजनका लागि सोहि बुक क्लोज लागू हुने कम्पनीको भनाइ छ ।
केहि दिनयता धितोपत्र दोस्रो बजारमा अपि पावरको शेयर कारोबार सर्वाधिक १० ओटा कम्पनीभित्र भइरहेको छ । आइतवार पनि अपि पावर सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरुमध्ये छैठौ नम्बरमा रहेको छ । 

यो दिन कम्पनीको रू. ८ करोड ६५ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय कम्पनीको शेयर मूल्य पनि बढीरहेको छ । गत बुधवारदेखि बढेको शेयरमूल्य आइतवार प्रतिकित्ता रू.१८५ कायम भएको छ । 

यो पनि हेर्नुस् :

४० मेवा क्षमताको माथिल्लो चमेलियामा ५ अर्ब १८ करोड लगानी गर्न भयो सम्झौता

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)