ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ दिननै धितोपत्र कारोबार गर्न पाउनुपर्ने लगानीकर्ताको माग, सरोकारवाला निकायहरुद्वारा गृहकार्य शुुरु

२०७९ बैशाख, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

वैशाख १५, काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरुले जेठदेखि पनि पाँच दिननै बजार खुला गर्नुपर्ने माग गरेका छन् । 

सरकारले अगामी जेठदेखि लागू हुने गरी आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै लगानीकर्ताहरु चार दिनमात्र बजार खुल्ने हो कि भन्ने चिन्तामा परेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले आगामी दिनमा पनि लगानीकर्ताहरुले पाँच कारोबार दिननै पूर्ण रुपमा कारोबार गर्न पाउनुपर्ने माग गरेका हुन् ।

‘साताको पाँच कारोबार दिनमात्रै खुल्दै आएको बजार ६ दिन खुला गर्नुपर्ने माग हामीले यस अघिनै उठाएका थियौं’, उनले भने, ‘अव सरकारले आइतवार सार्वजनिक विदा दिने भएपछि शुक्रवार बजार खुला गर्नुको विकल्प रहेन ।’ 

आइतवार सार्वजनिक विदा हुने भएपछि शुक्रवार बजार खुला गर्नुपर्छ भन्ने माग शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलको पनि रहेको छ । धितोपत्र बजारलाईनै आफ्नो रोजगारीको क्षेत्र बनाएका आफु जस्ता लगानीकर्ताहरुको हितका लागि सरोकारवाला निकायले पाँच कारोबारदिनलाई निरन्तरता दिने गरी काम अघि बढाउनुपर्ने सुझाब उनले दिएका छन् ।

करीब ३४ खर्ब रुपैयाा पूँजीकरण भएको धितोपत्र दोस्रो बजार र यस क्षेत्रका लगानीकर्ताहरुको मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायहरुले आगामी दिनमा आवश्यक निर्णय गर्नेमा उनि विश्वस्त रहेका छन् । हाल धितोपत्र दोस्रो बजार आइतवारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सार्वजनिक विदाको दिन भने बजार बन्द हुने गरेको छ ।
पाँच दिननै कारोबार खुला गर्न गृहकार्य शुरू
जेठ महिनादेखि आइतवार पनि सार्वजनिक विदा हुने भएपछि पाँच कारोबार दिननै बजार सञ्चालन गराउने गृहकार्यमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज जुटेका छन् । बुधवार सरकारको उक्त निर्णय सार्वजनिक भएसँगै पाँच कारोबार दिननै बजार सञ्चालन गर्न गृहकार्य शुरू गरेको बोर्डका अध्यक्ष रमेश कुमार हमालले जानकारी दिए ।

बोर्डले पूँजीबजारको समस्याका विषयमा सहजीकरणका लागि छुट्टै कार्यदल गठन गरी काम गरिरहेको छ । आगामी दिनमा पाँच कारोबार दिननै बजार खुला गर्ने गरी आवश्यक काम गर्न उक्त कार्यदललार्ई जिम्मेवारी दिईसकेको भनाइ हमालको छ ।

उक्त कार्यदलले तयार गरेको प्रतिवेदन बोर्डको सञ्चालक समितिबाट स्वीकृति गराई अबको दुई चार दिनभित्रै आवश्यक निर्णय सार्वजनिक गर्ने प्रतिवद्धता समेत हमालले गरे । पूँजीबजारको हालको कारोबार दिनलाई बढाउँनुपर्ने माग आईरहेको अवस्थामा घटाउँने मनसाय नभएको बोर्डका अध्यक्ष हमालले प्रष्ट पारेका छन् ।
राफसाफका लागि कुनै समस्या हुँदैन : सिडिएससी 
आगामी दिनमा शुक्रवार बजार सञ्चालन भए पनि राफसाफका लागि कुनै समस्या नहुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भनाइ छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हाल टि प्लस टु को व्यवस्था अनुसार शुक्रवारको कारोबार राफसाफ सोमवार गर्न सकिने भएकाले कुनै समस्या नुहुने बताए ।

उनले पनि शुक्रवार बजार खुला गरी हालको पाँच कारोबार दिनकै व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यो व्यवस्थाको निरन्तरताले लगानीकर्ताहरुको मात्र हैन सरकारको समेत हित हुने भनाइ आचार्यको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)