ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक चौथाइ डिम्याट खातावाला दोस्रो बजारमा 

२०७८ फागुन, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

फागुन २३, काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खाता (डिम्याट खाता) को संख्या ५० लाखभन्दा माथि पुगे पनि त्यसको एक चौथाइले मात्र शेयरको दोस्रो बजारमा कारोबार गर्ने गरेका छन् । 

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार फागुन १६ गतेसम्म ५० लाख १४ हजार ५२२ ओटा हितग्राही खाता खोलिएका छन् । 

प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयर खरीदका लागि होस् या दोस्रो बजारमा कारोबारका लागि हितग्राही खाता अनिवार्य गरिएसँगै खाता संख्या बढ्दै गएपछि त्यसको तुलनामा निकै थोरैले मात्र दोस्रो बजारमा कारोबार गरिरहेका हुन् । 

हाल दैनिक ५ देखि ६ हजारको संख्यामा हितग्राही खाता खुल्ने गरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए । हितग्राही खाता अनिवार्य गरेसँगै भौतिक शेयर अभौतिकीकरण हुने कामले समेत तीव्रता पाएको उनको भनाइ छ । 

आचार्यका अनुसार हाल ४१ लाख ३३ हजारभन्दा बढी मेरो शेयर प्रयोगकर्ता छन् भने हितग्राही खातामा ८ अर्ब २३ करोड २५ लाखभन्दा बढी कित्ता शेयर जम्मा भएको छ । 

बागमती प्रदेशमा मात्र साढे १९ लाख खाता खोलिएको जानकारी दिँदै आचार्यले पूँजीबजारमा सबै क्षेत्रबाट समान पहुँच विस्तारका लागि यस क्षेत्रसँग सम्बद्ध वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिएका छन् । 

५० लाखभन्दा बढी हितग्राही खाता खोलिनु र प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयर खरीदका लागि २७ लाखभन्दा बढीको आवेदन पर्नुले यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको ठान्नुपर्ने सम्बद्ध निकायको भनाइ छ  । दोस्रो बजारमा साढे १२ लाखमात्र लगानीकर्ता सहभागी भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को भनाइ छ । 

प्राथमिक बजारमा सहभागी भएका लगानीकर्ताहरूको तुलनामा दोस्रो बजारमा भएको सहभागितालाई कम नै मानिएको छ । तर, नेप्सेले भने दोस्रो बजारमा साढे १२ लाख लगानीकर्ता सहभागी हुनु भनेको सन्तोषजनक भएको बताएको छ । 

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले ५० लाखभन्दा बढी हितग्राही खाता खोलियो भन्दैमा सबै दोस्रो बजारमा आउँछन् भन्नु उपयुक्त नभएको बताए । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका शेयर बाँडफाँटमा न्यूनतम १० कित्ताको नीतिले हितग्राही खाताको संख्या बढेको हो । दोस्रो बजारमा हालको सहभागितालाई कम भन्न नमिल्ने पराजुलीको भनाइ छ । 
आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)