ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ हप्तापछि बुधवार बजार घट्ने रेकर्ड ब्रेक

२०७८ चैत, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । सन् २०२२ लागेपछि हरेक बुधवार बजार घट्दै आएको थियो । तर, यो बुधवार उक्त रेकर्ड ब्रेक भएको छ । यसअघिका ११ ओटा बुधवार लगातार घटेको धितोपत्र बजारको सूचक नेप्से यो बुधवार ४० दशमलव ६८ अंकले बढेपछि रेकर्ड ब्रेक भएको हो । पछिल्लो समय लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार १ दशमलव ६१ प्रतिशतले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।

‘नयाँ अंग्रेजी वर्ष लागेसँगै प्रत्येक बुधवार बजार घटेको रेकर्डले पछिल्लो समय लगानीकर्तामा बुधवार बजार घट्छ भन्ने मनोविज्ञान विकास भएको थियो,’ एक जना लगानीकर्ता दुर्गा तिवारीले भनिन्, ‘उक्त रेकर्ड ब्रेक भएसँगै लगानीकर्तामा बुधवारको कारोबारका विषयमा रहेको अनुमान गलत प्रमाणित भएको छ ।’ धितोपत्रको दोस्रो बजारको उतारचढाव लगानीकर्ताको मनोविज्ञानमा समेत भर पर्ने भएकाले आगामी दिनमा बुधवार बजार घट्छ भन्ने मान्यता अन्त्य हुने विश्वास उनको छ । पछिल्लो समय निरन्तर पाँच कारोबार दिन घटेको बजार बुधवार लगानीकर्ता सस्तोमा शेयर उठाउन सक्रिय हुँदा ‘बाउन्स ब्याक’ भएको तिवारीको भनाइ छ । सरकारको पूँजीगत खर्च बढ्दै जाँदा बजारमा तरलता सहज हुने विश्वाससहित लगानीकर्ता बजारप्रति सकारात्मक बनेको उनी बताउँछिन् । अहिलेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल आइसकेकाले लगानीकर्ता सस्तोमा शेयर किन्न उत्साहित देखिएको उनको बुझाइ छ । वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले धितोपत्र बजार प्रभावित बनेको भन्दै उनले यो समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरिन् ।

अर्का लगानीकर्ता नयन बाँस्तोलाले पनि बुधवार बजार घट्ने प्रवृत्तिमा ब्रेक लाग्दा लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताए । लामो समय बुधवारको बजार निरन्तर घटेकै कारण लगानीकर्ताको मनोविज्ञानमा परेको असर भोलीका दिनमा समाप्त हुनेमा उनी आशावादी छन् । पछिल्लो समय पूँजीबजारका लगानीकर्ता सामाजिक सञ्जालमा आएका अभिव्यक्तिबाट पनि प्रभावित हुने गरेकाले बजारसम्बद्ध पक्षले सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुपर्ने उनले बताए । चुनावी माहोल बन्दै जाँदा वित्तीय प्रणालीमा तरलता थपिने आशले बजारलाई सकारात्मक बनाउने विश्वास उनको छ ।

बुधवार पाँच कारोबार दिनपछि बढेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य एकै दिन ५९ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । मंगलवार ३५ खर्ब ८६ अर्ब रहेको कुल बजार पूँजीकरण बुधवार ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो । यस दिन कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । ‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाएको यो दिन चार कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको छ । इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ९ दशमलव ९९ प्रतिशत र सामलिङ पावर कम्पनी लिमिटेडको ९ दशमलव ८४ प्रतिशत शेयर मूल्य बढेको हो । बुधवार बढेको बजारमा २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको ४५ लाख २ हजार ५११ कित्ता धितोपत्र खरीद–विक्री भएको छ ।

कारोबार अवधिभर २३२ धितोपत्रमध्ये १९९ धितोपत्रको मूल्य बढेर बन्द भएको छ भने २४ धितोपत्रको मूल्य घटेर बन्द भएको छ । बाँकी ९ धितोपत्रको मूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । मूल्य घटेर कारोबार हुनेमा भने ‘९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६’ शीर्ष स्थानमा रहेको छ । सो डिबेन्चरको मूल्य २ प्रतिशत घट्दा अन्तिम मूल्य रू. ९२१ दशमलव २० मा सिमित छ ।

समूहगत कारोबार रकमका आधारमा बुधवार जलविद्युत समूहले सर्वाधिक हिस्सा ओगटेको छ । बुधवारको कुल कारोबारमध्ये २० दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको मात्रै रू. ४५ करोड ८७ लाख बराबरको धितोपत्र किनबेच भएको छ । त्यसैगरी वाणिज्य बैंक समूह सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा रहेको छ । उक्त समूहको रू. ३१ करोड ८८ लाख बराबरको धितोपत्र किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहकै परिसूचक बढेर बन्द भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ४ दशमलव १२ प्रतिशत बढेको छ । यस्तै विकास बैंक समूह र वित्त समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट मात्रै रू. ३२ करोड ३ लाख बराबरको धितोपत्र कारोबार भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. २१ करोड १५ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. १० करोड ८७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । हालको बजारमूल्य बिहीवारको दैनिक पिभटभन्दा माथि छ । तर, यो साताको साप्ताहिक पिभट र चैतको मासिक पिभटभन्दा तल छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)