माघ २५,काठमाडौं। प्यूठानका नविन भण्डारीको सनकको निर्णयले कालान्तरमा उनलाई व्यवसायी बनाउँछ भन्ने लागेकै थिएन ।
होटलमा काम गर्दा सञ्चालकले तलव नबढाएपछि त्यहि झोकमा जागिरबाट विदा लिएका नविन, अन्तत : कफी सपको चेन चलाउने व्यवसायी बनेका छन् । त्यो पनि ३० वर्षको उमेरमा ।
नविन अध्यनको शिलशिलामा २०६८ सालमा काठमाडौं आएका थिए । बीबीएस पढ्न एनसीसी कलेजमा भर्ना भए । उनको पढाई राम्रै थियो, तर देशको हालत भने राम्रो थिएन । कलेजको परीक्षा समयमै नहुने, आन्दोलनमात्रै भइरहने । चक्काजाम गर्नु, टायर बाल्नु विश्वविद्यालयका विद्यार्थीको दैनिकी नै हुने गर्थ्यो । उनी पनि त्यहि भीडमा सहभागी थिए । तर समयले उनलाई अहिले अर्कै मोडमा ल्याइदिएको छ ।
राजनीति गर्न सुझाउने साथीहरुको पनि कमी थिएन । अहिले राजनीति गर्न सुझाउने साथीहरु नेता/अभियन्ता भए, तर उनि भने व्यवसायी बनेका छन् ।
घरमा सबैले पढ्न भन्थे । कामै गर्नुपर्छ भन्ने पनि थिएन । पढ्नलाई घरबाट पैसा आउँथ्यो । त्यतिबेला सजिलै भिषा पाईने हुँदा जापान जाने लहर नै थियो । कलेज पढ्दा पढ्दै तेस्रो वर्षको परीक्षा दिएपछि जापान जाने सोच बनाए । तीन पटकसम्म जापानको लागि आवेदन दिए, तर सफल हुन सकेनन् ।
भिषा नलागेपछि भने उनको मन बिग्रियो । पढाई पनि बिग्रियो । तेस्रो वर्षमा त एक विषयमा अनूतीर्ण नै भए । पढाई त रोकियो नै, काठमाडौंमा यस्सै बस्ने कुरापनि भएन । त्यसपछि भने उनी जागिर खोज्न लागे ।
होटलमा वेटर को काम भनेर झाडू पोछा गर्न लगाएपछि…
नेपाली चलचित्रका एक नायकसग गाउँले भएकाले राम्रै चिनजान थियो उनको । दाई जागिर चाहियो भनेपछि बानेश्वरकै एक रेष्टुरेण्टमा राणाले वेटरमा काम लगाईदिए ।
काम शुरु गरेकै पर्सिपल्ट एउटा पार्टिमा काम गर्नुपर्ने भयो । वेटरको काम भने पनि त्याहाँ उनले झाडु पोछाको काम गर्नुपर्यो ।
ठूलो क्षेत्रमा झाडू पोछा लगाउँदा लगाउँदै उनलाई रिंगटा लाग्यो । भने अनुसारको काम नहुँदा उनलाई काममा मन लागेको थिएन । त्यसमाथि तलव बढाउन गरेको आग्रह होटल सञ्चालकले सुनेनन्। त्यहि झोकमा नविनले होटलको काम छोडेर आफ्नै कामको लागि अध्ययन गर्न थाले।
काम गरेको होटलबाटै नयाँ कन्सेप्ट, पुस्तकको मार्केटिङबाट लगानी
उनले काम गरेको होटलमा सञ्चालक एउटा व्यक्ति थिए । तर त्यहि ठाउँमा सञ्चालन भएको कफीसप भने अर्कै व्यक्तिको थियो ।
यहि कुरामा टेकेर नविनले काठमाडौंका धेरै होटलमा गएर यस्तो बिजनेस अन्य होटलमा गर्न सकिन्छ कि सकिदैन भनेर अध्ययन गरेका थिए । अध्ययनका लागि उनको बहानाको काम थियो पुस्तकको मार्केटिङ ।
काम छोडेकै बेलामा एउटा प्रकाशन गृहले मार्केटिङ गर्न राम्रै तलव सुविधासहितको कामको अफर गर्यो । बजार पनि बुझ्न पाईने र तलव पनि आउने काम भएपछि नविनले थप नसोचेरै हुन्छ भनिदिए ।
विद्यालयमा पुगेर मार्केटिङको काम गर्दै विभिन्न रेष्टुरेण्ट चहार्ने उनको दैनिकी बन्यो । काम मार्केटिङ भए पनि उनको दिमागमा एउटै कुरा थियो कुन ठाएँमा कुन रेष्टुरेण्ट छ र रेष्टुरेण्टमा कफी मेकर (कफी एक्सप्रेसो) छ वा छैन ।
पुस्तकको मार्केटिङ गर्दा गर्दै ३ आउटलेट सञ्चालन
उनले कफी सप सञ्चालन गर्न ठाउँ खोजीरहेकै बेला बानेश्वरको आर एण्ड बी रेष्टुरेण्टमा एउटा आउटलेट खोल्न ठाउँ पाईहाले । रेष्टुरेण्ट सञ्चालक सँग ६०/४० को सहमती भयो । अर्थात् कफी सप चलाउँदा दैनिक नाफामा ६० प्रतिशत नविनले पाउने र ४० प्रतिशत रेष्टुरेण्टले पाउने गरी सहमती भयो ।
कफी सप खोल्न लाग्ने खर्च नविनको हुन्छ भने ठाउँ होटलले उपलब्ध गराउँछ । उनले एउटा आउटलेट खोल्न ५ देखि ७ लाख रुपैयाँसम्म लगानी गर्छन् ।
यो बिजनेशको विशेषता भनेकै रेटुरेण्टले ठाउँ उपलब्ध गराउने र उनले सेटअपसहित कफी मेसिन राख्ने हो । स्टाफको व्यवस्था नविनले गर्ने तर भाडा रेष्टुरेण्टले तिर्ने । आउटलेट सञ्चालनमा ल्याए पनि नविनले जागिर भने गरिरहेकै थिए। 'जबसम्म मैले गरेको ब्यावसायले तलब बराबर रिटर्न दिदैन त्यतिन्जेल काम गरिनै रहने योजना थियो,' नविनले भने ।
कफी सप शुरु गरेको २/ ३ महीनामै लगानी गरेको रकम उठेपछि नविनले अन्य स्थानमा आउटलेट सञ्चालन गर्ने योजना बनाए । प्रकाशन गृहको काम र अर्को एउटा रेष्टुरेण्टमा नाईट सिफ्टको काम गर्दा गर्दै बाँसवारीको जी सेभेन रेष्टूरेण्टमा अर्को आउटलेट पनि शुरु गरे । २ वर्ष प्रकाशन गृहमा काम गर्दा ३ ओटा आउटलेट सञ्चालन गरिसकेको उनले बताए ।
२ महीनामै लगानी फिर्ता भएपछि उत्साही
त्यसपछि भने उनी कफी सपको आउटलेट सञ्चालनमै कन्द्रित भए । २०७४ देखि शुरु भएको उनको व्यवसाय हाल उनका ५ वटा आउटलेटमा विस्तार भएको छ । अहिले नविनले ५ आउटलेटमा ११ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । थप आउटलेट राख्नको लागि निरन्तर अध्ययनमा छन् । कुनै बिहे, पाटि, सेमिनारहरूमा कफी स्टलको अर्डर आएमा त्याहाँ पनि स्टल राख्ने गरेको नविनले बताए ।
माईकल ग्रिल नामक रेष्टुरेण्टका सबै ब्रान्चसहित बानेश्वर, पेप्सिकोला, गैह्रीधारा र बाँसवारीमा आउटलेट सञ्चालमा छन् ।
पहिले मलाई ठाउँ दिनुस भन्दै जानुपर्थ्यो अहिले आउटलेट राख्नेभए हाम्रोमा ठाउँ छ है भन्ने गरेको उनको अनुभव छ । तर राम्रो लोकेसन भयो भने मात्रै आउटलेट विस्तार गर्ने उनको योजना छ ।
कोरोना प्रभावले छोएन
पछिल्लो समय कोरोना महामारीले सबैखाले व्यवसायमा प्रभाव पर्दा नविनलाई भने खासै प्रभाव परेन। 'किनकी मलाई व्यवसाय चलेन भाडा तिर्न गाह्रो भो भन्नु पनि परेन । ठूलो लगानि नभएका कारण बैंकको व्याज तिर्नु पर्ने पनि थिएन', उनले भने ।
'अहिले ५ आउर्टलेटबाट सबै खर्च कटाएर मासिक डेढदेखि २ लाख रुपैयाँसम्म नाफा भइरहेको छ', उनलेले भने, 'अव भने एउटा राम्रो आउटलेट खोलेर कफिसँगै बेकरी पनि उपलव्ध गराउने योजना छ ।'
'अहिले यहिं ठिक रहेछ भन्ने लाग्दै छ । सबै साथी जापान गए, म जान सकिंन । सजिलै भिषा लाग्ने समयमा पनि मेरो जापानको भिषा लागेन । साहुले तलव नबढाउँदा मलाई व्यवसायी बनायो’, उनलेले मुस्कुराउँदै भने ।
‘आम्दानीको हिसावले जापान गएका साथिहरुको जत्तिकै मेरो कमाई छ’, सन्तुष्ट हुँदै उनले भने, 'जापान गएका साथीहरु नेपाल फर्केर यहिं काम गर्न उनिहरुलाई धेरै समय लाग्छ, मैले त्यो स्टेज बनाईसके ।'
‘यो स्टेजमा पुग्न उनले धेरै दु : ख गर्नुपरेको थियो । ‘यति सम्म खटिएँ की निद्रा नपुगेर गुडिरहेकै बाइकमा निदाए छु । त्रिपुरेश्वमा ठूलो दुर्घटनाबाट जोगिएको छु’, उनले भने ।
व्यवसाय गर्न लगानीनै ठूलो कुरा हो भन्ने उनी मान्दैनन् । लगानीभन्दा नयाँ कन्सेप्ट र शहरमा रहेको अभावलाई पूर्ति गर्न सक्ने आइडिया ल्याउन सके नेपालमै सजिलै व्यवसायी बन्न सकिने उनको अनुभव छ ।