ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी वृद्धि योजनाले बढाएन लगानीकर्ताको मनोबल

यो साता अधिकांश जीवन बीमा कम्पनीको शेयरमूल्य घट्यो

२०७८ चैत, १७  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत १७, काठमाडौं । बीमा कम्पनीहरूको पूँजी वृद्धिको चर्चा चलिरहँदा धितोपत्र दोस्रो बजारमा भने त्यसको सकारात्मक प्रभाव नपरेको देखिएको छ । दोस्रो बजारमा हाल १२ ओटा जीवन बीमा कम्पनी र १८ ओटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । गत बिहीवार बीमा समितिले बीमा कम्पनीलाई बलियो बनाउने उद्देश्यले जीवन बीमा कम्पनीले रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । आगामी एक वर्षभित्र तोकिएको चुक्तापूँजी कायम गर्ने गरी एक महीनाभित्र कार्ययोजना पेश गर्न समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।

दोस्रो बजारमा सूचीकृत कम्पनीहरूसँग सम्बन्धित सूचनाले ती कम्पनीको शेयरमूल्यमा प्रभाव पार्ने गर्दछ । पूँजी वृद्धि सम्बन्धी चर्चाकाबीच पनि यो साता सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने बाँकी नौं कम्पनीको शेयरमूल्य घटेको छ । यसले पनि जीवन बीमा कम्पनीको पूँजी वृद्धि सम्बन्धी सूचनाले लगानीकर्ताको मनोबलमा तत्काल सकारात्मक प्रभाव भने नदेखिएको ब्रोकर कम्पनीहरू बताउँछन् । पूँजी वृद्धि अभियानले पूर्णता पाउला वा नपाउला भन्नेमा लगानीकर्ताहरू अन्योल देखिएको र यसले आगामी दिनमा बीमा क्षेत्रमा पार्ने असरका बारेमा गम्भीर अध्ययनमा लगानीकर्ता रहेको ब्रोकरको बुझाइ छ । 

यो साता सूचीकृत जीवन बीमा कम्पनीमध्ये नयाँ तीन जीवन बीमा कम्पनीको शेयरमूल्य भने बढेको छ । प्रभु लाइफको शेयरमूल्य यो साता सर्वाधिक बढेको छ । यो कम्पनीको प्रतिकित्ता रू. २६ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ भने युनियन लाइफको प्रतिकित्ता रू. १९ र सानिमा लाइफको प्रतिकित्ता रू. २ ले शेयरमूल्य बढेको छ । यो साता नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक घटेको छ । यो कम्पनीको प्रतिकित्ता रू. ९१ ले घटेको छ । गत साताको बिहीवार प्रतिकित्ता अन्तिम मूल्य रू. १ हजार १२२ रहेको नेपाल लाइफको अन्तिम शेयरमूल्य यो बिहीवार रू. १ हजार ३१ कायम भएको हो ।

गत साता धितोपत्र दोस्रो बजार पनि पाँच कारोबार दिनमा चार कारोबार दिन घटेको छ भने एक दिन मात्र बढेको छ । बीमा कम्पनीहरूको पूँजी वृद्धिको अभियानले लगानीकर्ताको मनोबल यो साता बढाउन नसकेको जानकारी लगानीकर्ता डमरू बल्लभ घिमिरेले दिएका छन् । यसअघि पनि वित्तीय क्षेत्रका कम्पनीहरूले पूँजी बढाउँदा धेरै हकप्रद शेयरमा जोड दिएकाले यसबाट लगानीकर्ताले राहतको महसुुस नगरेको अनुभव घिमिरेको छ ।

यसअघिका अनुभवमा कम्पनीहरूले पूँजी वृद्धिका लागि हकप्रद शेयरमा जोड दिँदा बजारमा शेयरको आपूर्ति बढी भएकाले यसको प्रभाव राम्रो नपरेको घिमिरे बताउँछन् । अहिले बीमा कम्पनीहरूमा लागू गरिएको पूँजी वृद्धि अभियानले पूर्णता पाउने वा नपाउँनेमा आम लगानीकर्ता अन्योलमा रहेकाले पनि यो साता यसको प्रभाव नदेखिएको उनको बुझाइ छ । आगामी दिनमा यो अभियानले लगानीकर्ताको हितलाई ध्यानमा राखी पूर्णता पाउने देखिएमा बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे ।

बीमा समितिले यसअघि पनि बीमा कम्पनीहरूको पूँजीवृद्धि अभियान चलाएको थियो । यसअघि भने जीवन बीमा कम्पनीले रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था बमोजिम राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको पूँजी अझै अपुगनै रहेको छ ।
यसअघिकै व्यवस्था बमोजिम चुक्तापूँजी पुरा गर्न बाँकी रहेका कम्पनीहरूलाई तत्काल थप पूँजी कायम गर्न चुनौती देखिएको छ । राष्ट्रिय बीमा संस्था र कम्पनीको पूँजीवृद्धि भने संस्थानको वास्तविक वार्षिक प्रतिवेदन कायम नभएकाले अन्योल बनेको हो । पूँजी वृद्धिको योजना बनाइसकेका यी दुई कम्पनीको पछिल्लो आर्थिक वर्षसम्मको वार्षिक लेखापरीक्षण कार्य सम्पन्न नुहँदा समस्या देखिएको हो । यसअघिको पूँजी पु¥याउने कसरतमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई भने थप पूँजी पु¥याउन निकै चुनौती देखिने जानकारहरू बताउँछन् ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई तोकिएको पूँजी कायम गर्न नसके मर्जरमा जानसमेत आग्रह गरेका छन् । बिहीवार बीमा कम्पनीहरूका अध्यक्षहरूसँगको छलफलका क्रममा अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरको बाटोसमेत अपनाउँन सकिने बताएका हुन् । उनले बीमा कम्पनीहरूलाई बलियो बनाई सेवाको गुणस्तर बढाउने र जनमानसमा बीमाप्रतिको विश्वास अभिवृद्धिका लागि पूँजी वृद्धि अभियानमा जोड दिएकाले यसप्रति चिन्तित भएर लाग्न सम्पूर्ण बीमा कम्पनीलाई सुझाव दिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)