ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदर नबढ्ने समाचारले शेयरबजारमा हरियाली १ खर्ब ४४ अर्ब रुपैयाँले बढ्यो बजार पूँजीकरण

२०७८ फागुन, ३०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पूँजीबजार र बैंक तथा वित्तीय संस्थाको ब्याजदरबीच सधैं उल्टो सम्बन्ध देखिँदै आएको छ ।

फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएका कारण प्रभावित बन्दै आएको नेप्से परिसूचक आइतवार चैतमा ब्याजदर नबढ्ने खबर आएसँगै १०१ दशमलव ०७ अंकले बढेर बन्द भएको छ । 

वाणिज्य बैंकहरूले चैत महीनामा फागुनमा निर्धारण भएकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् । यस आधारमा मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागतमा अधिकतम १० दशमलव शून्य ३ प्रतिशत ब्याजदरले निरन्तरता पाउनेछ । 

माघ महीनामा ब्याजदर नबढाउने सहमति गरेका बैंकहरूले फागुन महीनामा ब्याजदर बढाएसँगै फागुन १ गते नेप्से परिसूचक १०० दशमलव ६७ अंकले घटेको थियो । फागुन महीनामा नेप्से परिसूचक सात कारोबार दिनमात्र बढेको छ भने बाँकी दिन घटेको छ । 

माघ महीनाको अन्तिम कारोबार दिन २ हजार ८०१ दशमलव ५६ विन्दुमा रहेको नेप्से परिसूचक फागुन २९ गते २ हजार ६६७ दशमलव ९७ विन्दुमा बन्द भएको छ । बैंक तथा वित्तीय संस्थाहरूकै ब्याजदरबाट बढी प्रभावित यो बजार फागुन महीनामा मात्र १३३ दशमलव ५९ अंकले घटेको छ । 

गत बिहीवारदेखि नै बजारले गति लिन शुरू गरेको थियो । बिहीवार नेप्से परिसूचक ५२ दशमलव ३१ अंकले बढेको थियो । गत बिहीवार रू। २ अर्ब ७९ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार रू। ४ अर्ब ८७ करोडभन्दा बढीको शेयर खरीद विक्री भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बजारमा तरलता सहज हुने आशा गरिरहेका लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर यथावत् रहँदा थप राहतको महसूस गरेका छन् । लगानीकर्ता नयन बास्तोलाले पूँजी बजारका लागि सबै कुरा सकारात्मक बन्दै आएकाले आगामी दिनमा बजार थप माथि जाने अनुमान गरेका छन् । 

पछिल्लो समय पूँजी बजारमा भित्रिएका नयाँ लगानीकर्ता आधारभूत तथा प्राविधिक विश्लेषणसहित लगानी गरिरहेकाले बजार हल्लाकै भरमा घट्नेरबढ्ने प्रवृत्ति कम भएको भनाइ बास्तोलाको छ । अध्ययन र अनुसन्धानपछि मात्र गरिएको कारोबारले बजारलाई परिपक्व बनाउने विश्वास लिएका बास्तोलाले पछिल्लो समय लगानीकर्तामा अध्ययन गर्ने बानीको विकास भएको बताए । 

बजार सञ्चालक र नियामक निकायमा भित्रिएको नेतृत्वलाई पनि बजारको थप विकास र विस्तारको चुनौती थपिएको छ । नयाँ नियुक्त भएका नेपाल धितोपत्र बोर्डका अध्यक्षले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजार विकासका कार्यक्रमले छिटो निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

एकै दिन कुल बजार पूँजीकरण १ खर्ब ४४ अर्बले बढ्यो 

आइतवार कुल बजार पूँजीकरण रू. १ खर्ब ४४ अर्ब ५३ करोड ६५ लाखले बढेको छ । गत बिहीवार रू. ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख रहेको कुल बजार पूँजीकरण आइतवार रू, ३७ खर्ब ८२ अर्ब ७ करोड ६४ लाख पुगेको हो । यस दिन कारोबारमा आएका २२८ धितोपत्रमध्ये ११ धितोपत्रको मात्र मूल्य घटेको छ । अधिकांश धितोपत्रको मूल्य बढ्दा कुल बजार पूँजीकरणमा वृद्धि भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)