ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुक बिल्डिङबाट ६० लाख कित्ता आईपीओ ल्याउँदै सर्वोत्तम

पहिलो वर्ष नै ३५ प्रतिशत लाभांश दिने

२०७७ चैत, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री जारी गर्ने तयारी अघि बढाएको छ । गत माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाबाट आईपीओ विक्रीको प्रस्ताव पारित गरेको कम्पनीले विक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । त्यस्तै, सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिएको छ ।

नेपालको धितोपत्रको इतिहासमै पहिलोपटक लागू भएको सो विधिबाट कम्पनीले सर्र्वसाधारणलाई आईपीओ निष्कासनको तयारी गरेको हो । कम्पनीले कुल ६० लाख कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणलाई २८ लाख कित्ता विक्री गर्ने भएको छ । हाल रू. ३ अर्ब ४० करोड रहेको कम्पनीको चुक्तापूँजी आईपीओपछि ४ अर्ब पुग्नेछ ।

आईपीओको अंकित मूल्य रू. १०० भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुनेछ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी कायम हुने विश्वास गरेको छ । व्यावसायिक उत्पादन शुरू गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको औसत मुनाफा वार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । जगेडाकोष रकम माघ मसान्तसम्म रू. २ अर्ब ३१ करोड भन्दा बढी रहेकाले कम्पनीको विगत ३ आर्थिक वर्षको औसत प्रतिशेयर आम्दानी रू. ५२ रहेको छ । आईपीओ जारी भएपछि ३ महीनाभित्रै १० प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएको कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताएका छन् ।

आईपीओबाट प्राप्त ४० प्रतिशत रकमले ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर बनाउने योजना रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । आईपीओ विक्रीपछि ३५ प्रतिशत लाभांश निश्चित गरिसकेको भन्दै उनले कम्पनीको उत्पादन क्षमता दोब्बर बनाउने योजनाले ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण गरिएको समेत बताए ।

संस्थागत लगानीकर्ताले रू. ७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू. ६७५ मै शेयर खरीद गर्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत पर्ने अध्यक्ष न्यौपानेले बताए । तर, शेयरको अन्तिम मूल्य संस्थागत लगानीकर्ताद्वारा बोलकबोल विधिबाट निर्धारण हुने उनको भनाइ छ ।

नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा भिœयाउने उद्देश्यले गत साउन २८ गतेदेखि बुक बिल्डिङ विधि ल्याएको छ । यो विधि लागू नहुँदै धितोपत्र बजारमा शिवम् सिमेन्ट्सले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । वास्तविक क्षेत्रका कम्पनीको आईपीओको मूल्य बजारले नै निर्धारण गर्नेगरी बोर्डले बुक बिल्डिङ विधिको व्यवस्था गरेको हो ।

उक्त विधिबाट हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजार प्रवेशको आधार बन्न सक्ने बोर्डका सहप्रवक्ता रूपेश केसीले बताए ।

‘नेपाली धितोपत्र बजारमा बुक बिल्डिङ विधिबाट यति चाँडो आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नु बजारको भविष्यका लागि पनि सकारात्मक पक्ष हो,’ उनले भने । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर खरीदका लागि हालसम्म ७४ संस्थागत लगानीकर्ताले स्वीकृति पाएको जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)