ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शीतोष्ण फलफूल रूटस्टक विकास केन्द्रद्वारा २१ लाख राजस्व संकलन

२०७८ पौष, ७  
बागमती प्रदेश विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको बोचस्थित शीतोष्ण फलफूल रूटस्टक विकास केन्द्रले गत आथिक वर्षमा २१ लाख ६१ हजार ९५१ रुपैयाँ राजस्व संकलन गरेको छ । किवी लगायत विभिन्न फलफूलका बिरुवा, फलफूल र तरकारी विक्रीबाट केन्द्र उक्त परिमाणमा राजस्व संकलन गर्न सफल भएको हो ।

केन्द्रले आफूले उत्पादन गरेका किवी फल, किवीका बिरुवा, फार्ममा उत्पादित आलु तथा अन्य प्रशासनिक दस्तुर लगायतबाट गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजस्व संकलन गरेको केन्द्रका प्रमुख प्रदीपचन्द्र नेपालले बताए । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले १८ लाख ९५ हजार ७३९ रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ । चालू आवमा केन्द्रले २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

संकलित राजस्वमध्ये किवी फलका बिरुवा विक्रीबाट सबैभन्दा बढी १६ लाख ९० हजार, केन्द्रभित्र लगाइएको आलु विक्रीबाट ३ लाख, किवी फल विक्रीबाट १ लाख १५ हजार र प्रशासनिक सेवा दस्तुर तथा अन्य शीर्षकबाट ५६ हजार ९०५ रुपैयाँ राजस्व संकलन भएको केन्द्रका लेखा प्रमुख छत्र कटुवाल क्षेत्रीले बताए ।

केन्द्रले हेवार्ड, एलिस, मन्टी तथा ब्रुण जातका किवीका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको छ । यस्तै केन्द्रको जग्गामा आलु, मुला, प्याज लगायत तरकारी पनि उत्पादन गरी विक्री वितरण हुने गरेको छ ।

समुद्री सतहबाट २१ सय मिटर उच्चाइमा अवस्थित भीमेश्वर नगरपालिका–८ मा रहेको केन्द्र २०३२ सालमा स्वीस सरकारको आईएचडीपी परियोजनाले स्थापना गरी २०४५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । केन्द्र १६ दशमलव ५ हेक्टरमा फैलिएको छ । व्यवस्थित कम्पाउन्ड नहुँदा समय समयमा किवी फल चोरी हुने समस्या रहेको केन्द्रले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)