ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक साताभित्र ब्रोकर कमिशन र स्टक डिलरको विषयलाई बोर्डले अन्तिम रुप दिने 

२०७७ पौष, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

पुस ९, काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अबको एक साताभित्र ब्रोकर कमिशन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ । 

बिहीवार बोर्डले आयोजना गरेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नव नियुक्त पदाधिकारीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले यी दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिएका हुन् । उनले अंग्रेजी नयाँ वर्ष २०२१ को शुरुवातसँगै ब्रोकर कमिशन घटाएर लाने तयारी भएको बताए । 

ब्रोकर कमिशनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि एक मोडालिटी तयार गरिसकेको र अब रेट मात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुङ्गानाको भनाइ छ । हालको स्लाबलाई घटाउने हो या बढाउँने हो ? अहिले ब्रोकर कमिशनबाटै बजार सम्बद्ध निकायहरुले बाडेर कमिशन लिईरहेका छन् त्यसलाई छुट्टाछुट्टै बनाउने हो कि ? यी विषयहरुमा पनि विचार गर्नुपर्ला उनले भने । बजारले पछिल्लो समय गति लिईरहेको छ । प्राथमिकसँगै दोस्रो बजारमा पनि लगानीकर्ताहरुको आकर्षण बढीरहेको अवस्थामा नियामक निकायले सोचेर निर्णय गर्नुपर्ने उनको धारणा छ । 

हाल धितोपत्र दोस्रो बजारमा कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिशन तिर्नु पर्दछ । लगानीकर्ताहरुले रू. ५० हजारसम्मको शेयर खरीदविक्री गर्दा शून्य दशमलव ६० प्रतिशत र रू. ५० हजारदेखि रू. ५ लाख सम्मको कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था छ । 

त्यस्तै, रू. ५ लाखदेखि रू. २० लाखासम्मको कारोबारमा शून्य दशमलव ५० प्रतिशत, रू. २० लाखदेखि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था छ । ब्रोकर कमिशनबाट नेप्सेले २० प्रतिशत लैजान्छ भने बोर्डलाई लगानीकर्ताहरुले थप शून्य दशमलव शून्य १५ प्रतिशत शुल्क तिर्नुपर्छ ।

त्यस्तै, धितोपत्र दोस्रो बजारलाई सन्तुलनमा राख्नको लागि लामो समयदेखि लाईसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महीनाभित्र लाईसेन्स पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र लाईसेन्स प्रदान गर्ने समेत बताएका हुन् । 

पूँजीबजार विकास र विस्तारका लागि प्राविधिक सुधारदेखि नीतिगत सुधारलाई ध्यानमा राखी अघि बढेको बोर्डले बैंक इन्ट्रग्रेसन, ब्रोकरको टिएमएसको सुधार र कम्पनीहरुले बोर्डलाई रिपोर्टिङ गर्नका लागि कागजी प्रकृयाको अन्त्य गर्ने प्रयास स्वरुप इलेक्ट्रोनिक रिपोर्टिङ सिष्टमको विकास गरिसकेको समेत अध्यक्ष ढुङ्गानाले जानकारी दिएका छन् । 

बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा समेटिएका एक चौथाई कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै अध्यक्ष ढुङ्गानाले लगानीकर्ताहरुले धेरै ठाउँमा केवाइसी भर्ने झन्झटको अन्त्य गर्न इ केवाईसीका लागि सिडिएससीलाई कार्यविधि बनाउन जिम्मा दिएको समेत बताए ।

बोर्डले ब्रोकर कमिशन घटाउने अन्तिम तयारी गरिरहदा ब्रोकरहरुले भने विवादित नबन्ने गरी निर्णय गर्न भनेका छन् । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले ब्रोकरहरुको कमिशन पहिला छुट्याउनुपर्ने बताए । कमिशन मात्र आम्दानीको स्रोत रहेको ब्रोकरहरुको लागि आम्दानीको अन्य विकल्प दिनुपर्ने पनि रानाभाटको माग छ । ब्रोकर कमिशनको विषयलाई लामो समय उठान गर्दा बजार प्रभावित बन्ने भन्दै उनले विवादित नहुने र सबैले स्वीकार्ने हिसावमा टुङ्ग्याउनुपर्ने बताए । 

धितोपत्र बजार र लगानीकर्ताहरुविच मध्यस्थकर्ताको रुपमा सेवा दिईरहेको ब्रोकरहरुले एडभाइजरी सर्भिसका साथै आफ्नै ब्रोकर कम्पनीबाट कारोबार गर्न पाउनुपर्ने व्यवस्थाको माग पनि उनले गरे ।

अहिले अनलाईन कारोबार प्रणालीबाट लगानीकर्ता स्वयम्ले आफ्नो हिसाबमा कारोबार गर्ने हुँदा ब्रोकरहरुले पनि आफैले आफ्नो कारोबार गर्न पाउनुपर्ने माग उनको छ । ब्रोकरहरुको एकमात्र आम्दानीको स्रोत कमिशन घटाउने विषयमा सल्लाह र सुझाब प्रत्यक्ष रुपमा लिनुपर्ने माग समेत उनको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)