पुस १०, काठमाडौं । दोस्रो बजारमा सूचीकृत ३० भन्दा बढि कम्पनीले एकैदिन वार्षिक साधारण सभा बोलाउनु संयोग हो कि नियोजित हो भन्ने बारे लगानीकर्ताहरु बीच यतिखेर खैलाबैला भएको छ ।
ती कम्पनीहरुले आखिर पुस ३० गतेलाई नै वार्षिक साधारण सभाको मुख्य तिथि किन तोके त ? जस्तो कि सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सभालाई लिन सकिन्छ । उसले पुस ३० गते स्मार्ट क्याफे ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे वार्षिक सभा शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । अझ कतिपय कम्पनीको त लाभांश पनि पारित गर्नुछ ।
हुन पनि हो उक्त कम्पनी मात्र होइन अरु वित्त कम्पनी,बीमा कम्पनी, वाणिज्य बैंक, जलविद्युत्, लघुवित्त कम्पनीहरुले शुक्रवार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा पुस ३० गतेलाई तोकेर नै वार्षिक साधारण सभाको सूचना प्रकाशित गरेका छन् ।
सूचना प्रकाशित गरेका सबैजसो कम्पनीको वार्षिक साधारण सभा एकै दिन जुध्नुलाई कतिपयले भने कर्मकाण्डी मात्र हो भनेका छन् । उनीहरुले यसरी सभा गर्नु भनेको प्रक्रिया पुरा गर्ने मात्र उद्धेष्य हो, सभामा लगानीकर्ताहरुलाई सहभागी गराउने उद्धेष्य होइन भनेका छन् ।
त्यसो त ती कम्पनीहरुको एकैपटक साधारण सभाको तिथिमिति जुधेपछि लगानीकर्ता कुन कम्पनीकोमा जाने कुनकोमा नजाने भन्नेमा अन्यौलमा पर्ने गरेका छन्। स्वभाविक हो, दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताहरू धेरै कम्पनीका शेयरधनी छन्।
यो वर्ष कम्पनीहरूले समय व्यवस्थापनमा लापरबाही गरेकै कारण धेरै कम्पनीको साधारण सभा जुधेको हो । गत आर्थिक वर्षमा पनि धेरै कम्पनीहरूले साधारण सभा जुधेको थियो । त्यसो त समयमा वित्तीय विवरण प्रकाशित नगर्ने कम्पनीहरुले पनि यसैगरी साधारण सभा बाहना बनाएर ढिला गरि गर्ने गरेका छन् ।
एक जना बजार विश्लेषकका अनसार कम्पनी ऐनले नै आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्रमा साधारण सभा गरिसक्नु पर्ने बाध्यकारी व्यवस्थाका कारण समयमा साधारण सभा नबोलाउने कम्पनीहरुले हतार - हतार अन्तिम घडिमा आएर सभा बोलाउँछन् ।
हतार- हतारमा गरिने सभाको प्रमुख उद्धेष्य भनेको प्रस्तावित लाभांश पारित गर्ने अनि गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु अनुमोदन गर्नु मात्र हुने छ।
कम्पनी ऐन २०६३ को दफा ७६ ले चालू आर्थिक वर्षको छ महीना भित्र सभा गरिसक्न भनेका कारण छैठौं महीना पुसमा पर्छ। त्यसमा पनि साधारण सभा गर्नुपूर्व कम्पनीले शेयरधनीलाई २१ दिन अघि अनिवार्य तवरले सूचना दिनुपर्छ। त्यसकारणले गर्दा ती ३० भन्दा बढि कम्पनीहरुले शुक्रवार साधारण सभाको सूचना प्रकाशित गरेका हुन्। किनभने शुक्रवार सूचना निकाल्दा मात्रै आगामी पुस ३० गते साधारण सभा गर्न सकिन्छ।
एक जना लगानीकर्ता अपार पोखरेल एकै दिन यसरी सभा आह्वान गर्नुलाई नियोजित हो भन्दै यसरी सभा आयोजना हुँदा शेयरधनीको भूमिका शून्य जस्तै हुने टिप्पणी गर्छन् ।