ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी संरचना मिलाउन लघुवित्त कम्पनीले शुरु गरे एफपीओ निष्कासन गर्ने तयारी

२०७७ असोज, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असोज १६, काठमाडौं । केहि लघुवित्त कम्पनीहरुले चुक्तापूँजी पुर्‍याउन एफपीओ (थप साधारण शेयर) निष्कासन गर्ने भएका छन् । यसैक्रममा तीन ओटा लघुवित्त कम्पनीहरु आरम्भ चौतारी लघुवित्त, समाज लघुवित्त र एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत चार ओटा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी नगरेका कम्पनीसँग मर्जमा जाने सम्झौता गरेसँगै एफपीओ निष्कासन गर्ने भएका हुन् । कम्पनीको नियम अनुसार संस्थापक र सर्वसाधारणको शेयर संरचना मिलाउनको लागि पनि लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्नुपरेको हो । 

नेप्सेमा सूचीकृत आरम्भ चौतारी लघुवित्त कम्पनीले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान गत असोज ९ गते सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् । कम्पनीले सूचीकृत नभएका दुई ओटा लघुवित्त कम्पनीसँग मर्ज गर्ने सम्झौता गरेसँगै एफपीओ निष्कासन गर्ने बताएको हो ।  

हाल आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी रू. २६ करोड ३४ लाख, शालिग्राम लघुवित्तकोे चुक्तापूँजी रू. १ करोड ६८ लाख र सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी रू. ७ करोड रहेको छ । यी तीन ओटै कम्पनी मर्जपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ३५ करोड २ लाख पूग्नेछ । 

एनआरएन लघुवित्त वित्तीय संस्था र नेप्सेमा सूचीकृत किसान माइक्रोफाइनान्स बीच एकआपसमा मर्जरमा गएर एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । साबिकको एनआरएन लघुवित्तले क्रियटिभ र रामरोशन लघुवित्तलाई गाभेको थियो भने किसान माइक्रोफाइनान्सले दिब्य लघुवित्तलाई गाभेको थियो । 

एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नको लागि आगामि असोज १८ गते साधारण सभा बोलाएको छ ।  उक्त साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पुरा भएपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

भर्खरैमात्र आईपीओ निष्कासन गरेको समाज लघुवित्तले पनि एफपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले नेप्सेमा सूचीकृत नभएको स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता भएसँगै एफपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

सूचीकृत नभएका कम्पनीसँग मर्ज सम्झौता भएसँगै कम्पनीको शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्नुपर्ने कम्पनीले बताएको छ । स्वस्तिक लघुवित्तसँग मर्जरको लागि उक्त कम्पनीको गत असोज ५ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो । 

आईपीओ निष्कासन नगरेका कम्पनीले सर्वसाधारणको लागि छुट्याएको शेयर एफपीओ निष्कासन  गरेर पूँजी संरचना पुरा गर्ने तयारी गरेका हुन् । ती कम्पनी बाहेक वोमी लघुवित्त वित्तीय संस्थाले ग्रामिण स्वयमसेबक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ ।  

यी दुई कम्पनी बीच मर्जमा जाने सम्झौता गत भदौ २६ गते भएको थियो । त्यसैगरी नयाँ नेपाल लघुवित्तले सारथि लघुवित्तलाई मर्ज गरी गत असोज ५ गते देखि एकीकृत कारोबार शुरु गरिसकेको छ ।

 त्यसैगरी वोमी लघुवित्त र नयाँ नेपाल लघुवित्त सूचीकृत कम्पनी हुन् । यी दुई कम्पनीले पनि सूचीकृत नभएका कम्पनीलाई मर्जगरेपछि शेयर संरचना मिलाउन लागि एफपीओ निष्कासन गर्ने आन्तरिक तयारी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्‍याउनको लागि पनि लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा जान लागेका छन् । विसं २०७७ साल असार मसान्तसम्ममा ८४ ओटा लघुवित्त कम्पनी केन्द्रीय बैंकमा दर्ता भएका छन् । 
 

केन्द्रीय बैंकले राष्ट्रिय स्तरको लघुवित्त कम्पनीको न्यूनतम चुक्तापूँजी रू. १० करोड, प्रदेश स्तरको कार्यक्षेत्रका लागि रू. ६ करोड, ४ देखि १० ओटा जिल्ला कार्यक्षेत्रको लागि रू. २ करोड र १ देखि ३ ओटा जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तको लागि रू. १ करोड पूँजी पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । सोही कारण पनि लघुवित्त कम्पनीहरु मर्ज तथा एक्विजिशनमा  धमाधम जान थालेका हुन् । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)