ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक स्टक डिलरका लागि कारोबार योग्य कम्पनी छनौट : क्लियरिङ मेम्बरको अनुमतिको प्रतिक्षामा

२०७७ चैत, ११  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक स्टक डिलरका लागि कारोबार योग्य कम्पनीहरुको छनौट गरेको छ । नेप्सेले २६ ओटा वाणिज्य बैंकसहित ३९ ओटा सूचीकृत कम्पनीहरु छनौट गरेको हो । स्टक डिलरका लागि कारोबार योग्य कम्पनीहरुमा २६ ओटा वाणिज्य बैंक, ७ ओटा विकास बैंक, चार ओटा लघुवित्त कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र तारागाउँ रिजेन्सी होटल रहेका छन् । 

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालक कार्यविधि, २०७७ को व्यवस्था अनुसार नेप्सेले स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो । 

उक्त व्यवस्था अनुसार चुक्तापूँजी रू. २० करोडभन्दा बढी भएको, तीन वर्षदेखि नाफामा रहेको, कम्तिमा १० हजार लगानीकर्ता भएको र एक वर्षको कारोबार अवधिसम्म कम्तिमा ८० दिन दोस्रो बजारमा कारोबार भएका कम्पनीहरु मात्र कारोबार योग्य हुनेछन् । 

स्टक डिलर कम्पनीका लागि कारोबारयोग्य कम्पनीको सूचीमा परेको नेपाल दूरसञ्चार कम्पनीको लगानी नागरिक स्टक डिलर कम्पनीमा पनि रहेको छ । रू. ५ अर्ब चुक्तापूँजी भएको नागरिक स्टक डिलर  कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहने गरी आगामी दिनमा शेयर जारी गर्ने योजना पनि कम्पनीको छ ।

नागरिक लगानीकोषको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीलाई बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न भन्दै धितोपत्र व्यापारीको रुपमा फागुन १ गतेदेखि पूँजीबजारमा कारोबार गर्न सक्ने गरी स्वीकृति दिएको थियो । 

हाल मक ट्रेडिङ सकिएको र अब सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट क्लियरिङ मेम्बरको अनुमति पाएपछि आफ्नै प्रणालीबाट शेयर कारोबार शुरु गर्ने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठले दिएका छन् । 

उनले मक ट्रेडिङको प्रकृया सकिएसँगै कारोबारका लागि सम्पूर्ण प्रणाली परीक्षण सम्पन्न गरी तयारी अवस्थामा रहेको बताए । आफ्नै प्रणालीबाट शेयर कारोबार गर्ने भएकै कारण यस डिलर कम्पनीका लागि क्लियरिङ मेम्बरको लाईसेन्स आवश्यक भएको हो उनले भने सिडिएसीबाट लाईसेन्स पाउनासाथ कारोबार शुरु गर्छौ । 

बोर्डले नागरिक लगानीकोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्रको व्यापारिको कार्य गर्न सक्ने व्यवस्था समेटी फागुनदेखि लागू हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेको होे । यस वर्षको बजेट वक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालमा ल्याउने व्यवस्था उल्लेख भए बमोजिम बोर्डले प्राथमिकताका साथ स्टक डिलरलाई बजारमा भित्र्याउन बोर्डले बाटो खुला गरेको हो ।

नेपालको शेयर बजारमा हाल स–साना लगानीकर्ताको वाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै पूँजीबजारमा गतिशिलता आउने विश्वास बोर्डले गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)