ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्दो शेयरबजारको असर : ४९ प्रतिशतले घट्यो पूँजीगत लाभकर 

२०७८ चैत, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र बजारबाट सरकारले माघको तुलनामा फागुन महीनामा ४९ प्रतिशत कम पूँजीगत लाभकर संकलन गरेको छ । 

माघमा  ८० करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले फागुन महीनामा त्यसको झन्डै आधा कम  ४१ करोड ६ लाख रुपैयाँ कर संकलन गरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले धितोपत्र कारोबारको पूँजीगत लाभकर फागुनमा झन्डै आधाले घटेको बताए ।  कुल पूँजीगत लाभकरमध्ये अल्पकालीन लगानीकर्ताबाट ५४ दशमलव २२ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट ४५ दशमलव ७८ प्रतिशत संकलन भएको उनले बताए । फागुनमा अल्पकालीन लगानीकर्ताबाट रू. २२ करोड २६ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट रू. १८ करोड ७९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको न्यौपानेको भनाइ छ ।

सरकारले विगतका महीनामा धितोपत्र बजारबाट ठूलो परिमाणमा पूँजीगत लाभकर पाइरहेको थियो । लगानीकर्ता छोटेलाल रौनियार वित्तीय प्रणालीमा तरलता अभावसँगै बजारमा कारोबार घट्दा सरकारले पाउने लाभकर घटेको बताउँछन् ।

उनले आम लगानीकर्ताको आम्दानीसँगै सरकारको पनि आम्दानी बढ्ने भएकाले शेयरबजारको विकासमा ध्यान दिन आग्रह गरे । 

बजार सुधारका लागि सरकारले दिएका निर्देशन कडाइका साथ कार्यान्वयन गर्न उनले माग समेत गरेका छन् । 

माघको तुलनामा फागुनमा नेप्से परिसूचक ४ दशमलव ७६ प्रतिशत घट्दा सूचीकृत कम्पनीहरूको शेयरमूल्य अर्थात् कुल बजार पूँजीकरण पनि ४ दशमलव ४८ प्रतिशत कम भएको नेप्सेको तथ्यांकले देखाउँछ । 

माघ मसान्तसम्म २ हजार ८०१ दशमलव ५६ विन्दुमा रहेको नेप्से परिसूचक फागुन मसान्तमा २ हजार ६६८ दशमलव ११ विन्दुमा झरेको छ । माघमा भन्दा फागुनमा कारोबार रकम ४६ दशमलव ६३ प्रतिशत कम भएको नेप्सेले जानकारी दिएको छ । माघमा रू. १ खर्ब १७ अर्बभन्दा बढीको कारोबार भएकोमा फागुनमा रू. ६२ अर्ब ९२ करोडभन्दा बढीमात्र धितोपत्र कारोबार भएको छ ।

धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताको हकमा फरकफरक दर लागू भएको छ । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका छन् ।

दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सरकारले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)