सुर्खेत । मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालय र चाइना थ्री गर्जेज विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र चाइना थ्री गर्जेज विश्वविद्यालयका अध्यक्ष ही वेइचुनले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका साथै दुई विश्वविद्यालय बीच आपसी समझदारी तथा शैक्षिक सहकार्य गर्नु सम्झौताको मुख्य उद्देश्य रहेको विश्वविद्यालयका उपप्राध्यापक तथा सूचना प्रविधिविज्ञ पञ्चदेव भट्टले बताए । सम्झौता अनुसार दुई विश्वविद्यालयबीच प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी आदान–प्रदान हुने जानकारी उनले दिए । ‘दुवै विश्वविद्यालयले सामूहिक रूपमा अनुसन्धानसँग सम्बन्धित परियोजना अगाडि बढाउने विषय समेत सम्झौतापत्रमा उल्लेख छ,’ उनले भने ।
दुवै देशको कानून र सम्झौताको परिधिमा रहेर विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरूले एकआपसमा समझदारी गरी अब विभिन्न परियोजना सञ्चालन गरिने उनले बताए । उनका अनुसार सम्झौताको अवधि पाँच वर्षको रहेको छ । त्यसपछि स्वतः नवीकरण हुनुका साथै आपसी समझदारी र छलफलबाट सम्झौता संशोधन गर्न सकिने व्यवस्था छ ।
‘चाइना थ्री गर्जेज विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ र इलेक्ट्रिकल इञ्जिनियरिङ विषयका लागि विश्वमै प्रख्यात छ, उक्त विश्वविद्यालयमा स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, खेलकुद, अर्थशास्त्र, व्यवस्थापन लगायत विषयको समेत पढाइ हुने गरेको छ,’ उनले भने, ‘सम्झौतापछि दुवै विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी र विद्यार्थीले प्रत्यक्ष रूपमा शैक्षिक लाभ लिन सक्ने बाटो खुलेको छ ।’