ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माटोप्रति मोहक एडिक्शन, 'माटो बेचेर पनि राम्रै कमाउन सकिने रहेछ'

२०७९ बैशाख, १२  
समाचार विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कुनै समय महँगो मूल्यमा माटाका कलाकृति बेच्ने विनीता बस्नेतको समय अचेल विशालनगरको सेन्ट्रल अपार्टमेन्टअगाडिको विनीता बस्नेत (बीबी) कलेक्शनमा बित्छ । 

नशा बनिसकेको माटोमा कला भर्ने पेशालाई रूपान्तरण गरेर सिल्क साडीमा डिजाइन भर्न थालेपछि उनको मुकाम विशालनगर सरेको हो । नत्र उनी कुपण्डोलतिर हुन्थिन् । 

माटोसँग जोडिएको उनको कथा रोचक छ । ‘माटो रोज्छु भनेर रोजिनँ,’ उनी विगतमा पुगिन् । माटोबाट कलायात्रा शुरू गरेकी विनीताले अध्ययन गरेको कलाकारितालाई नै व्यवसायको रूप दिइन् । 
आफ्नो कलाले कति बेला व्यवसायको रूप लियो उनलाई ठम्याउन गाह्रो पर्छ । उनले भारतको जयपुर र दिल्लीबाट कलामा ग्य्राजुएशन र कमर्शियल आर्टमा स्पेशलाइज्ड गरी सन् १९९८ मा अध्ययन सकिन् । 

त्यसपछि कलालाई नै व्यवसायको माध्यम बनाएकी उनी क्ले क्राफ्टसहित व्यावसायिक यात्राको २४ वर्षमा छिन् । 

भारतबाट अध्ययन सकेर फर्केपछि सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक संगीता थापाले उनलाई माटोसम्बन्धी वर्कशपमा तालीम अफर गरिन् । यो अफर विनीताको बिहेलगत्तै आएको थियो । त्यही वर्कशपले उनलाई माटोको काम अघि बढाउन प्रेरित गर्‍यो ।

जति पढेलेखेको महिला भए पनि त्यो समयमा बुहारीलाई घरबाहिर काम गर्न र व्यवसाय रोज्न छूट थिएन । यो मामिलामा विनीता निक्कै भाग्यमानी । सासूससुरा र श्रीमानको सहयोगका कारण उनले अध्ययन गरेको कला छोड्नु परेन, बरु व्यवसायमा लाग्ने प्रेरणा मिल्यो । 

‘कला मैसँग थियो, आवश्यक थियो केबल माध्यमको,’ उनी भन्छिन्, ‘माटोमा लागेपछि म एडिक्टेड नै भएँ, वर्कशप सकेर घर फर्केपछि माटोमै समय बिताउन थालेँ ।’
कुमाल समुदायमा सीमित माटोको व्यवसायमा समस्या रहेको उनी सुनाउँछिन् ।

उनीहरू निकै क्षमतावान् तर, काम गर्ने ढर्रा पुरानै । माटोको गुणस्तर र डिजाइन विकसित भइसकेको थिएन । अरूले देखाएको बाटोभन्दा पहिचानयुक्त र नयाँ विषयमा केही गर्ने हुटहुटीले माटोलाई कलाको माध्यम बनाएको उनले सुनाइन् । 

यसै क्रममा उनले भक्तपुर, सानोठिमीका कुमालहरूलाई आश्वस्त पारेर आफ्नै छातामुनि ल्याइन् । अनि थालिन्– माटोको डिजाइन गर्न, गुणस्तर सुधार्न र त्यसलाई आवश्यक पर्ने सामग्रीको जोहो गर्न । 
त्यसबेला कुमालहरूले माटोका क्राफ्टलाई नयाँ ढंगबाट लैजाने योजना सुनाउँदा हामी सक्दैनौं भन्थे । तैपनि सानोठिमीकी लक्ष्मी प्रजापति र अन्य केही महिलाले साथ दिए । उनीहरूको मौलिक शीपलाई कलाको माध्यमबाट अन्तरराष्ट्रियस्तरमा लैजाने विनीताको योजना थियो । आकर्षक सामग्री बनाउन नेपालको माटो उपयुक्त भने नभएको उनको भोगाइ छ । 

‘माध्यम नेपाली माटो, डिजाइन र सृजनशीलता आफ्नै तथा रङ बेलायतबाट मगाउँछु भनेर योजना बनाएँ,’ उनले विगत सम्झिइन्, ‘तर पनि बिजनेश गर्ने सोच थिएन, सासूआमाको सहयोगमा घरको छुट्टै कोठामा माटोका प्लेट, टी कपजस्ता सामग्री बनाएर राख्न थालेँ ।’ 

शोखका लागि बनाएका भाँडाकुँडा घरमा आएका पाहुनाले लैजान्थे । त्यतिबेलासम्म उत्पादनको मूल्य राख्न नसकेको उनको भनाइ छ । सरकार, दरबारका मानिसको आउजाउ हुने उनको घरमा मात्रै सामान राखेर भएन भनेर श्रीमानको सहयोगमा ललितपुरको कुपण्डोलमा आउटलेट खोलिन् ।

त्यो आउटलेट उनको व्यावसायिक यात्राको पहिलो कदम थियो । माटोका आकर्षक सामग्री बनाउने समूह नै भए पनि विक्री गर्ने ढंग छैन भन्ने लागेर दुई जना कर्मचारी राखेको उनले सुनाइन् । 

हिमालय होटेलनजिक आउटलेट भएकाले ग्राहक विदेशी हुन्थे । सोल्टी होटेलमा बसेका विदेशी पनि सामान किन्न उनको आउटलेट पुग्थे । भर्खर खुलेका टेलिभिजन पनि डेकोरेशनका लागि उनकैमा आउँथे । 

त्यतिबेला उनले ५० हजार रुपैयाँ लगानी गरेकी थिइन् । विक्री राम्रो भएपछि क्ले क्राफ्टमा स्थापित हुन उनलाई गाह्रो भएन । 

अन्य व्यवसायीको भन्दा उनको उत्पादन महँगो हुन्थ्यो । यसको कारण कला, डिजाइन, रङ र राम्रो गुणस्तर हो । ‘आजभन्दा २३ वर्षअघि १ दिनमै लाख रुपैयाँसम्मको सामान बेचेँ,’ उनी उत्साहित देखिन्छिन्, ‘अहिले आश्चर्य लाग्छ, त्यतिबेला माटोका भाँडाको क्रेज निकै थियो ।’

त्यसपछि उनी आउटलेट विस्तार गर्दै भाटभटेनी, ब्लुबर्ड होटेल जस्ता ठाउँमा पुगिन् । ‘मैले माटोमा गुणस्तर र क्रिएटिभिटी दिँदा अरू कुमाल पनि प्रभावित भए,’ उनी भन्छिन्, ‘माटोबाट राम्रै कमाउन सकिने रहेछ भन्ने विश्वास भयो ।’ 

त्यसपछि नेपालमा माटोमा क्रान्ति नै भएको उनको बुझाइ छ । यो हाम्रो लागि एकदमै राम्रो पेशा हुन सक्छ भन्ने विश्वासको जग चाहिँ त्यही बेला बसेको उनले बताइन् । 

अहिले आर्टमार्फत नेपाली माटो विक्री भएको छ । ‘माटो मूल्यवान वस्तु हो,’ उनी भन्छिन्, ‘यसलाई उपयोग गर्न जान्नुपर्छ ।’ उनले नेपालकै जोनसन रिसोर्टलाई १४ हजार पिस सामग्री बेचेको जानकारी दिइन् । 

सृजनशीलता, डिजाइन र गुणस्तरले उच्च आयवर्गका ग्राहक तान्यो । याक एन्ड यती, हायात जस्ता पाँचतारे होटेल, राजदूतावास हुँदै राजदरबारसम्म क्ले एन्ड क्राफ्टका सामग्री पुगे । 

तर, मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वले क्ले एन्ड क्राफ्टलाई धराशयी बनायो । विदेशी आउन छाडे, होटेलहरू राम्ररी चल्न सकेनन्, उनले बनाउने माटोका सामग्रीको माग घट्यो । 

ग्राहक नपाएर उत्पादन घटाए पनि उनी कहिलेकहीँ शोखका लागि क्ले क्राफ्ट बनाउने गर्छिन् । ‘द्वन्द्वले गर्दा क्ले छोडेँ र त्यससँगै सिकेको साडी डिजाइन तथा उत्पादन बढाएँ,’ उनले भनिन् । 
अहिले हातले बनाएका सिल्क साडी व्यवसायबाट उनी सन्तुष्ट छिन् । ‘मेरो गुरुमन्त्र नै ग्राहकलाई उच्च गुणस्तरका वस्तु विक्री गर्नु हो । गुणस्तरीय हुनुपर्छ, जति महँगो भए पनि माग हुन्छ ।’ 

कला र सृजनशीलतालाई उनले माटोमा मात्रै सीमित नराखेर सिल्क साडी, ज्वेलरीसम्म पुर्‍याइन् । उनी गरगहना डिजाइन पनि गर्छिन् ।

कोभिड–१९ का कारण व्यवसाय र लगानी विस्तार गर्ने आँट भने गर्न नसकेको उनले सुनाइन् । क्ले एन्ड क्राफ्टमा फर्किन र साडी उत्पादन बढाउन अझै १ वर्ष कुर्ने मनस्थितिमा छिन् । ‘त्यसपछि व्यवसाय विस्तार गर्ने योजना छ,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)