ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मृतिमा लक्ष्मीदास मानन्धर : जसको जीवन उद्यममै व्यतीत भयो

२०७८ माघ, १८  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । वरिष्ठ उद्योगपति एवं पूर्वसांसद लक्ष्मीदास मानन्धरले यो संसार छाडेको १२ दिन पूरा भएको छ । जन्मपछि मृत्यु एक स्वाभाविक प्रक्रिया मानिन्छ । हामी जुनसुकै धर्म, दर्शन वा मान्यतामा रहे पनि मृत्युलाई शाश्वत सत्यका रूपमा स्वीकार गर्दै आएका छौं । तर, मानन्धरको निधनलाई स्वाभाविक मान्न कठिन परिरहेको छ ।

आकर्षक जागिर छाडेर नुनको कारोबारमा होमिएका मानन्धर एक प्रतिष्ठित उद्योगपतिका अलावा भाषासेवी, समाजसेवी, शिक्षासेवी र धर्मसेवीका रूपमा आफूलाई स्थापित गराई माघ ६ गते एक्कासि स्वास्थ्यमा समस्या आई उनी यो संसारबाट बिदा भए ।

माध्यमिक तहसम्म अध्ययन गरी जीवनको शुरुआत टेलिफोन अपरेटरको तहबाट शुरू गरेका मानन्धरले त्यति बेला आकर्षक मानिने खरिदारको तहमा रहेर पनि काम गरेका थिए । नेवार कुलमा जन्मिएका मानन्धरमा केही गरौं भन्ने हुटहुटी थियो, तसर्थ उनले त्यो आकर्षक जागिरलाई छाडेर उनी नुनको कारोबारमा होमिएका थिए । नुनसँगसँगै मानन्धरले आयात निर्यातको क्षेत्र र होजियारी उद्योगमा लगानी विस्तार समेत गरे ।  त्यसो त २०२० साल भदौ २७ गते नेपाल सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सार्वजनिक निजी साझेदारी अन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्थापना हुन पुग्यो । मानन्धर कर्पोरेशनका संस्थापकका रूपमा रहे ।

मानन्धरले साल्ट ट्रेडिङको सञ्चालक समितिमा रहेर आमजनताको दिनचर्यासँग प्रत्यक्ष सरोकार राख्ने सेवामुखी व्यापार र उद्योगको प्रवर्द्धनमा योगदान पुर्‍याएका छन् ।  ६० को दशकबाट उनले कर्पोरेशनको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी लिएका थिए । उनले कर्पोरेशनलाई जनहितका काममा लाग्न प्रेरित मात्र गरेनन्, सबल नेतृत्व समेत प्रदान गरेका थिए । सामूहिक भावनालाई आत्मसात् गर्दै उनी र उनीसँगै रहेका व्यवस्थापनका सारथिहरूको अविचलित र दृढ संकल्पले फलतः नेपालमा जनमुखी बजार अर्थतन्त्रको जगलाई मजबुत तुल्यायो ।

मानन्धरलाई नजिकबाट चिन्ने पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाका अनुसार चाहे त्यो जनस्वास्थ्यसँग जोडिएको आयोडिनयुक्त नुनको पहुँचलाई आम सर्वसाधारणसम्म सहज रूपमा पुर्‍याउने सवाल होस् वा बजारमा आइपर्ने कृत्रिम अभाव, कालोबजारी, महँगी नियन्त्रण यसमा मानन्धरको योगदान पनि अतुलनीय छ । ‘साल्ट ट्रेडिङ अन्तर्गतको घिउ, रबरसहितका एक दर्जन उद्योगको प्रवर्द्धनमा लाग्नुभएको थियो, औद्योगिक विकासमार्फत स्वावलम्बी अर्थतन्त्र निर्माणमा उहाँको ठूलो देन छ,’ बास्कोटा भन्छन् ।

बास्कोटाका अनुसार लक्ष्मीदास सधैं स्वच्छ व्यापारको पक्षधर रहे । ७७ जिल्लामै ढिके नुन नभई सर्वसुलभ रूपमा आयोडिन पुर्‍याउन उनको ठूलो देन रहेको बास्कोटा सम्झिन्छन् । ‘बेलाबेलामा राज्यले नुनको व्यापार निजी क्षेत्रलाई दिने तयारी गर्दा लक्ष्मीदास जी साह्रै चिन्तित हुनुहुन्थ्यो, नुनमा व्यापार हुनुहुँदैन भन्ने उहाँको ठूलो चिन्तन थियो,’ बास्कोटा भन्छन । भूकम्प, नाकाबन्दी, प्राकृतिक प्रकोप जस्ता प्रतिकूल अवस्था र विशेष महŒवका चाडबाडका बखत आदिमा पनि कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिई जनजीवनलाई सहज तुल्याउँदै आएको छ ।

सो कार्यमा मानन्धरको योगदान प्रशंसनीय रहँदै आएको पाइन्छ । यसका अलावा पनि उनले साल्ट ट्रेडिङद्वारा प्रवर्द्धित विभिन्न उद्योग एवं कम्पनीहरू जस्तै, सगरमाथा इन्स्योरेन्स, नेपाल मैदामिल लगायतका बोर्डमा विभिन्न भूमिकामा रहेर कार्य गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको विक्री वितरण गर्न थालेपछि भारतीय रेलको सबैभन्दा ठूलो नेपाली ग्राहक साल्ट ट्रेडिङ कर्पोरेशन बनेको छ । उनकै प्ररेणाले गर्दा साल्ट ट्रेडिङ कर्पोरेशनले विभिन्न क्षेत्रका व्यक्ति, संघ–संस्थाहरूलाई  वार्षिक रूपमा नगद पुरस्कारसहित सम्मानित गर्ने कार्य समेत गर्दै आएको छ ।

मानन्धरले २०१७ सालमा आएर नेपाल निटिङ इन्डष्ट्री नामक उद्योगको स्थापना गरी नेपालमै पहिलो पटक मोजा कारखाना स्थापना गरेका थिए भने भैरहवामा पेट्रोल पम्प,  सिद्धार्थ कोल्ड स्टोरेज, नेपाल प्लाष्टिक उद्योग र सिद्धार्थ खाद्य उद्योग गरी विभिन्न प्रकृतिका उद्योग समेत सञ्चालनमा ल्याएका थिए । मानन्धरले यसरी भर्खरै जग हाल्दै गरेको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन अतुलनीय योगदान पुर्‍याएकाले उनी प्रेरणाका स्रोत समेत रहे ।

होजियारी उत्पादन संघको संस्थापक सदस्य हुँदै उनी अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य हुँदै कोषाध्यक्ष र सल्लाहकार भए । साथै राष्ट्रिय उद्योगी व्यापारी महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै व्यावसायिक क्षेत्रको उन्नयन र विकासका लागि पनि अनवरत लागिपरेका थिए ।

नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मानन्धर ‘महापुरुष’ हुन् । उनका अनुसार जिन्दगीभर निजी क्षेत्रलाई नीतिगत क्षेत्रमा परेका समस्याको समाधानका लागि मानन्धरले लिडरको भूमिकामा रहेर राजनीति तवरमा ‘ट्याकल’ गरे । ‘उद्यमशीलता विकासमा ठूलो योगदान छ, चेम्बरमा रहेर उहाँले पुर्‍याउनुभएको योगदानले आज निजीक्षेत्र एउटा उचाइमा पुगेको छ,’ श्रेष्ठ भन्छन् । राजनीतिको क्षेत्रतर्फ २०५८ सालमा राष्ट्रियसभा सांसद बनेका मानन्धरले २०६८ सालमा अन्तरिम संसद्मा प्रवेश पाएका थिए । एक वर्षसम्म उद्योग व्यवसाय समितिको सभापतिको जिम्मेवारी समेत उनले कुशलतापूर्वक वहन गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)