पुस २९, काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति(एक्विजेशन) गर्ने सहमति भएको छ ।
ती दुई ओटा कम्पनीका प्रतिनिधिहरुले प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका छन् भने नेपाल बङ्गलादेश बैंककातर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
प्राप्तिका लागि नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति जुटेको छ । केही व्यवहारिक विषयहरु सम्झौतामा उल्लेख नगरी मौखिक सहमति पनि गरिएको स्रोतले बताएको छ ।
प्राप्तिपछि कम्पनीको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति छ । प्राप्तिपछि कम्पनीको अध्यक्ष हालका नबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत(सीईओ) पनि नबिल बैंककै हुनेछन् ।
ती दुवै कम्पनीमध्ये नबिलले नेपाल बंगलादेश बैंकलाई किन्न लागेको चर्चा परिचर्चा चलेको थियो ।तर शेयर मिलान अनुपात (स्वाप रेसियो) लगायतका विषयमा कुरा मिलिसकेको थिएन । ती विषयमा समझदारी भएपछि औपचारिक रुपमा दुबै कम्पनीले प्रक्रिया अघि बढाएका हुन् । दुबै कम्पनीले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र कम्पनीहरुको दिर्घकालीन रणनीतिक योजनासमेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढ्ने बताएका छन् ।
ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपछि वाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने विश्वास लिएको सम्झौतापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ती कम्पनीहरुले प्राप्ति कार्य पाँच महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ, चुक्तापूँजी २२ दशमलव ५ अर्ब, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथि हुनेछ ।
शाखा सञ्जाल तत्कालै २३५ ओटा पुग्ने छन्। ग्राहक संख्या पनि १६ लाखमाथि हुनेछ ।
बिहीवार काठमाडौंमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर समारोहमा नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै कम्पनीका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै कम्पनीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्राप्तिको विषय बाहिर आएपछि साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल बंगलादेश बैंकको शेयरमूल्य घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य शून्य दशमलव २५ प्रतिशतले घटेर प्रतिकिता मूल्य ३९९ रुपैयाँ पुगेको छ । नबिल बैंकको शेयरमूल्य भने प्रतिकित्ता १ हजार ११० रुपैयाँ रहेको छ । यो दिन कम्पनीको शेयरमूल्य शून्य दशमलव २७ प्रतिशतले बढेको छ ।
यसअघि नेपालमा पछिल्लोपटक बीग मर्जर भएको थियो । बीग मर्जर अन्तरगत ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् ।
*बेलुका ९ : ३० बजे अद्यावधिक गरिएको
यो पनि हेर्नुस् :
नबिलले नेपाल बंगलादेश बैंक किन्ने