ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र कारोबारको प्राविधिक समस्या उस्तै 

२०७८ चैत, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । पूर्ण अनलाइन प्रणालीमा जोडिएको धितोपत्र दोस्रो बजार सोमवार प्राविधिक समस्याका कारण प्रभावित बन्यो । यस्तो समस्या पटकपटक आइरहने गरेको छ । ब्रोकरहरूको डाटा सेन्टरमा समस्या आउँदा यस दिन २ घण्टा नबित्दै कारोबार रोक्का भयो । 

१२ बजेर ५३ मिनेट जाँदा डाटा सेन्टरमा समस्या आएको जानकारी ब्रोकरहरूले गराएपछि नेप्सेले कारोबार रोक्का गरेको थियो । प्राविधिक समस्याका कारण २ घण्टा नबित्दै रोक्का रहेको कारोबार समस्या समाधानपछि अवधि थप गरेर खुला गर्ने तयारीमा रहेको नेप्सेले साँझ ५ बजे सूचना जारी गर्दै खुला गर्न नसकिने जानकारी दियो । 

ढिला कारोबार खुला गर्दा शेयर राफसाफलगायत विषयमा समस्या हुने भन्दै ब्रोकरहरूकै सल्लाहमा नेप्सेले कारोबार सुचारू नगर्ने निर्णय गरेको सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । 

आम लगानीकर्ताले नेप्सेको कारोबार प्रणाली नै नचलेको गुनासो सामाजिक सञ्जालहरूमा गरिरहँदा पराजुलीले भने नेप्सेको प्रणालीमा नभएर ब्रोकरको डाटा सेन्टरमा मात्र समस्या भएको बताए । 

सोमवार करीब २ घण्टाको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव १५ अंक बढेर २ हजार ६६८ दशमलव ११ विन्दुमा पुगेको छ । यस दिन रू। १ अर्ब ३४ करोड २२ लाखभन्दा बढीको २३ लाख ४९ हजार १० कित्ता शेयर कारोबार भएको छ । आइतवार १०१ दशमलव शून्य ७ अंकले बढेको बजारले सोमवार प्राविधिक अवरोधको सामना गर्नुपर्‍यो । 

नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएको आरोप लगाइरहँदा ब्रोकरहरू भने समस्या कहाँ भन्ने कुरा अन्योलमा रहेको बताउँछन् । ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्राइभेट लिमिटेडका प्रबन्धक निर्देशक भरत रानाभाटले नेप्सेले नै उपलब्ध गराएको सर्भर प्रयोग गरेको अवस्थामा समस्या आउँदा ब्रोकरको डाटा सेन्टरमा नभई समग्र सिस्टममा आउने बताए । एकले अर्कालाई दोष लगाउनुभन्दा समस्या कहाँ छ र कसरी समाधान गर्नुपर्छ भन्नेतर्फ सरोकारवाला सबै लाग्नुपर्ने भनाइ रानाभाटको छ ।

ब्रोकरहरूले आफैले ल्याउन लागेको डाटा सेन्टरलाई भित्र्याउने वातावरण बनाइदिन समेत रानाभाटले माग गरे । लगानीकर्ता छोटेलाल रौनियारले बजारले सकारात्मक गति लिँदा मात्र प्राविधिक समस्या दोहोरिनुलाई आम लगानीकर्ताले शंकाको दृष्टिले हेरेको बताए । कारोबार प्रणालीलाई प्रविधिमैत्री भनेर मात्र भएन बनाउनु पनि पर्‍यो भन्दै उनले नियामक निकायले कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिए ।  ‘आजका लागि मात्र होइन, आगामी दिनमा पनि यो समस्या नदोहोरिन नियामक निकाय धितोपत्र बोर्डले समस्या कहाँ छ र कसरी समाधान गर्न सकिन्छ भन्ने बाटो खोज्नुपर्छ,’ उनले माग गरे । नियामक निकाय बोर्डका प्रवक्ता नीरज गिरीले प्राविधिक समस्यालाई बोर्डले गम्भीर रूपमा लिएको बताए । बोर्डले नेप्सेसँग थप सोधपुछ गर्ने उनले जानकारी दिए । 

समस्या कहाँ छ र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला सबै पक्ष बसेर छलफल गरी निचोड निकाल्नुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)