ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एचआईडिसिएलको हकप्रद शेयर लिलाममा विवाद

२०७८ असोज, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असोज १२, काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) ले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको छ ।

 लिलामीमा ल्याएको उक्त शेयरमा कम्पनीले १ करोड कित्ताको क्याप लगाएपछि अहिले सो विषयको विवाद सतहमा आएको छ । 

कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारणतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ ।

 शेयर खरीदका लागि सर्वसाधारणतर्फ न्यूनतम १०० र संस्थापकतर्फ १ करोड कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापकतर्फको लिलामी शेयरमा न्यूनतम १ करोड कित्ताको क्याप लगाएको जानकारी दिएको छ । 

कम्पनीले नियमावलीमा संस्थापकतर्फको शेयर खरीदका लागि न्यूनतम १ करोड कित्ताको लागि माग गर्न सकिने व्यवस्था गरेको बताएको छ । लिलामी प्रक्रियामा संस्थापकतर्फको शेयर खरीदका लागि न्यूनतम कित्ताको माग हुन नसकेमा आगामी दिनमा प्रबन्धपत्रमा भएको व्यवस्था संशोधन गरेर विक्री गर्न सकिने कम्पनीको भनाइ छ ।

उता नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने कम्पनीको नियमावलीको व्यवस्था बमोजिम संस्थापकतर्फको शेयर खरीदमा १ करोडको क्याप लगाउनु कत्तिको कानूनसम्मत छ, त्यस विषयमा छलफलपछि निचोड निकाल्ने बताएको छ ।

धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक बिनय देव आचार्यले संस्थापक शेयरको विषयमा बोर्डले हालसम्म कुनै पनि व्यवस्था नगरेको अवस्थामा एचआईडिसिएलको यो विषयमा थप छलफलपछि पछि आवश्यक निर्णय गरिने जानकारी दिए ।

लगानीकर्ताले भने कम्पनीको संस्थापकतर्फको शेयर खरीदका लागि न्यूनतम १ करोड कित्ताको क्याप लगाउनुको पछाडी ठूला लगानीकर्ताहरुको हातमा मात्र शेयर वितरण गर्ने योजना रहेको आरोप लगाएका छन् ।  

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले एचआईडिसिएलको संस्थापक तर्फको शेयर सर्वसाधारणको पहुँचमा पुग्ने गरी लिलामी विक्री खुला गर्दा ठूला व्यक्ति तथा संस्थाको पहुँमा पुर्‍याउने  खेल भएको दावी गरेका छन् ।

यसमा नियामक निकाय नेपाल धितोपत्र बोर्डकै मिलेमतो रहेकोसमेत उनको ठोकुवा छ ।नियामक निकायले हकप्रद शेयर निष्कासनका लागि अनुमति दिंदा वितरण हुन सक्ने वा नसक्ने अवस्था हेरी स्वीकृति दिनुपर्ने सुझावसमेत उनले दिए ।

न्यूनतम रू. १०० तोकिएको कम्पनीको संस्थापक शेयरमा साना लगानीकर्ताहरुले रू. १ अर्ब लगानी गर्न सक्ने अवस्था नरहेको भन्दै उनले ठूला लगानीकर्ताहरुले हात पारी भविष्यमा महङ्गो मूल्यमा साना लगानीकर्ताहरुलाई भिडाउने उद्धेष्य रहेको समेत उनको भनाइ छ ।

कम्पनीको यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री गरेको हो । उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
प्रिन्ट संस्करणबाट
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)