ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओटीसी मार्केटमा  ४१ कम्पनीको शेयर कारोबार, बजार विस्तारमा नेप्सेको जोड

२०७८ चैत, १३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । ओटीसी (ओभर द काउन्टर) मार्केटमा चालू आर्थिक वर्षको ८ महीना अर्थात् फागुन मसान्तसम्ममा ४१ कम्पनीको धितोपत्र कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यी कम्पनीको रू. १ अर्ब ५९ करोड ५२ लाख ८५ हजार बराबरको १ करोड २३ लाख १९ हजार ७६१ कित्ता धितोपत्र कारोबार भएको छ ।

नेपालमा सूचीकरण नभएका धितोपत्र कारोबारका लागि नेप्से ले नै ओटीसी मार्केट सञ्चालन गरिरहेको छ । यो बजारमा सूचीकृत नभएका धितोपत्रहरूसँगै सरकारी ऋणपत्रहरूको समेत कारोबार हुने गरेको नेप्सेले जानकारी दिएको छ । 

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले धितोपत्र बजारमा जस्तो यो बजारमा दैनिक कारोबार नहुने जानकारी दिएका छन् । पछिल्लो समय विस्तारको क्रममा रहेको ओटीसी बजारमा सूचीकरण प्रक्रियामा रहेका कम्पनीहरूको समेत कारोबार भएको पराजुलीको भनाइ छ । 

धितोपत्र बजारमा जसरी लगानीकर्ताको पहुँच विस्तार भएको छ, त्यसरी ओटीसी बजारको पहुँच विस्तारमा नेप्सेले जोड दिएको जानकारी समेत पराजुलीले गराए । अन्य देशहरूमा धितोपत्र बजार सञ्चालन गर्ने संस्थाभन्दा बाहिरको संस्थाहरूले सञ्चालन गर्ने ओटीसी बजार नेपालमा भने धितोपत्र बजार सञ्चालकले नै सञ्चालन गरेको समेत उनको भनाइ छ । 

पहिलाको तुलनामा ओटीसी बजार पनि विस्तार हुँदै गएको भए पनि आम जनतामा ओटीसी बजारको जानकारी कम रहेको उनको भनाइ छ ।

बजारसम्बद्ध निकायहरूले वित्तीय साक्षरता अभियान चलाइरहँदा धितोपत्र बजारसँगै ओटीसी बजारको विषयलाई पनि जोड्न आवश्यक रहेको समेत पराजुलीको बुझाइ छ ।  

नेप्सेको तथ्यांकअनुसार आईपीओ निष्कासनका लागि बोर्डबाट स्वीकृति पाइसकेको रिभर फल्स पावर, बोर्डमा निवेदन दर्ता गरिसकेको मुक्तिनाथ कृषि कम्पनी, सिकलेस हाइड्रोपावर लिमिटेड र सुपरमाई हाइड्रोपावर लिमिटेडको धितोपत्र ओटीसी मार्केटमा कारोबार भएको छ । 

मुक्तिनाथ कृषि कम्पनीको माघ ४ गते रू. ३१ लाख ५० हजार बराबरको ३० हजार कित्ता र फागुन १५ गते रू. ४३ लाख ७ हजार ५०० बराबरको ४१ हजार ५०० कित्ता शेयर कारोबार भएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि रू. ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ विक्री गर्न फागुन २० गते बोर्डमा निवेदन दर्ता गराएको छ । त्यस्तै बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिइसकेका रिभर फल्स पावरको कात्तिक ७ गते रू. २ करोड १० लाख १६ हजार ३०० बराबरको २ लाख १० हजार १६३ कित्ता, सुपरमाई हाइड्रोको कात्तिक २६ गते रू. ५० लाख बराबरको ५० हजार कित्ता र सिकलेस हाइड्रोपावरको रू. २ करोड ४ लाख ३५ हजार बराबरको १ लाख ९७ हजार २०० कित्ता शेयर कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

यीसँगै ४१ कम्पनीहरूभित्र वर्ल्डलिंक, सन् नेपाल लाइफ, प्रभु क्यापिटल, मुक्तिनाथ क्यापिटल, हुलास मेटल क्राफ्ट, एनसेल लगायतका कम्पनीको समेत धितोपत्र खरीदविक्री भएको छ । साउन १९ गते एनसेलको रू. १ लाख २४ हजार १०० मूल्यमा १ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 

यस अवधिमा सर्वाधिक रकम रू. ४७ करोड ४३ लाख ६० हजार बराबरको ३४ लाख ५७ हजार १६७ कित्ता शेयर कारोबार भने सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । 

नेपालको धितोपत्र बजारको विकासका योजनाहरूमा ओटिसी बजार पनि एउटा प्रमुख योजनाभित्र पर्ने भएकाले यस विषयलाई पनि वित्तीय साक्षरता अभियानमा जोड्न आवश्यक रहेको बुझाइ नेप्सेको रहेको छ ।

नेप्सेले २०६५ साल जेठ २२ गतेदेखि ओटीसी बजार सञ्चालन गर्दै आएको छ । लामो समय निष्क्रिय रहेको उक्त बजारमा आर्थिक वर्ष २०७५/७६ मा बोर्डले धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनीका धितोपत्रहरू खरीद विक्री ओटीसी बजारमा गर्न सकिने जानकारी गराएको थियो ।

सो पश्चात् कम्पनी रजिस्ट्रारको कार्यालयबाट धितोपत्र बजारमा सूचीकरण नभएका, धितोपत्र बजारबाट खारेज गरिएका तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेको पब्लिक लिमिटेड कम्पनीहरूको शेयर कारोबार तथा नामसारी ओटिसी बजारमार्फत गर्न सकिने सूचना सार्वजनिक भएसँगै यो बजारले गति लिएको जानकारी नेप्सेले गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)