बैशाख २०, काठमाडौं। प्रशान्त ढकाल (नाम परिवर्तित) नाम गरेको व्यक्ति नेपालमा बस्छन् । तर उनले यही बसेर अमेरिकामा रहेको कम्पनीका लागि काम गर्छन् । यतैबाट गएका नेपालीहरुले खोलेको उक्त कम्पनीका लागि उनले मासिक रुपमा वेबपेज डिजाइनिङसम्बन्धी काम गरेर पठाउँछन् । सोबापतको तलब भुक्तानी भने उनले ती कम्पनी सञ्चालकहरुको नेपालमै रहेको आफन्त वा ती व्यक्तिहरुको खाताबाट लिन्छन् ।
भूमिका आचार्य (नाम परिवर्तित) गरेकी विद्यार्थी अहिले बेलायतमा पढिरहेकी छिन् । उनलाई आफूले पार्ट टाइम काम गरेर कमाएको पैसा अध्ययन अध्यापन र दैनिक आवश्यकतामा खर्च गर्छिन् । उब्रिएको पैसा बेलायतमै रहेका आफन्त वा साथीभाईलाई दिन्छिन् । ती आफन्तहरु नेपाल आएर सो बराबरको नेपाली रुपयाँ बुबाआमाको हातमा राखिदिन्छिन् ।
विश्वास कोइराला (नाम परिवर्तन) पेशाले शिक्षक हुन् । उनी फ्रिल्यान्सर हुन् । उनी जापानी, अंग्रेजीलगायत भाषा अनुवादकको काम गर्छन् । उनले यहाँ बसेर जापान, बेलायत र अमेरिकामा रहेका नेपालीहरुलाई अनुवाद सेवा दिँदै आएका छन् । नियमित रुपमा उनले गर्ने यो कामको भुक्तानी चाँहि उनले भूमिगत बैंकिङ, हुन्डी लगायत अनौपचारिक माध्यमबाट लिन्छन् ।
नेपालमा यस्तो खालको गतिविधिमा संलग्न भएका मानिसहरुको संख्या १० हजार भन्दा धेरै रहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाल बताउछन् ।
यो सूचिमा नेपालमा रहेर नाम चलेका विदेशी कम्पनीमा काम गरेर अनौपचारिक माध्यमबाट भुक्तानी लिनेहरुको नाम आउँछ । नेपालबाटै विदेशमा भएकाहरुलाई कानूनी परामर्श लगायत अन्य विविध सेवा सुविधा दिने तर सोको भुक्तानी सम्बन्धित देशमा रहेका छोराछोरीको खातामा गराउने, अनौपचारिक माध्यमको प्रयोग गर्ने वा नेपालमै भएको खाताबाट भुक्तानी लिने लगायत प्रवृत्ति पछिल्लो समय बढेको छ ।
नेपालमा यस्तो खालको गतिविधिमा संलग्न भएका मानिसहरुको संख्या १० हजार भन्दा धेरै रहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाल बताउछन् ।
तर, उनीहरुको तलव भने औपचारिक माध्यमबाट नभएर हुन्डी जस्ता अनौपचारिक माध्यमबाट आउने गरेको उनको भनाइ छ । परिसंघले केही समयअघि काठमाडौंमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका थिए ।
‘१० हजार भन्दा बढी नेपालीले नेपालमै बसेर विदेशी कम्पनीहरुको आउट सोर्सिङ काम गरेका छन् । तर, त्यसबापतको पैसा भने अनौपचारिक माध्यमबाट आउने गरेको छ,’ उक्त कार्यक्रममा उनले भनेका थिए, ‘यदि, त्यस्तो आम्दानीलाई औपचारिक माध्यमबाट ल्याउन सक्ने व्यवस्था गरियो भने विदेशी मुद्राको आम्दानी पनि बढ्छ । अहिले विदेशी मुद्रा सञ्चिती घटेको बेला सरकारले यस विषयमा पनि ध्यान दिन आवश्यक छ ।’
आउट सोर्सिङमा काम गर्ने नेपालीहरूले न्युनतम २० देखि ३० हजार रुपैयाँ र अधिकतम २ देखि ३ लाख रुपैयाँसम्म मासिक कमाइरहेको पाइन्छ ।
सामान्य रुपमा हेर्दा यो एउटा व्यक्तिले काम गरेर सो बापत लिएको भुक्तानी हो । यसमा असामान्य मान्नु पर्ने केही छैन । तर यस्ता गतिविधिका कारण राज्यमा भित्रिन सक्ने डलर, पाउन्ड, येन, युआन आदि विदेशी मुद्रा अनौपचारिक माध्यमबाट नेपाली रुपयाँको रुपमा व्यक्तिको खातामा आइरहेको छ । व्यक्ति धनी हुँदै गइरहेको छ । तर राज्यसँग भने अन्य देशहरुसँग वस्तु वा सेवा व्यापारबापत भुक्तानीका लागि चाहिने विदेशी विनिमय सञ्चित सुक्दै गइरहेको छ ।
आउट सोर्सिङमा काम गर्ने नेपालीहरूले न्युनतम २० देखि ३० हजार रुपैयाँ र अधिकतम २ देखि ३ लाख रुपैयाँसम्म मासिक कमाइरहेको पाइन्छ । एउटा व्यक्तिको औषत ५०० डलर मात्रै कमाइ मान्ने हो भने पनि महिनाको ५० औं लाख डलर वैकल्पिक माध्यमबाट नेपाल भित्रिरहेको अनुमान गर्न सकिन्छ ।
विप्रेषण पठाउँदा र प्राप्त गर्दा लाग्ने शुल्क
विप्रेषण पठाउँदा प्रेषकले आफू भएको देशमा तिर्नु पर्ने शुल्क महँगो हुन्छ । वेष्टर्न युनियनको शुल्क २ दशमलव २५ प्रतिशत छ । कम्पनी हेरिहेरि यो शुल्क ५ प्रतिशतसम्म पनि छ । अनि नेपालमा पनि प्रापकले पाएको रकममा निश्चित कमिशन लाग्छ । यी शुल्क र कमिशन तिर्नबाट बच्न अधिकांशले अनौपचारिक माध्यम अपनाउने गरेको पाइएको छ ।
नेपालमा विदेशी मुद्रामा खाता खोल्न कुनै पनि झन्जट छैन । जसरी अहिले नेपाली मुद्रामा खाता खोल्छौं, त्यसैगरी विदेशी मुद्रामा पनि खाता खोल्न सक्छौं ।
सरकारले यस्तो शुल्क घटाउने वा खारेज गर्ने हो भने विप्रेषण आप्रवाहमा वृद्धि हुन सक्ने जानकारहरु बताउँछन् । केहीले भने नेपालमा आफू शुल्क तिर्न तयार नै भएपनि प्रेषकले शुल्क बचाउन खोज्ने भएकोले यसरी छलेर आफूले गरेको कामको भुक्तानी लिने गरेका छन् ।
विदेशी मुद्रामा खाता खोल्न झन्झट छ ?
'नेपालमा विदेशी मुद्रामा खाता खोल्न कुनै पनि झन्जट छैन । जसरी अहिले नेपाली मुद्रामा खाता खोल्छौं, त्यसैगरी विदेशी मुद्रामा पनि खाता खोल्न सक्छौं ।' एक बैंकरले आर्थिक अभियानलाई भने, 'डलर खाता खोल्दा डलर आम्दानी हुने एउटा अतिरिक्त प्रमाण मात्रै पेश गरे पुग्छ ।'
विदेश भ्रमणमा जाने नेपालीले पनि सजिलै डलर खाता खोल्न सक्छन् । भ्रमणबाट बचेको रकम डलर खातामै जम्मा गर्न पनि सक्छन् ।
तर कम्पनीले डलर खाता खोल्दा भने थप प्रक्रिया पुरा गर्नुपर्ने ती बैंकरले बताए । कम्पनीको हकमा थप केवाईसी भर्नुपर्छ । कम्पनी दर्ता, कर चुक्ता लगायतका काजगपत्र बैंकले खोज्न सक्छ ।
डलर खाताका कारण नभइ काम लगाउने कम्पनीले आफ्नो खर्च बचाउन वा नेपालको झन्जटिलो प्रक्रिया पुरा गर्न डराएर आउट सोर्सीङ गर्नेहरूको भुक्तानी वैकल्पिक माध्यमबाट पठाउने गरेको हुन सक्ने ती बैंकरले बताए ।
आउट सोर्सीङमा काम गर्नेहरूको भुक्तानी डलरमै ल्याउने विषयमा राष्ट्र बैंकको तयारी के छ भन्ने प्रश्नमा राष्ट्र बैंकका अधिकारीहरू भने प्रतिक्रिया दिनबाट पन्छिने गरेका छन् । तर यसरी अनौपचारिक रुपमा भुक्तानी लिनु गैर कानूनी भएको राष्ट्र बैंकको भनाई छ ।
‘नेपालमा अहिले विदेशका लागि फ्रिलान्सिङ गर्नेहरु प्रशस्तै छन् । यीमध्ये औपचारिक रुपमा गर्ने धेरैको बिल गएर बैंकमै भुक्तानी आउँछन् । अनौपचारिक रुपमा काम गर्ने अधिकांशको भुक्तानी इष्टमित्र, साथीभाईको माध्यमबाट गर्ने प्रवृत्ति धेरै छ । यसले एक प्रकारको हुन्डीको रुप धारण गरेको देखिएको छ,’ ह्युमान रिसोर्सेज सोसाइटीका अध्यक्ष मोहन ओझा भन्छन् ।
राज्यसँग विदेशी मुद्रा अभाव बढ्दै गएको अवस्थामा यसरी अनौपचारिक रुपमा काम गर्नेहरुलाई नियमन गर्ने हो भने विदेशी विनिमिय सञ्चति बढ्न सक्ने देखिएको छ ।
व्यक्तिले कति कमाउँछ अनि कति कर तिर्छ भन्ने रेकड राख्ने प्रणाली छैन । यस्तो खालको प्रमाणीकरण प्रणाली हुने हो अनि आफ्नो कमाई स्वघोषणा गर्दैै कर तिर्नेहरुलाई प्रोत्साहन दिने हो भने यस्तो खालको समस्या नआउने बताउँछन् अर्थशास्त्री सोम लुँइटेल ।
‘कर तिर्नेहरुलाई प्रोत्साहन गर्ने, सहुलियत दिने खालको नीति ल्याउने हो भने पनि यो समस्या हट्छ,’ उनले भनेका छन् । कतिपयलाई यसरी भुक्तानी लिँदा राज्यलाई हुन सक्ने क्षतिबारे सचेतता नभएको पनि देखिएको छ । कर तिरेपनि हुने नतिरे पनि हुने खालको वातावरण, विदेशी मुद्रामा खाता खोल्न झन्झट आदिका कारण पनि यस्तो खालको प्रवृत्ति बढेको छ ।
देश टाट पल्टिएको अवस्थामा जनता÷व्यक्ति जति नै धनी भएपनि केही नलाग्ने रहेछ भनेर श्रीलंककाको पछिल्लो अवस्थाले छर्लङ्ग बनाएको छ । गरिब जनताले पैसा भएर पनि दैनिक उपभोग्य सामान किन्न सकेका छैन । आवश्यक सामाग्री आयात गर्न राज्यसँग विदेशी मुद्रा नभएपछि धनीहरुसँगको पैसा बेमोल भएको छ । नेपालीहरुको खातामा पछिल्लो समय पैसा छ ।
तर राज्यसँग आयातका लागि आवश्यक विदेशी मुद्रा अभाव बढ्दै गएको अवस्थामा यसरी अनौपचारिक रुपमा काम गर्नेहरुलाई पनि निश्चित प्रणालीमा आबद्ध वा नियमन गर्ने हो भने राज्यको ढुकुटीमा विदेशी विनिमिय सञ्चति बढ्ने देखिएको छ ।
यसरी आउने पैसालाई पनि औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहन दिने, विप्रेषणको स्वरुपमा आउने रकममा शुल्क कटौती वा राज्यले नै बेहोरिदिने, विदेशी मुद्रामा खाता खोल्ने प्रक्रिया सरल बनाइदिने, यस्तो खालको आम्दानीको नियमन आदि गर्ने हो भने पनि अहिले राज्यको ढुकुटीमा केही भएपनि विदेशी विनिमय सञ्चिति बढ्न सक्छ ।
Asakxam nrb governer.