ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ निष्कासन नहुँदा हितग्राही खाता खोल्ने क्रम घट्यो

४ महीनामा करीब ७ लाख मात्र खाता खोलिए

२०७८ पौष, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

पुस ८, काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट) को संख्या पुस ७ गतेसम्म ४७ लाख ५४ हजार ९५५ पुगेको छ । यो संख्या साउन मसान्तसम्म ४० लाख ८७ हजार ५५ रहेको थियो । 

साउन मसान्तपछि ६ लाख ६७ हजार ९०० हितग्राही खाता थप भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । पछिल्लो समय आईपीओ निष्कासन नहुँदा हितग्राही खाता खोल्नेको संख्यामा कमि आएको छ ।

 केहि समय अघिसम्म दैनिक १५ हजारसम्म हितग्राही खाता खोलिने गरिएकोमा पछिल्लो समय यो संख्यामा निकै कमि आएको सिडिएससीको भनाइ छ । गत साउन मसान्तसम्मको तथ्यांकलाई गत वर्षको सोही अवधिसम्मको तथ्यांकसँग तुलना गर्दा ३९ लाखभन्दा बढी हितग्राही खाता थपिएका थिए । २०७७ साल साउन मसान्तसम्म १८ लाख ५ हजार ६०७ हितग्राही खाता रहेको थियो ।

नयाँ बीमा कम्पनीहरु र धेरै जसो जलविद्युत कम्पनीहरुसँगै केहि लघुवित्त कम्पनीहरुले पनि गत वर्ष आईपीओ जारी गरेका थिए । गत वर्ष २२ कम्पनीहरुले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका थिए ।

चालू आर्थिक वर्षयता भने जम्मा तीन ओटा कम्पनीहरुले मात्र आईपीओ निष्कासनको स्वीकृति पाएका हुन् । यसअघि क्रमश : आईपीओ निष्कासन भइरहनु र धितोपत्र दोस्रो बजारले ऐतिहासिक विन्दु कायम गरेको कारणले पनि हितग्राही खाता खोल्नेको संख्या बढी रहेको सिडिएससीका प्रबक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

पछिल्लो समय आईपीओ निष्कासन नहुनु र दोस्रो बजारमा पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका कारण पनि कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाताको संख्यामा कमी भएको उनको भनाइ छ । 
दुई महीनादेखि बजारमा छैन आईपीओ 
प्राथमिक बजारमा पछिल्लो समय हकप्रद शेयर र ऋणपत्रहरु निष्कासन भइरहे पनि विगत दुई महीनादेखि आईपीओ भने निष्कासन भएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनपश्चात अन्य कम्पनीको आईपीओ निष्कासन भएको छैन ।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । उक्त कम्पनीले असार ३१ गते धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको लागि अनुमति पाएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएकाले कम्पनीहरुले आईपीओ निष्कासनका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको छ । 

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पश्चात निमित्त अध्यक्षको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पाएका छन् ।

उनले आईपीओ स्वीकृतिका लागि प्रक्रिया अघि बढीरहेको जानकारी दिए । अध्यक्षहुँदा दैनिक रुपमा हुने काम पछिल्लो समय सञ्चालक समितिको बैठक हुँदा मात्र हुने भएकाले अनुमति दिने प्रक्रियामा ढिला हुन गएकोसमेत उनले बताए ।

 यसअघि कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिंदा शर्त राखेर दिइने गरिएको थियो भने अब ती शर्त पुरा भएपछि मात्र दिने सञ्चालक समितिको निर्देशन बमोजिम काम भइरहेको समेत उनले बताए ।
आर्थिक अभियान दैनिकको प्रिन्टबाट
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)