ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुक बिल्डिङमा अलमल

२०७८ चैत, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत ३, काठमाडौं । वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउन नेपालमा पहिलोपटक शुरू गरिएको बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अलमल भइरहेको छ ।

बुक बिल्डिङ कार्यान्वयन हुन नसक्नुमा कम्पनीहरू र नियामक निकायको आआफ्नै तर्क छन् । बुक बिल्डिङमार्फत कम्पनीले शेयर जारी गरेको भए एकातिर सर्वसाधारणले नाफामा गएका त्यस्ता कम्पनीको शेयर किन्न पाउँथे भने अर्कोतर्फ ती कम्पनीप्रति सर्वसाधारणको अपनत्व बढ्थ्यो । यसले धितोपत्र दोस्रो बजार पनि विविधीकरण हुन्थ्यो ।

संसारका थुप्रै मुलुकमा यस्तो विधि प्रयोगमा ल्याइएपछि धितोपत्र बजार थप परिपक्व भएको उदाहरण छन् । पहिलोपटक सर्वोत्तम सिमेन्टले गतवर्ष नै बुक बिल्डिङमार्फत शेयर जारी गर्ने घोषणा गरे पनि अझै जारी हुन सकेको छैन । 

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपाने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सम्झौता हुन नसक्दा आफूहरू अन्योलमा परेको बताउँछन् । ‘नेपालका लागि नयाँ रहेको यो विधिमार्फत संस्थागत लगानीकर्ताले शेयरका लागि बोलकबोल गर्न स्वचालित विद्युतीय ९बिडिङ० प्रणाली आवश्यक हुने र यसका लागि नेप्सेले प्रणाली निर्माण नगरेकाले प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने । 

उनले कम्पनीका तर्फबाट भने आईपीओ निष्कासनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । ‘त्यसैले बिडिङ प्रणालीको टुंगो लागे प्रक्रिया अघि बढ्छ,’ उनले भने । बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्दा मूल्यसीमा निर्धारणका लागि संगठित संस्थाले बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नेगरी धितोपत्र बजारसँग सम्झौता गर्नुपर्ने हुन्छ । 

यता नेप्सेले भने कम्पनीले बिडिङ प्रणालीको विकल्पमा अन्य व्यवस्थाबाट पनि मूल्यसीमा निर्धारणको प्रक्रिया सम्पन्न गर्न सक्ने बताएको छ । नेप्सका सूचना अधिकारी मुराहरि पराजुली बिडिङ प्रणाली सञ्चालनमा नआएसम्म संगठित संस्थाले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने विकल्प रहेको दाबी गर्छन् ।

बिडिङ प्रणाली सञ्चालन नगरेका कारण सर्वोत्तमको आईपीओ निष्कासन रोकिने अवस्था नआउने उनको भनाइ छ । बुक बिल्डिङका लागि नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्तासमेत नियुक्त गरिसकेको थियो । गतवर्षको चैतमै सर्वोत्तमले विक्री प्रबन्धक नियुक्त गरिसकेको थियो । 
धितोपत्र बोर्डले निर्देशिकाले गरेको स्पष्ट व्यवस्थालाई कार्यान्वयन गर्दै प्रक्रिया अघि बढाउँदा सर्वोत्तमलाई बिडिङ प्रणालीले नरोक्ने बताएको छ । बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता नीरज गिरीले पनि बोर्डले बिडिङ प्रणाली उपलब्ध नभएको खण्डमा शिलबन्दी बोलकबोल विधि लागू गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारे । 

अन्य कम्पनी पनि अहिले यो विधिसँग जोडिन चाहेको अवस्थामा सर्वोत्तम सिमेन्टले आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए । 
बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउनुपर्ने माग लगानीकर्ता छोटेलाल रौनियारकोे छ । बुक बिल्डिङ विधि अघि सारेको सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासनका लागि सहज वातावरण उपलब्ध गराउन उनले सरोकारवाला निकायसँग मागसमेत गरेका छन् । सर्वोत्तम सिमेन्टको आईपीओलाई बुक बिल्डिङ विधिको एउटा सफल उदाहरण बनाई अन्य कम्पनीलाई पनि यस विधिमार्फत जोड्न प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्ने गरी गतवर्ष चैत ४ गते नै विक्री प्रबन्धक नियुक्त गरेको थियो । कम्पनीले आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल र सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको थियो । 

कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । 

हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपश्चात् यो पूँजी रू. ४ अर्ब पुग्नेछ । व्यावसायिक उत्पादन शुरू गरेपछि नै नाफा कमाउँदै आएकाले विगत ३ वर्षको औसत मुनाफा वार्षिक रू.१ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।

आईपीओ विक्रीबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी बाँकी रकमले उद्योगको उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाएको कम्पनीले आईपीओपश्चात् ३५ प्रतिशत लाभांश वितरण गर्ने योजना विक्री प्रबन्धक नियुक्तिकै दिन सार्वजनिक गरेको थियो । कम्पनीको उत्पादन क्षमता दोब्बर योजनाले ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण कम्पनीको छ ।

आईपीओको अंकित मूल्य रू. १०० भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले रू.७५० मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम रू.६७५ मै शेयर किन्न पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत हुने जानकारहरू बताउँछन् । 

धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउने उद्देश्यका साथ २०७७ साल साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ८० भन्दा बढी संस्थागत लगानीकर्ताले स्वीकृति प्राप्त गरिसकेका छन् ।

आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)