कात्तिक २८, काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा आइतवार अन्तिम दिनसम्ममा ११ जनाले आवेदन दिएका छन् ।
अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा श्रोतका अनुसार सीईओ पदका लागि आवेदन दिनेहरूमा डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, केशव प्रसाद श्रेष्ठ, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त, रमेश घिमिरे र जीवन अमगाइ रहेका छन्।
नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो । नेप्सेको सीईओ पदका लागि यसअघि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेले पनि आवेदन दिएको पाइएको छ ।
अर्थ मन्त्रालयले बजार सञ्चालकको प्रमुख नियुक्तिका लागि छनौट समिति बनाएको छ । समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले सीईओ नियुक्ति गर्नेछ ।
यो पद विशुद्ध राजनीतिक नियुक्तिको पदसमेत भएकाले अहिले आकांक्षीहरु बीच तिव्र रुपमा लबिइङ भइरहेको छ। नेप्सेको प्रमुख बन्नका लागि अहिले ती आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् । गत भदौ महीनादेखि बजार सञ्चालक नेप्से तथा पूँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड प्रमुख विहिन छन् ।
यो पनि हेर्नुस् :
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन
धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?
पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो