ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकलाई शेयर लगानीमा कडाइ गर्ने राष्ट्र बैंकको नीति : कस्तो पर्ला बजारमा असर ?

२०७८ जेठ, १३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर लगानीमा कडाइ गर्ने भएपछि लगानीकर्ता भने बजार प्रभावित हुनेमा चिन्तित बनेका छन् ।

राष्ट्र बैंकले मंगलवार बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयर खरीदमा रोक र दीर्घकालीन लगानीमा जोड दिन निर्देशन दिएको हो ।

तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । अबको नयाँ व्यवस्थामा बैंकहरूले ०७८ जेठ १० गतेसम्म खरिद गरेको लघुवित्तको शेयर आगामी पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्नेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागिबाहेक लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालीन लगानीमा जोड दिन दिएको निर्देशनले अब बैंक तथा वित्तीय संस्थाहरूले शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न सक्नेछन् ।

खरिद गरेको एक वर्ष व्यतीत भएको लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशतसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यो व्यवस्थाले यसअघि अर्थात् जेठ १० गतेसम्म लगानी गरेको शेयर आगामी असार मसान्तभित्र बिक्री गर्न भने बाधा नपुग्ने राष्ट्र बैंकको भनाइ छ । शेयर बजारसँग सम्बन्धित शेयर धितो कर्जाको व्यवस्थामा पनि राष्ट्र बैंकले परिमार्जन गरेको छ ।

शेयर कर्जा प्रवाह गर्दा सुरक्षणबापत राखिने शेयरको मूल्यांकन गर्दा १८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकम मात्र शेयर धितोमा कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि १२० कार्यदिनको मूल्यांकनको आधारमा धितो कर्जा प्रवाह हुँदै आएको थियो ।

कोभिड–१९ का कारण अस्तव्यस्त बनेको जनजीवनका बीच पनि शेयर बजारले भने ऐतिहासिक रेकर्ड कायम गर्दै आएको छ । कोभिड प्रभावकै बीच बजार १ हजार १०० बिन्दुदेखि २ हजार ८१६ बिन्दुसम्म पुगिसकेको छ । बजारको निरन्तर वृद्धिको यात्रालाई राष्ट्र बैंकको नयाँ उल्लिखित व्यवस्थाले प्रभाव पार्छ कि भन्नेमा आम लगानीकर्तामा यतिबेला चिन्ताको विषय बनेको छ । कतिपय लगानीकर्ताले बजारमा नकारात्मक असर गर्ने टिप्पणी गरेका छन् भने कतिपयले यो व्यवस्थाले सकारात्मक प्रभाव पर्ने विश्लेषण गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकको नयाँ नीतिले अल्पकालमा सर्वसाधारणका लागि अप्रिय रहे पनि भविष्यका लागि फलदायी हुन प्रतिक्रिया दिए । बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालीन लगानीमा जोड दिएकाले बजारमा सप्लाइ कम हुने विश्वास उनको छ ।

हाल बजारमा लगानी गरिरहेका बैंकहरूले धेरैजसो लगानी १४ महिनाभित्र बिक्री गरी नाफा बुक गर्ने हुँदा यो वर्ष र आगामी वर्ष ती संस्थाहरूको नाफामा उल्लेख्य प्रगति हुनेसमेत पौडेलको अपेक्षा छ ।

अर्का लगानीकर्ता तुलसीराम ढकाल बैंकहरूलाई शेयर लगानीमा गरेको कडाइले बजारलाई खासै प्रभाव नपार्ने बताउँछन् । बैंकहरूको प्राथमिक काम शेयर खरिद बिक्री गर्ने नभएकाले नयाँ व्यवस्थाले बजारमा खासै प्रभाव नपर्ने विश्लेषण ढकालको छ । ‘शेयर किन्ने म्युचुअल फण्डहरूले हो न कि बैंकले । यति थोरै सप्लाइ रहेको बजारमा अरू क्षेत्रको लगानीले माग बढाउन सहयोग मिल्छ’, उनले भने ।

शेयर बजारमा लाखौं नयाँ लगानीकर्ता थपिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको लगानी कम हँुदैमा बजारमा माग कम हुने अवस्था नआउने बुझाइ उनको छ ।

राष्ट्र बैंकको निर्देशन प्रति नेपाल पुँजी बजार लगानीकर्ता संघले भने आपत्ति जनाउँदै तत्काल संशोधनको माग गरेको छ । संघले अहिलेको समय राष्ट्र बैंकको निर्देशनलाई बेमौसमी बाजाको संज्ञा दिएको छ । लगानीकर्तालाई यति ठूलो कारोबार गरिसकेपछि खाए खा नखाए घिच भन्ने निर्देशन दिएर त्रसित बनाएको भन्दै संघले आपत्ति जनाएको हो ।

‘अन्डर भ्यालु भएका राम्रा कम्पनीको शेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले पहिलादेखि नै प्रोत्साहित गर्नुपर्छ भन्नेमा संघको धारणा रहँदै आएको छ’, संघकी अध्यक्ष राधा पोखरेल भन्छिन् । बैंकहरूले यसअघि किनेको लघुवित्तको शेयर आगामी पुस मसान्तसम्म नभएर असार मसान्तसम्मको समयसीमा तोक्नसमेत संघले आग्रह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)