ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैकल्पिक सिकाइ मूल्यांकनको तयारी गर्दै विद्यालय

२०७७ असोज, २७  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारीकै बेला सुरु भएको शैक्षिक सत्रको आधा वर्ष सकिए पनि विभिन्न माध्यमबाट वैकल्पिक सिकाइ चलिरहेको छ । यस्तो सिकाइ प्रभावकारी भए/नभएबारे सरकारले कुनै मापन भने गरेको छैन ।

अनलाइन कक्षा, रेडियो, टेलिभिजनजस्ता दूरशिक्षालाई कार्यान्वयन गरिए पनि सबैको पहुँचमा पुगेकै छैन । कोरोना महामारीको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले दुई पटकसम्म विद्यार्थीको सिकाइ मूल्यांकन गरेर कक्षा उत्तीर्ण गर्न भनेको छ ।

‘वैकल्पिक सिकाइ मूल्यांकनका आधार र तयारी’ विषयमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘शिक्षा बार’ कार्यक्रममा केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराई विद्यालयहरूले विद्यार्थीको सिकाइ मूल्यांकन यस पटक पाठ्यपुस्तकमा भन्दा बढी खुला किताबको सिकाइबाट लिन ढाँचा तयार पारिएको बताउँछन् ।

‘यो शैक्षिक सत्रभरि आगामी मंसिर र चैतमा गरेर दुई पटक मूल्यांकन गर्न भनेका छौं । मूल्यांकनका लागि विषय शिक्षक, प्रधानाध्यापक रस्थानीय विज्ञको आधिकारिक समिति बनाएर गर्न सकिनेछ,’ उनले भने ।

भट्टराईका अनुसार केन्द्रले तयार पारेको मूल्यांकनको ढाँचाअन्तर्गत विभिन्न ५ तरिका (अनलाइन, रेडियो सुनेर, टिभी हेरेर, घरकै परिवारले पढाएर आदि) बाट विद्यार्थीको सिकाइ गरिरहेकाले सोहीअनुसार मूल्यांकन गरी ग्रेडिङ निर्धारण गर्न सकिनेछ ।

विद्यालयले मूल्यांकन गर्ने विभिन्न ५० प्रकारका विधि भए पनि जुनसुकैबाट गर्दा प्रमाण भने राख्न उनले सुझाए ।  विद्यालयले भौतिक दूरी कायम गरेर पनि विद्यार्थीको परीक्षा लिन पाउने स्थिति नभएकाले अवस्था हेरेर शिक्षक आफैं टोल–टोल पुगेर स–सानो समूह बनाएर नमुना प्रश्नपत्र भराउने र मौखिक परीक्षा लिएर मूल्यांकन गर्ने भनिएको  छ ।
विद्यार्थीलाई विभिन्न माध्यमबाट दिएको गृहकार्य र प्रोजेक्ट वर्कको आधारमा समेत मूल्यांकन गर्न सकिने उनको भनाइ छ ।

केन्द्रले दिएका विभिन्न ढाँचामार्फत मूल्यांकन गर्न विद्यालयहरूले तयारी गरिरहेका छन् । यसै क्रममा ओखलढुंगाको रुम्जाटार माविले असोज १ गतेबाट शिक्षकहरूलाई विद्यालयमा उपस्थित भएर विद्यार्थीको सिकाइ मूल्यांकन गर्न सहजीकरण गरिरहेको छ ।

रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानिया वैकल्पिक सिकाइ मूल्यांकनको आधार विद्यार्थीहरूलाई किताब र यसबाहेकका खुला प्रश्न गरेर प्रोजेक्ट वर्क गर्न लगाएको सुनाउँछन् । ‘अनलाइनमा पहुँच भएकालाई अनलाइनबाटै पढाउदै आएको र मूल्यांकन पनि त्यसैबाट गरिने तर पहुँच नभएका, प्रोजेक्ट वर्क गर्न असमर्थलाई विद्यालयमा भौतिक दूरी कायम गरेर परीक्षा लिने तयारी भइरहेको छ,’ उनले भने ।

सुर्खेत लेकबेंसीको चन्द्रपुर माविले पनि केन्द्रले भनेअनुसारको मूल्यांकन ढाँचा अपनाएको दाबी गरेको छ । बन्दाबन्दी खुलेपछि कोभिडको प्रकोप झनै बढेकाले लेकबेंसी क्षेत्र शिल भए पनि विद्यालयकी प्रधानाध्यापक हरिमाया कोइराला विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने तयारी भइरहेको बताउँछिन् । उनका अनुसार सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसकेको छ ।

यो क्षेत्रमा अनलाइनको पहुँच छैन ।  शिक्षकहरू नै घरदैलो कार्यक्रममार्फत दुई पटकसम्म घरघर पुगे,’ उनले भनिन्, ‘अब नमुना प्रश्नपत्रको सेट बनाएर लेख्न दिने र यसलाई संकलन गर्ने तयारीमा छौं । गृहकार्य गरेको आधारमा पनि मूल्यांकन गर्छौं ।’ राजधानी काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माविले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । साथै, यो शैक्षिक सत्र खेर नजाने र विद्यार्थीलाई मानसिक तनाव नहुने गरी सिकाइ मूल्यांकन गर्ने तयारी रहेको विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले बताए । उनका अनुसार कक्षा १ देखि ३ कक्षासम्मका बालबालिकालाई भाइवा लिने तथा गृहकार्यअनुसार मूल्यांकन गरिनेछ । ‘यसबाहेक ४ कक्षामाथिका सबै विद्यार्थीलाई गुगल क्लास रुमबाट कक्षा सञ्चालन गर्दै आएकाले यसैबाट परीक्षा दिएर मूल्यांकन गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसबाहेक विद्यालयले अध्ययन गरेर फरक खालको एप्स राख्ने योजनासमेत बनाएको छ ।’

सामुदायिक विद्यालयबाहेक प्रायः निजी विद्यालयहरूले पनि वैकल्पिक सिकाइको परीक्षा लिन थालेका छन्  ।

कोरोना तथा बन्दाबन्दीले अस्थायी बसोबास छाडेर घर गएका विद्यार्थीहरू जुनसुकै माध्यमबाट परीक्षामा सहभागी हुन नसके उनीहरूलाई टेलिफोनबाटै भए पनि सोधेर विद्यालयले मूल्यांकन गर्न  केन्द्रले ध्यानाकर्षण गराएको छ ।

यस वर्षको शैक्षिक सत्रमा विद्यार्थीहरूको उपलब्धि परीक्षामुखी हुन नहुने तर मूल्यांकन मात्र गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शिक्षाविद् तीर्थ पराजुली विद्यार्थीहरू प्रविधिसँग क्रमशः परिचित हुँदै गरेकाले यसपटक सिकाइ मूल्यांकन सबैलाई एकै प्रकारको प्रश्नबाट हुनुपर्ने सुझाउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)