ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन कर्जाका कारण प्रभावित शेयर बजार : के भन्छन् सरोकारवाला ?

२०७८ असोज, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असोज ४, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका बीच हालसम्मकै उच्च विन्दु कायम गरेको शेयर बजार पछिल्लो समय भने घट्दो क्रममा रहेको छ । 

भदौ ३१ गते बिहीवार नेपालको शेयर बजार २ हजार ८१२ दशमलव ३८ विन्दुमा कायम भएको छ । १ हजार १०० विन्दुदेखि उकालो लागेको नेपालको शेयर बजारले ३ हजार २०० विन्दु पार गरेको थियो ।

नेप्से परिसूचकले भदौ २ गते हालसम्मकै उच्च ३ हजार २२६ दशमलव ८९ विन्दुसम्म पुगेर ३ हजार १९८ दशमलव ६० को अन्तिम विन्दु कायम गरेको  थियो ।उच्च विन्दुदेखि बजार १२ प्रतिशतले घटिसकेको छ ।

चालू आर्थिक वर्षदेखिनै दिर्घकालिन र अल्पकालिन लगानीकर्ताको लागि छुट्टा छुट्टै पूँजीगत लाभकरको व्यवस्था लागू भएपनि लगानीकर्ताहरुको उत्साह कायमै रहेको थियो । शेयर कारोबारबाट नाफा हुँदा अल्कालिन लगानीकर्ताहरुले ७ दशमलव ५० प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था सरकारले यसै वर्षको बजेट मार्फत गरेको हो ।

यस अघि अल्पकालिन र दिर्घकालिन दुबै प्रकारका लगानीकर्ताहरुले एकै अनुपातमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष पूँजीगत लाभकर अल्पकालिन लगानीकर्ताहरुका लागि २ दशमलव ५ प्रतिशत विन्दु अर्थात्  ५० प्रतिशत वृद्धि भएको हो । पूँजीगत लाभकरलाई सहज रुपमा स्वीकारेका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमालाई भने कठिन रुपमा लिएको देखियो ।

राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा एक वर्षभित्र कायम गर्न निर्देशन दिएसँगै बजारमा विक्री चाप देखिएको हो । यतिबेला भने असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर बढाएर लागू गरेका छन् । मार्जिन कर्जाका कारण प्रभावित बन्दै आएको बजार बैंक ब्याजदरका कारण थप प्रभावित होला भन्ने विषयमा  सरोकारवाला के भन्छन् त ? प्रस्तुत छ, सरोकारवालाको भनाइ :
भरत रानाभाट 
पूर्व अध्यक्ष, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल 

विगत डेढ वर्षमा नेपालको शेयर बजारले ऐतिहासिक रेकर्डहरु कायम गरेको छ । कोभिड महामारीका बीच जनजीवन अस्तव्यस्त भएको अवस्थामा गति लिएको बजार पछिल्लो समय केहि कारोबार दिन प्रभावित बन्दैमा आत्तिनुपर्ने अवस्था छैन । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश नेपाल राष्ट्र बैंकको नीतिबाट प्रभावित हुने भएकाले केहि समय नीतिगत प्रभाव देखिएको हो । पछिल्लो समय बैंकहरुमा तरलता अभाब भई ब्याजदर बढेका कारण लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था भने छैन् । यतिबेला रेमिट्यान्स बढ्ने समय हो भने सरकारी खर्च रोकिदा बैंकमा तरलता कम भएको हो । सरकारी बजेट निकासा भएसँगै बजारमा तरलता थपिने र ब्याजदरमा परिवर्तन आउने सम्भावना देख्छु ।
दुर्गा तिवारी 
महासचिव, नेपाल इन्भेष्टर्स फोरम 

- ठूला लगानीकर्ताहरुबाट विक्री चाप बढ्ने गरी राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा तोकेकाले बजार केहि समय प्रभावित बन्यो । मौद्रिक नीतिमा आएको उक्त व्यवस्था परिमार्जन हुने आशामा रहेका लगानीकर्ताहरुलाई झनै निरास बनाउने गरी मार्जिन कर्जाको सीमा एक वर्ष वा नविकरणको मितिदेखि कायम गर्न निर्देशन आएसँगै तत्काल नविकरण गर्नुपर्ने लगानीकर्ताहरु शेयर विक्री गर्न सक्रिय भएका हुन् । तर यतिवेला मार्जिन कर्जा सीमाबाट प्रभावित हुने लगानीकर्ताहरुले शेयर विक्री गरिसकेको जस्तो लाग्छ । आगामी दिनमा मार्जिन कर्जाकै कारण शेयर विक्रीको चाप भने नआउला । यस अघिका वर्षहरुमा पनि यो समयमा तरलता अभाव भई ब्याजदर वृद्धिको कारण बजारमा असर परेकाले यसलाई क्षणिक समस्याको रुपमा मैले लिएको छु ।
संरक्षणा चौधरी 
अध्यक्ष, नेपाल पूँजीबजार संघ 

- रातारात धनी बन्छु वा कमाउछु भनेर आउनेका लागि पक्कै पनि पूँजीबजार उपयुक्त छैन । विगत केहि समयदेखि निरन्तर बढीरहेको बजारमा विभिन्न अस्त्र प्रयोग गरि घटाउन लागि परेको प्रष्टै देखिन्छ । चाहे त्यो नेपाल धितोपत्र बोर्डबाट आएको ५१ ओटा कम्पनीको सूची होस या राष्ट्र बैंकबाट व्यवस्था भएको रू. १२ करोडको मार्जिन कर्जा सीमा । ढिलो चाडो यी कुराहरुबाट प्रभावित भई बजार आफ्नो गतिमै फर्किनेछ । बजार निरन्तर बढेकोले पनि करेक्सन आवश्यक थियो । मार्जिन कर्जाको सीमाका कारण बजार घटिरहेको भनेता पनि यस्का अलवा बजारमा छोटो समयका लागि ट्रेड गर्नेले प्रोफिट बुक गर्नु, निषेधाज्ञा खोलिनु, अन्य क्षेत्रका व्यवसायीहरु आफ्नो व्यवसायतर्फ फर्किनु जस्ता कारणले पनि बजार प्रभावित भएको पाइन्छ । अहिले ब्याजदर वृद्धिका कारण बजार घटेको भन्ने कुरा पक्कै हैन । बजारमा लामो समयदेखि रहनेहरुका लागि ब्याजदरले असर गरेको छैन । तर पछिल्लो समय नयाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि तथा बिना अध्ययन लगानी गरेकाहरुलाई भने बजारसँग सम्बन्धित हरेक साना कुराले प्रभाव पारेको देखिन्छ । 
आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)