ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ महीनामा ७ अर्ब २७ करोड बराबरको पूँजीगत लाभकर संकलन

२०७८ पौष, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

पुस ८, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महीनामा सरकारले रू. ७ अर्ब २७ करोड बराबरको पूँजीगत लाभकर संकलन गरेको छ । धितोपत्र कारोबारमा नाफा भए बापत लगानीकर्ताहरुले उक्त रकम बराबरको पूँजीगत लाभकर सरकारलाई बुझाएका हुन् । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रबक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार साउन महीनामा रू. ३ अर्ब २ करोड पू्ँजीगत लाभकर संलकन भएकोमा भदौ महीनामा यो रकम रू. २ अर्ब ६१ करोडमा झरेको थियो । 

असोज महीनामा रू. ५४ करोड मात्र संकलन भएको पूँजीगत लाभकर कात्तिक महीनामा भने रू. ५८ करोड रहेको थियो । मंसिर महीनामा भने रू. ५२ करोड पूँजीगत लाभकर संकलन भएको सिडिएससीको भनाइ छ ।

पछिल्लो समय धितोपत्र दोस्रो बजारमा कारोबार रकममा कमी आएसँगै पूँजीगत लाभकर संकलन पनि घटेको छ । दोस्रो बजारले ३ हजार २०० विन्दु पार गर्दा दैनिक २१ अर्बभन्दा बढीको शेयर खरीदविक्री हुने गरेको थियो । 

हाल दैनिक रू. ५ अर्बभन्दा कम शेयर कारोबार हुने गरेको छ । पछिल्लो कारोबार दिन बिहीवार रू. ४ अर्ब ४९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । मंसिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको बजार पुस ८ गते बिहीवार भने २ हजार ५२० दशमलव २३ विन्दुमा पुगेको छ । 

पछिल्लो तीन कारोबार दिन भने समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक निरन्तर बढेको छ । भदौ २ गते नेप्सेले  हालसम्मकै उच्च विन्दु कायम गरेको थियो । बढेको बजारमा भएको कारोबार अधिकांश नाफामै हुने भएकाले पनि त्यस बेला पूँजीगत लाभकर बढेको पाइन्छ । 

पछिल्लो समय भने बैंक तथा वित्तीय संस्थाहरुमा तरलता कम हुनु र नयाँ केही नीतिगत व्यवस्थाका कारण बजारमा प्रत्यक्ष असर परेको हो । बजार निरन्तर घट्दा लगानीकर्ताहरु आत्तिएर घाटामै शेयर विक्री गरेकाले पनि साउन महीनायता पूँजीगत लाभकरमा कमी आएको देखिन्छ । 

धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र लाग्ने पूँजीगत लाभकर यसै आर्थिक वर्षदेखि फरक फरक लागू भएको छ । सरकारले साउन १ गतेदेखि व्यक्तिगत लगानीकर्ताहरुको लागि फरक फरक पूँजीगत लाभकर लागू गरेको हो । यस अघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् । 

दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले दीर्घकालिन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । यस वर्षदेखि धितोपत्र कारोबारमा सहभागी लगानीकर्ताहरुले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्न थालेका हुन् । 

यस वर्षदेखि सामूहिक लगानी कोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको छ ।

चालू आर्थिक वर्षयता संलकन भएको पूँजीगत लाभकर :

                                                 स्रोतः सिडिएस एण्ड क्लियरिङ लिमिटेड

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)