ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको अभावपछि गरगहनाको अर्डर लिन छाडे व्यवसायीले 

२०७९ बैशाख, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar प्रतिक्षा कडेल

वैशाख १४, काठामाडौ । सुनको अभाव भएपछि व्यवसायीले नयाँ गरगहनाका लागि अर्डर लिन छाडेका छन् ।

बैंकहरुले बिलासी वस्तुका रुपमा रहेको सुनको प्रतितपत्र(एलसी) खोल्न बन्द गरेपछि बजारमा यतिबेला सुनको अभाव छ । दैनिक २० केजीसम्मको कोटा रहेको सुन आयातमा गत चैत महीनाको मध्यबाट १० केजीमा झारिएको थियो ।

हाल त्यो पनि पूर्णरुपमा बन्द रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सुनको आयात रोकिंदा हजारौं कालिगढ र व्यवसायीको दैनिकीमै असर परेको बताए । वाणिज्य बैंकहरुले पालैपालो सुन आयात गरेर व्यवसायीलाई दिंदै आएका थिए । सुन आयातका लागि वाणिज्य बैंकहरुलाई मात्रै अधिकार दिइएको छ । 

‘अहिले बजारमा सुन छैन, केही व्यवसायीले भएका गरगहना बेचिरहेका छन्, तर नयाँ डिजाइनमा भनेजति गरगहना दिन सक्ने अवस्था छैन’ , उनले भने,  ‘त्यसैले अहिले धेरैजसो व्यवसायीले अर्डर लिनै छाडे ।’

अहिले बिहेको सिजन भएकाले सुनका गरगहनाको पर्याप्त अर्डर आए पनि लिन नसकिएको उनले बताए । यस्तो बेला आपूर्ति नै ठप्प हुँदा अवैधानिक रुपमा आयात हुन सक्ने, कालोबजारी मौलाउने र त्यसले झनै जोखिम बढाउने व्यवसायीको भनाइ छ ।

‘केही दिनसम्मका लागि त दैनिक ५० केजी केजी सुन चाहिने अवस्था छ’, शाक्यले भने । बिहे, ब्रतबन्ध तथा अन्य चाडपर्वका लागि समेत सुनको महत्व रहेको भन्दै शाक्यले तत्काल यसको एलसी खोल्नुपर्ने सुझाव दिए । अहिले कसैले सुनका पुराना गहना ल्याएर नयाँ डिजाइनमा बनाउन दिएमा भने त्यो कार्य गर्न भने सकिने उनले बताए । 

यसअघि सुनचाँदी क्षेत्रका तीन ओटा महासंघ सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघले संयुक्त बैठक बसेर सीमित मात्रामा भए पनि सुनको आयात गर्नुपर्ने र त्यसका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको थियो ।

 विदेसिएका व्यक्तिहरुले ल्याउने सुनले पनि केही माग धान्ने गरेको छ । विदेशबाट फर्कदा एक व्यक्तिले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ । यो व्यवस्थाकै कारण विदेशबाट फर्केका कतिपयले सामान्य तोडमोड गरी सुनका गहना ल्याउने गर्छन् । 

सुन मुलुकमा आयात हुने उच्च मूल्यको वस्तुको सूचीमा टप टेनभित्र पर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको ८ महीना अर्थात् साउनदेखि फागुन मसान्तसम्म ३२ अर्ब ६७ करोड रुपैयाँको सुन आयात भएको छ । उच्च आयात हुने वस्तुमा सुन नवौं स्थानमा पर्दछ । त्यस्तै कुल आयातमा सुनको हिस्सा २ दशमलव ५ प्रतिशत छ ।

सुनको आयात गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेपछि सुनचाँदी, सवारीसाधन जस्ता बिलासी वस्तुको आयातमा सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)