ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुक्तापूँजी वृद्धि अभियान : राष्ट्रिय बीमा कम्पनीलाई २ अर्ब २३ करोड आवश्यक

२०७८ चैत, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । बीमा क्षेत्रमा अचेल चुक्तापूँजी वृद्धिको चर्चा व्यापक छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई दिगो बनाउने भन्दै चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै चर्चा शुरु भएको हो ।

समितिले २०७४ सालदेखि बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउनुपर्नेमा जोड दिँदै आएको छ । त्यसबेला समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमाको १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको थियो । यस वर्ष जीवन बीमालाई ५ अर्ब र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको छ । चुक्तापूँजी बढाउन आगामी २०७९ चैत मसान्तसम्मको समय दिइएको छ ।

समितिले चैत १० गते बीमा कम्पनीहरूलाई एक महिनाभित्र चुक्तापूँजी वृद्धिको कार्ययोजना पेश गर्न लिखित निर्देशन दिएको थियो । समितिको सोही निर्देशनबमोजिम बीमा कम्पनीहरू कार्ययोजना तयारीमा जुटेका छन् । सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र राष्ट्रिय बीमा संस्थान (जीवन) लाई भने एक वर्षभित्र समितिले तोकेको पूँजी पुर्‍याउनु निकै चुनौतीपूर्ण हुने जानकार बताउँछन् । साबिकको पूँजी पनि कायम गर्न नसकेका यी कम्पनीले अहिले भने पूँजी बढाउन विशेष चासो दिएको बताएका छन् । नियामक निकायको निर्देशनसँगै कम्पनीहरूको दिगो विकासका लागि थप पूँजी आवश्यक रहेको सम्बद्ध अधिकारीको भनाइ छ ।  

आगामी वैशाख १० गतेभित्र समितिमा पूँजी वृद्धिको कार्ययोजना पेश गर्ने गरी व्यवस्थापकीय विभागले काम गरिरहेको राष्ट्रिय बीमा कम्पनीका सचिव निरञ्जन आचार्यले जानकारी दिए । बीमा समितिको निर्देशनबमोजिम चुक्तापूँजी कायम गर्न उसलाई थप २ अर्ब २३ करोड ३३ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने सचिव आचार्यले बताए । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । सचिव आचार्यका अनुसार व्यवस्थापकीय विभागबाट तयार हुने कार्ययोजना सञ्चालक समितिबाट पारित गरी वैशाख १० गतेभित्रै समितिमा पेश हुनेछ ।

कम्पनीले हालको १ अर्ब चुक्तापूँजी कायम गर्न १२० प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाए पनि बीमा समितिको निर्देशनले त्यो रोकिएको थियो ।

राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा अलग्गिएर छुट्टै निर्जीवन बीमा व्यवसाय सुरु गरेको यो कम्पनीलाई संस्थानको वास्तविक वित्तीय अवस्था सार्वजनिक नभएसम्म लाभांश वितरण गर्न नसक्ने भन्दै समितिले रोक लगाएको थियो । १२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव हटाएर बीमा समितिबाट उक्त वर्षको लेखापरीक्षण स्वीकृत गराएको कम्पनीले अब नयाँ कार्ययोजना तयार गर्ने सचिव आचार्यले बताए । राष्ट्रिय बीमा संस्थानले जीवन र निर्जीवन बिमा कम्पनी छुट्टिएको आर्थिक वर्ष ०७१/७२ सम्मको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराइसकेकाले राष्ट्रिय बीमा कम्पनीको पूँजी वृद्धि योजना स्वीकृतिमा समस्या नहुने सचिव आचार्यको विश्वास छ ।

गत पुससम्मको वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोडभन्दा बढी र बीमा कोषमा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ । त्यस अवधिसम्म कम्पनीले १९ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १४५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १ हजार ३१७ रुपैयाँ छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ८८० रुपैयाँ छ । पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य उतारचढाव हेर्दा न्यूनतम १३ हजार ९०७ देखि अधिकतम २४ हजार ३७० रुपैयाँसम्म पुगेको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)