काठमाडौं । २०७८ साललाई नेपालको पूँजीबजारले बढेर विदा गरेको छ । केही समयदेखि निरन्तर घटेको बजार यो वर्षको अन्तिम दिन भने ३० दशमलव ३४ अंकले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा बन्द भएको हो । २०७८ साल वैशाख २ गते २ हजार ७३५ दशमलव ४० विन्दुदेखि खुला भएको बजार वर्षको अन्तिम दिनसम्म आइपुग्दा नेप्से परिसूचक २ हजार ४१५ दशमलव २६ विन्दुमा बन्द भएको छ । २०७७ सालको अन्तिम दिन नेप्से परिसूचक २ हजार ७१४ दशमलव ७९ विन्दुमा थियो ।
यस वर्ष नेप्से परिसूचक गत वर्षको तुलनामा घटेपनि कारोबार रकम भने बढेको छ । गत वर्ष रू.८ खर्ब ५४ अर्ब बराबरको २ अर्ब ८५ लाख १० हजार ६९९ कित्ता शेयर कारोबार भएकोमा यो वर्ष रू. १७ खर्ब १२ अर्ब बराबरको ३ अर्ब ६३ करोड ७२ लाख ४७ हजार ५३१ कित्ता शेयर कारोबार भएको हो ।
वर्षको अन्तिम दिन नेप्से परिसूचक वर्षको शुरूको दिनभन्दा तल झरेपनि यसै वर्ष नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । १ हजार १०० विन्दुदेखि उकालो लागेको नेप्से परिसूचक भदौ २ गते हालसम्मकै उच्च ३ हजार २०० विन्दु पार गरेको थियो । नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गर्दा कुल बजार पूँजीकरण पनि हालसम्मकै उच्च रू। ४४ खर्ब ६८ अर्ब कायम भएको थियो । वर्षको अन्तिम दिन भने नेपालको धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण रू। ३४ खर्ब २६ अर्बमा झरेको छ ।
२०७८ सालमा के–के भए बजारलाई प्रभाव पार्ने गतिविधि रु
कोभिड–१९ का कारण अन्य व्यवसायिक क्षेत्र बन्द हुँदा उत्साहित बनेको पूँजीबजार कोभिडको जोखिम कम भई अन्य क्षेत्रमा व्यवसाय सूचारू हुन थालेपनि सुस्ताएको देखिन्छ । साथै यस वर्षदेखि लगानीकर्ताले नाफा कमाएवापत तिर्ने पूँजीगत लाभकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । सरकारले यसै वर्ष व्यक्तिगत लगानीकर्तालाई दुई किसिममा विभाजित गरी पूँजीगत लाभकर संकलन गर्न थालेको हो । एक वर्षभन्दा कम समय शेयर कायम गरी कारोबार गर्ने अल्पकालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र एक वर्षभन्दा बढी समय शेयर कायम गर्ने दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकर यसै वर्षदेखि लागू गरिएको हो । यसअघि व्यक्तिगत लगानीकर्ताले समान ५ प्रतिशत पूँजीगत लाभकर र संस्थापक लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
यस वर्ष बजारलाई सबैभन्दा बढी प्रभाव पार्ने कारकका रूपमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लागू गरेको अधिकतम १२ करोडसम्मको सीमालाई लिइएको छ । राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जा एक बैंकबाट ४ करोड रुपैयाँ र एकभन्दा बढीबाट १२ करोडसम्म लिन पाउने व्यवस्था गरिदिएपछि बजार प्रभावित भयो । यो व्यवस्थाको विरोधमा आम लगानीकर्ता सडकमै उत्रिएका थिए । यस वर्ष वित्तीय क्षेत्रमा निरन्तर देखिएको तरलता संकटका कारण पनि पूँजीबजार थप प्रभावित बन्न पुगेको छ ।
यीसँगै यसै वर्ष पूँजीबजारसँग प्रत्यक्ष सम्बन्ध भएका नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को नेतृत्व सरकारको निगरानीमा पर्यो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले सहयोग नगरेको भन्दै चैत २५ गते निलम्बन गर्यो । नेपालको पूँजीबजारमा बैंक तथा वित्तीय क्षेत्रको बढी स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकको नेतृत्व वर्षको अन्तिम समयमा आएर खोसिएको छ ।
त्यस्तै यसै वर्ष पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई पनि सरकारले गैरकानुनी रूपमा सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको आरोपमा निलम्बन गर्यो । सोही कारण नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि राजीनामा दिनुपर्यो । बोर्डका अध्यक्ष ढुङ्गानालाई सरकारले असोज १९ गते बर्खास्त गरेको थियो भने साउदले अनुसन्धानमा सहयोग गर्न भन्दै भदौ ८ गते राजिनामा दिएका थिए । यो प्रकरणबाट नियामक निकाय र बजार सञ्चालक केही समय नेतृत्व बिहिन बन्यो ।
आगामी वर्षको सम्भावना
चालू आर्थिक वर्षको तेस्रो त्रैमास वितिसक्दा बजारमा निरासा देखिएपनि सुधारको आशा भने सरोकारवालाहरूले गरेका छन् । शेयरमा लगानी गर्दै आएकी दुर्गा तिवारीले लामो समयदेखि घटिरहेको बजार वर्षको अन्तिम दिनमा बढेर बन्द भएकाले लगानीकर्तामा आशा जागेको बताइन् । आसन्न स्थानीय तहको आम निर्वाचनको तयारी, बढ्दै गएको पूँजीगत खर्च, पर्यटकको आगमनमा आएको उल्लेख्य वृद्धि, बढ्दो विप्रेशन आप्रबाह र आयातमा कडाई जस्ता करणले आगामी दिनमा वित्तीय प्रणालीमा तरलता सुधार आई ब्याजदर घट्ने अनुमान पनि तिवारीले गरेकी छिन् ।
यस वर्ष नियामक निकायले लामो समय नेतृत्व गुमाउँदा गर्नुपर्ने धेरै काम गर्न बाँकी रहेकाले आगामी दिनमा ती कामले पूर्णता पाउने आशा पनि लगानीकर्ताको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा यसै क्षेत्रका अनुभवि व्यत्तित्व अध्यक्षमा नियुक्त हुनु र बजार पूर्ण प्रविधिमैत्री हुँदै जानुले पनि बजार सकारात्मक हुने देखिन्छ । पूँजीबजार सुधारका महत्वपूर्ण योजना अघि बढाउनाले पनि बजारले सकारात्मक गति लिनेमा सबै सरोकारवालाहरू आशाबादी देखिएका छन् ।
बोर्डका अध्यक्ष रमेश हमालले आगामी दिनमा बजार सुधारका महत्वपूर्ण ६ कार्ययोजना अघि सारेका छन् । बोर्डको संस्थागत क्षमता विकाससँगै हमालले समय सान्दर्भिक नीति नियम, वित्तीय साक्षरता, बजारको स्थायित्व, विविधिकरण र लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेका छन् । यी योजनाको सफल कार्यान्वयनले आगामी दिनमा बजार सकारात्मक बन्ने विश्वास बोर्डका अध्यक्ष हमालको छ । बोर्डले अघि सारेका यी कार्यहरू सफलताका साथ कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको महत्वपूर्ण भूमिका हुने विश्वास पनि अध्यक्ष हमालको छ ।