ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुलुकको समृद्धिका लागि आन्तरिक र बाह्य लगानी जरुरी : उपाध्यक्ष ढकाल

२०७७ फागुन, २५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले देशको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्ने बताएका छन् ।  

उद्योग वाणिज्य संघ नारायणगढको ५४ औं वार्षिक साधारणसभा अवसरमा उपाध्यक्ष ढकालले देशको समृद्धि निजी क्षेत्रको सहकार्यबिना सम्भव नहुने धारणा व्यक्त गरे ।

सरकारले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याए देशमा प्रशस्त लगानी वातावरण सिर्जना हुने उनको भनाइ थियो । ‘हामीलाई पूर्वाधार निर्माणमा सहयोग गर्नुस् । उद्योग व्यवसायीमैत्री नीति ल्याउनुस् । लगानी गर्न तयार छौं,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने ।

विदेशी लगानीलाई आकर्षण गरे देशको कर संकलनमा वृद्धि र रोजगारी सिर्जनाबाट समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । ७ वटै प्रदेशमा आइएमई ग्रूपले केबुलकार निर्माणको काम अघि बढाएकाले नवलपरासीको मौलाकालिका केबुलकार निर्माणमा चितवनका उद्योग व्यवसायीलाई सहकार्य गर्न उनले आग्रह गरे । ‘मौलाकालिका मन्दिरमा केबुलकार निर्माणको चरणमा छ । हामी तपाईहरूसँग हातेमालो गर्न तयार छौं,’ उनले भने ।

चितवन देशकै केन्द्रबिन्दु भएकोले यहांँका उद्योगी व्यवसायीसंँग मिलेर लगानी गर्न चाहेको ढकालले सुनाए ।

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले हरेक परिस्थितिमा आफूहरूले व्यावसायिक संस्थासँग मिलेर काम गर्दै आएको बताइन् । कोरोना कहरका बेला महानगरले उद्योगी व्यवसायीलाई करमा विशेष छुट दिएको र निजी क्षेत्रसँग सहकार्य गर्दै भरतपुरलाई नमुना महानगरका रूपमा विकास गर्न चाहेको उनको धारणा छ ।

प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरले पिपिपी अवधारणाबमोजिम २ अर्ब रुपैयाँभन्दा  बढीको लागतमा व्यावसायिक भवन निर्माणका लागि निजी क्षेत्रसँगको सम्झौता अन्तिम  चरणमा रहेको जानकारी दिइन् ।

सो अवसरमा विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको समग्र विकासमा भए÷गरेका कामको चर्चा गर्दै अब सबैको ध्यान विद्युत्को अधिक खपत गर्ने गरी सोहीबमोजिम औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए ।

विद्युुतीय सवारी साधनको उपयोग बढाउन र भान्छामा हुने ग्यास प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउन उनले आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले देशको राजनीतिक वातावरणले औद्योगिक वातावरण बिग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार पहिलो सर्त रहेको धारणा राखे ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देश संघीय संरचनामा गएसँगै निजी क्षेत्रको भूमिका र जिम्मेवारी थपिएको बताए । स्थानीय सरकारको सहकार्यमा उवासंघले पर्यटन प्रर्वद्धन गर्न सी मोडलबीचको निर्माण कार्य अघि बढाइरहेको जानकारी दिए ।

व्यवसायीका लागि कर छुट, ब्याज छुटलगायत पुनर्लगानीका विषयमा उवासंघको पहलमा केही माग सम्बोधन गर्न सकिएको उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)