ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरको किसान बजार

२०७७ असोज, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरले किसानले उत्पादन गरेका वस्तु विचौलियाबिना सोझै बिक्री गर्ने गरी खपौदीमा ‘किसान बजार’ सञ्चालनमा ल्याएको छ ।

बिचौलियाका कारण आफ्ना उत्पादन बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो गरेपछि महानगरले कृषकका उत्पादन सीधै बिक्री गर्ने उद्देश्यले किसान बजार सञ्चालनमा ल्याएको हो ।

महानगरले कृषकका उत्पादन सहज रुपमा बिक्री गर्न गत वर्षदेखि नै पोखराका बिरौटा, तालचोक र लामाचौरलगायत स्थानमा किसान बजार सञ्चालनमा ल्याइसकेको छ ।

किसानलाई उत्पादन गर्दा लागेको उचित मूल्य दिन  र उपभोक्ताले पनि किसानबाट सोझै खरिद गर्दा सस्तो मूल्यमा वस्तु पाउने गरी किसान बजार सञ्चालनमा ल्याइएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

‘किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउन् र उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले किसान बजार सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।

किसानलाई कृषि उत्पादनमा लाग्न प्रेरणा दिन र उपभोक्तालाई सस्तोमा कृषिजन्य उत्पादन किन्ने वातावरण बनाउन किसान बजार स्थापना गरिएको महानगरप्रमुख जिसीले बताए ।

‘उत्पादकबाट सस्तोमा जाने र महँगोमा बेच्ने अवस्थाको अन्त्यका लागि किसानबाटै उपभोक्ताले किन्ने अवस्था सिर्जना होस् भनेर बजार सञ्चालन गरेका हौं,’ उनले भने, ‘कृषक र उपभोक्ता हितलाई लक्षित गरी पोखरा महानगरको आर्थिक सहयोगमा बजार सञ्चालनमा ल्याएका हौं ।’

महानगरको ६ लाख रुपैयाँमा बजार सञ्चालनमा ल्याइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । किसान बजारमा किसान आफैंले उत्पादन गरेका वस्तु तरकारी, खाद्यान्न, दुग्धजन्य वस्तु, माछा, खसी, बोकालगायत सामग्री बिक्री वितरण गरिनेछ ।

किसानले उत्पादन गरेका वस्तु एक–दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोर व्यवस्था गरिने महानगरका कृषि तथा पशु महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

कृषि उत्पादन बिक्रीका लागि आवश्यक पर्ने डिजिटल तराजुलगायतका सामग्री महानगरले नै व्यवस्था गरेको उनले बताए । किसान बजारको स्थापनासँगै पोखरा महानगरका तीन वडाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री वितरण सहज हुने अपेक्षा गरिएको छ ।

पोखरा महानगरका वडा– १८, २४ र २३ का किसानले उत्पादन गरेका कृषिजन्य वस्तु किसान बजारमा लगेर बेच्न सकिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)