ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माघ महीनामा करीब ५०% बढ्यो पूँजीगत लाभकर, अल्पकालीन लगानीकर्ताको हिस्सा ६९.५२ %

२०७८ फागुन, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

फागुन ८, काठमाडौं । सरकारले माघ महीनामा धितोपत्र बजारबाट रू. ८० करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । 

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सिडिएससीका अनुसार पुस महीनाको तुलनामा माघमा पूँजीगत लाभकर ४९ दशमलव ८९ प्रतिशत बढी हो । पुस महीनामा रू. ५३ करोड ७३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । 

धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताहरुले लाभकर वापतको उक्त रकम सरकारलाई बुझाएका हुन् । उक्त लाभकरमा अल्पकालीन लगानीकर्ताहरुको हिस्सा बढी रहेको छ । माघ महीनामा अल्पकालीन लगानीकर्ताहरुबाट रू. ५५ करोड ९९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीकर्ताहरुबाट रू. २४ करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ ।

पुस महीनाको भन्दा माघ महीनामा पूँजीगत लाभकर वृद्धि हुनुले धितोपत्रबजारमा कारोबार गर्नेहरुको नाफा बढेको पुष्टि हुन्छ । यसमा पनि अल्पकालीन लगानीकर्ताहरुले बढी नाफा कमाएको देखिएको छ । माघ महीनामा कुल पूँजीगत लाभकरमध्ये ६९ दशमलव ५२ प्रतिशत अल्पकालीन लगानीकर्ताको र ३० दशमलव ४८ प्रतिशत हिस्सा दीर्घकालीन लगानीकर्ताहरुको रहेको छ । 

माघमा पुस महीनाको तुलनामा कारोबार रकम र शेयर कित्ता दुबैमा वृद्धि भएको छ । पुस महीनामा रू. ९० अर्ब ६२ करोड बराबरको १७ करोड ३२ लाख ५३ हजार ८१४ कित्ता शेयर कारोबार भएको थियो ।

माघ महीनामा भने रू. १ खर्ब १७ अर्ब ८९ करोड बराबरको २३ करोड ४६ हजार २८९ कित्ता शेयर कारोबार भएको छ । पुस महीनाको भन्दा माघ महीनामा कारोबार रकम ३० दशमलव १० प्रतिशत र कारोबार कित्ता ३२ दशमलव ७८ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक भने पुस महीनाको अन्तिम कारोबार दिनभन्दा माघ महीनाको अन्तिम कारोबार दिन १ दशमलव ९७ प्रतिशत घटेको थियो । पुस मसान्तसम्म २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तसम्म २ हजार ८०१ दशमलव ५६ विन्दुमा झरेको थियो । अंकको हिसावमा पुस मसान्तको भन्दा माघ मसान्तसम्ममा ५६ दशमलव १९ अंकले नेप्से परिसूचक घटेको हो ।

धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक फरक लागू भएको हो । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् ।

दीर्घकालीन  लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सरकारले ३६५ दिनभन्दा अघि खरिद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । 

धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

पूँजीगत लाभकर संकलनको अवस्था :

स्रोत : सिडिएससी 

कारोबार रकम र कित्ताको अवस्था :

स्रोत : सिडिएससी र नेप्से

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)