ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुस महीनामा करीब ५४ करोड पूँजीगत लाभकर संकलन : अल्पकालिन लगानीकर्ताबाट साढे ६५ %

२०७८ माघ, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

माघ २, काठमाडौं । पुस महीनामा मात्र सरकारले रू. ५३ करोड ७३ लाख ५० हजार पूँजीगत लाभकर संकलन गरेको छ ।

धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताहरुले लाभकर बापतको उक्त रकम सरकारलाई बुझाएका हुन् । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंसिर महीनाको तुलनामा पुस महीनामा पूँजीगत लाभकर संकलन बढेको छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बजारमा मंसिर महीनाको तुलनामा पुस महीनामा धितोपत्र कारोबार रकमसँगै बजार पनि बढेकाले पूँजीगत लाभकर संकलन पनि बढेको बताए । 

उनका अनुसार मंसिर महीनामा रू. ५२ करोडभन्दा बढी मात्र पूँजीगत लाभकर संकलन भएको थियो । पूँजीगत लाभकर संकलन बढ्नुको अर्थ बजारमा कारोबार गर्ने हरुको नाफा बढेको प्रष्ट हुन्छ ।

पुस महीनामा रू. ९० अर्ब ६२ करोड ४४ लाख ५७ हजार बराबरको १७ करोड ३२ लाख ५३ हजार ८१४ कित्ता शेयर कारोबार भएको छ । मंसिर महीनामा भने रू. ८४ अर्ब १० करोड ७५ लाख १७ हजार बराबरको १७ करोड ७८ हजार ३४० कित्ता शेयर कारोबार भएको थियो । पुस महीनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक पनि २ हजार ८५७ दशमलव ७५ विन्दुमा बन्द भएको थियो ।

पुस महीनामा संकलन भएको कुल पूँजीगत लाभकरमा सर्वाधिक हिस्सा भने अल्पकालिन लगानीकर्ताहरुले ओगटेका छन् । एक वर्षभन्दा कम अवधिमा धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुले ६५ दशमलव ५९ प्रतिशतले हुन आउने रू. ३५ करोड २४ लाख ६३ हजार बराबरको पू्ँजीगत लाभकर तिरेका हुन् । 

त्यस्तै, एक वर्षभन्दा बढी अवधि धितोपत्र होल्ड गरी विक्री गरेको अवस्थामा भएको नाफाबाट ३४ दशमलव ४१ प्रतिशतले हुन आउने रू. १८ करोड ४८ लाख ८७ हजार बराबरको लाभकर दीर्घकालिन लगानीकर्ताहरुले तिरेका छन् । 

धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नु पर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक फरक लागू भएको हो ।

यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् । 

दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले दीर्घकालिन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । यस वर्षदेखि धितोपत्र कारोबारमा सहभागी लगानीकर्ताहरुले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्न थालेका हुन् । 

यस वर्षदेखि सामूहिक लगानीकोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

पुस महीनामा संकलिन पूँजीगत लाभकरको अवस्था :

                                                         स्रोतः सिडिएससी र नेप्से
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)