ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावी एजेन्डाबारे के भन्छन् वीरगञ्ज र विराटनगर महानगरका मेयरका उम्मेदवार ?

२०७९ बैशाख, २६  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल author avatar वेदराज पौडेल

आर्थिक, औद्योगिक तथा व्यापारिक शहरका रूपमा रहेका वीरगञ्ज महानगरपालिका र विराटनगर महानगरपालिकाको चुनावलाई यस क्षेत्रका आम नागरिक, उद्योगी व्यवसायी र अन्य सरोकारवालाले विशेष रूपमा लिएका छन् । निर्वाचनको दिन नजिकिँदै गर्दा यी दुई महानगरको प्रमुख पदका मुख्य प्रतिस्पर्धीहरू तीव्र तयारीमा छन् । प्रस्तुत छ, उनीहरूका चुनावी एजेन्डा, योजना लगायत विषयमा आर्थिक अभियानका ओमप्रकाश खनाल (वीरगञ्ज) र वेदराज पौडेल (विराटनगर) ले गरेको कुराकानीको सार :

ग्रेटर विकासको योजना अगाडि बढाउने छु  


विजयकुमार सरावगी

वीरगञ्ज महानगर प्रमुखका उम्मेदवार, नेकपा एमाले
वीरगञ्जको विकासको बाटो तयार भएको छ । अब वीरगञ्जको विकासलाई त्यो बाटोमा द्रुत गतिमा दौडाउन मेरो अनुभवले काम गर्छ । म समृद्ध वीरगञ्ज निर्माणको योजना र दृष्टिकोणका साथ पुनः मेयरमा उठेको छु । मैले यसअघिको चुनावताका गरेका चुनावी प्रतिबद्धतामध्ये ९० प्रतिशत पूरा भएका छन् । केही योजना पूरा हुने क्रममा छन् । हामी आगामी योजनामा जानुअघि अहिलेसम्ममा के काम भए यसका आधारमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने मार्ग सहज हुन्छ । यसअघि महानगरमा जाँदा महानगर ऋणमा डुबेर जर्जर अवस्थामा थियो । विकासका योजना अवरुद्ध भएका थिए । सबै योजनालाई गति दिएर गन्तव्यमा पु¥यायौं । केही समय त यसलाई बुभ्mनै लाग्यो । 
स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानूनी आधार बनाउने काम भयो । ६२ ओटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका तयार भएका छन् । महानगर ३६ करोड रुपैयाँ ऋणमा थियो भने वार्षिक आय १७ करोड रुपैयाँमात्र थियो । एशियाली विकास बैंकको योजनाको समपूरक रकम तिर्न नसक्दा योजना नै फिर्ता जाने स्थिति थियो । त्यो समयमा वीरगञ्जमा उल्लेख्य काम भएका छन् । त्यसैगरी फोहोरमैला व्यवस्थापनको काममा ठूलो उपलब्धि भएको छ । अहिले ल्यान्डफिल साइटमा महानगरको फोहोर व्यवस्थापन भइरहेको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि ‘ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट प्लान्ट’ सञ्चालनमा ल्याएका छौं । २०० किलोमीटर कालोपत्रसहित ढलान र ग्राभेल सडक निर्माण गरेका छौं । शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा उल्लेख्य काम भए । कोरोना महामारी नियन्त्रणमा नमूना काम गर्न सफल भयौं । 
बितेको कार्यकालमा मैले स्थानीय सरकार सञ्चालनबारे बुझेँ र अनुभव प्राप्त गरेँ । त्यसलाई वीरगञ्जको विकास र समृद्धिको महाअभियानमा लगाउने योजना छ । हामी विकास र समृद्धिको राजनीतिमा विश्वास राख्दछौं । हामीले आगामी ५ वर्षका लागि गर्ने कामहरूको प्राथमिकीकरणसहितको प्रतिबद्धता सार्वजनिक गरिसकेका छौं । अहिलेका योजनाहरूको निरन्तरताका साथै युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर नयाँ योजना ल्याइनेछ । 
शिक्षा क्षेत्र सुधारलाई निरन्तरता दिनेछौं । वीरगञ्ज शहरको सौन्दर्यीकरण र वातावरण संरक्षण, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, करदातामैत्री कर नीति, विकासमा समुदाय र निजीक्षेत्रको साझेदारीजस्ता योजना कार्यान्वयनमा ल्याइनेछ । वीरगञ्जलाई व्यवस्थित शहरको रूपमा विकास गर्न नयाँ वीरगञ्जको योजना कार्यान्वयनमा ल्याउनेछौं । यसका लागि वीरगञ्जको आईसीपी र ड्राइपोर्टबीचको जग्गा जोडेर नयाँ बस्ती विकासको योजना ल्याइनेछ । 
यातायात व्यवस्थापनका लागि ट्रान्सपोर्ट नगरको काम हुनेछ । वीरगञ्जलाई पूर्ण साक्षर बनाइनेछ । कृषि र सहकारीका माध्यमबाट घरघरमा रोजगारीको वातावरण बनाइने छ । आगामी दिनमा स्वास्थ्य र सरसफाइलाई थप प्रभावकारी बनाउने योजना छ । सुशासन प्रशासनको प्रमुख आधार हुनेछ । पर्यटन प्रवर्द्धनका योजना ल्याउने छौं । एडीबीसँगको सहकार्यमा वीरगञ्ज र आसपासको क्षेत्रलाई समेटेर ग्रेटर विकासको योजना अगाडि बढाउनेछु । 

सुशासनलाई प्रशासन र सेवा प्रवाहको मूल मन्त्र बनाउँछु 


राजेशमान सिंह
वीरगञ्ज महानगर प्रमुखका उम्मेदवार, जनता समाजवादी पार्टी
महानगरमा भइरहेको भ्रष्टाचार निर्मूल पार्दै सुशासनलाई प्रशासन तथा सेवा प्रवाहको मूलमन्त्र बनाइनेछ । यसका लागि भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै नगरका बासिन्दालाई छिटोछरितो सेवा प्रदान गरिनेछ । अनावश्यक प्रशासनिक खर्च कटौती गरी विकास बजेट बढाउनेछौं । महानगरका बासिन्दा र व्यवसायीमाथि थुपारिएको करको बोझ हटाउनेछौं । 
शहरको फोहोरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रण गर्न एकमहीने ‘सरसफाइ घरदैलो अभियान’ चलाइनेछ । अहिले लगाइएको सरसफाइ शुल्क खारेज गरिनेछ । शहर हरियालीमय बनाउन वृक्षरोपण, शहरी वन कार्यक्रम र निजी वनलाई प्रवर्द्र्धन गर्ने योजना ल्याउनेछांै । शिक्षाको अवस्थामा सुधारका लागि सबैका लागि सुलभ शिक्षाको व्यवस्था मिलाउनेछौं । सरकारी विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि, शिक्षकलाई तालीम र विद्यार्थीलाई नैतिक शिक्षा दिइनेछ । महानगरका मावि तथा उच्च माविमा प्राविधिक शिक्षामा जोड दिँदै पूर्ण प्राविधिक विद्यालय स्थापनाको योजना ल्याउनेछौं ।
प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी स्थापना हुनेछ । हामीले जितेर आएपछि सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका औषधिको लाभ लिन जनचेतना कार्यक्रम सञ्चालन गर्नेछौं । सस्तो र गुणस्तरीय सरकारी स्वास्थ्य सेवाका लागि नारायणी अस्पतालमा जनशक्ति, उपकरण तथा पूर्वाधार विकासमा सहयोग गर्नेछौं । सुलभ दरको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबैलाई प्रेरित गर्ने योजना बनाएका छौं । गरीब तथा विपन्न नागरिकका लागि महानगरले निःशुल्क स्वास्थ्य बीमा गर्नेछ । वीरगञ्जलाई मेडिकल हबको रूपमा विकास गर्ने उद्देश्य राखिनेछ । 
पूर्वाधार विकास तथा पर्यटनतर्फ चक्रपथ निर्माण गरी वीरगञ्जको ३२ ओटै वडालाई सडक सञ्जालमा जोड्नेछौं । जीर्ण सडकको स्तरोन्नति तथा नयाँ सडक निर्माण गरिनेछ । घण्टाघर चोकमा ट्राफिक व्यवस्थापन गर्न ओभर ब्रिज निर्माण गरिनेछ भने नेपालमै नमूना हुनेगरी व्यवस्थित गोदाम, पार्किङ र अन्य सुविधासहित ट्रान्सपोर्ट नगर स्थापनालाई मुख्य योजनामै राखेका छौं । वीरगञ्ज उद्योग वाणिज्य संघ र सरोकारवालाको समन्वयमा औद्योगिक भ्रमण सर्किट बनाई वीरगञ्जमा औद्योगिक पर्यटन प्रवद्र्धन गरिनेछ ।
ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त बनाउन योजनाहरू तय गरी लागू गरिनेछ । निर्माणाधीन धार्मिक तथा सांस्कृतिक स्थलको भौतिक संरचनाको निर्माण समयमै पूरा गरिनेछ । भारतीय सीमावर्ती शहर रक्सौलसँग सहकार्य गरी वीरगञ्जलाई मैत्री शहरको रूपमा विकास गरिने योजना छ । युवा, उद्योग एवं रोजगारीलाई प्राथमिकतामा राखिनेछ । औद्योगिक विकासका लागि सरोकारवालाको साझा कार्यदल बनाई काम गरिनेछ । 
रोजगारी र जनशक्तिको बीचमा तालमेल बनाई रोजगारीमा वृद्धिका कार्यक्रम लागू गरिनेछ । रोजगारमूलक शीप विकासका लागि प्राविधिक तालीम केन्द्रको स्थापना गरिनेछ । व्यावसायिक क्षेत्रमा देखिने समस्या समाधान गर्न विशेष संयन्त्र बनाइनेछ । कृषियोग्य जग्गामा मालपोतबाहेकको कर हटाइनेछ । सूचना प्रविधि, खेलकुदलगायत क्षेत्रको विकासका योजना ल्याउनेछौं । 

वीरगञ्जको सम्भाव्यता र आवश्यकताका योजना ल्याउँछु 


गिरीश गिरी
वीरगञ्ज महानगर प्रमुखका उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी
धरातलीय आवश्यकतालाई केन्द्रमा राखेर वीरगञ्जको आवश्यकता के हो, यसको धरातल के हो, यहाँको सम्भावना के हो भन्ने यथार्थमा आधारित योजना अघि बढाउँछु । नगरका बासिन्दालाई करको भारी बोकाएर मात्र हुँदैन । उनीहरूलाई सेवा प्रवाहको प्रत्याभूति पनि दिन सक्नुपर्दछ । वीरगञ्जका बासिन्दालाई यसको अनुभूति हुनेगरी काम गर्नेछु । 
वीरगञ्ज आर्थिक र औद्योगिक सम्भावना भएको शहर हो । यहाँ उद्योग र व्यापारको राम्रो सम्भावना छ । यहाँका उद्यम, व्यापार प्रवद्र्धन हुने खालका कार्यक्रम ल्याउनेछु । पूँजी निर्माण र रोजगारीका अवसरको सृजना गरी स्थानीयको आयआर्जनका सुधारका कार्यक्रम ल्याउनेछु । म राजनीतिमा नयाँ जोश र जाँगरका साथ आएको छु । वीरगञ्जलाई विकास गर्ने मसँग नयाँ योजना छन् । सृजनशील सोच र शैलीका साथ विकासलाई अघि बढाउनेछु । यसमा वीरगञ्जका मतदाताले मलाई साथ दिने विश्वास लिएको छु ।
महानगरपालिकाको विकास मोडेल हचुवामा होइन, आवश्यकताका आधारमा तयार हुनुपर्दछ । यसका लागि कसरी बढीभन्दा बढी प्रभावकारी योजना ल्याउन सकिन्छ भनेर विज्ञहरूको समूह नै बनाएर काम गर्ने सोच छ । उद्योग व्यापार फस्टाउने वातावरण बनाउनेछु । उद्योगी व्यापारीलाई करको भारीले थिच्ने होइन, आयआर्जनको वातावरण बनाएर विकासमा रूपान्तरण गर्नेछु । वीरगञ्ज क्षेत्रमा कसरी बढीभन्दा बढी लगानी ल्याउन सकिन्छ, यसमा काम गर्नेछु । 
वीरगञ्ज आर्थिक राजधानी हो । त्यसैले यहाँका योजना त्यही आधारमा अघि बढ्नुपर्दछ । महानगरको मेयरको दृष्टिकोण पूँजीको प्रवद्र्धनका केन्द्रित हुनु पर्दछ । यहाँको कृषिलाई पनि उद्योगसँग जोड्नुपर्दछ । किसानका लागि आधुनिक यन्त्र र उपकरणको पहुँचमा वृद्धि गरिनुपर्दछ । पूँजीपतिलाई गाली गरेर होइन, लगानीमा प्रोत्साहित गरेर अघि बढ्नुपर्दछ । पूँजी र पूँजीपतिको संरक्षण गर्नुपर्छ । शिक्षा, स्वास्थ्यलगायत सेवा सुविधा प्रभावकारी बनाउनु पर्दछ । महानगरपालिकाको समग्र विकासका लागि एउटा उच्चस्तरीय निकाय गठन गर्नेछु । लगानीकर्ताको चासो र सरोकार सम्बोधनका लागि स्पष्ट योजना तयार गरिनेछ । वीरगञ्जलाई आधुनिक शहरको रूपमा विकास गर्नेछौं । स्याटेलाइट सिटी बनाइनेछ । वीरगञ्जलाई पर्यटकीयस्थल बनाइनेछ । आज सूचना प्रविधिमा व्यापक प्रयोग र परिवर्तन भएका छन् । विकासमा यसको उपयोग गर्नुपर्दछ । 

विराटनगरवासीले गर्व गर्नलायक महानगर बनाउँछु

नागेश कोइराला
गठबन्धनबाट मेयरका उम्मेदवार, नेपाली कांग्रेस

चुनावी तयारी कस्तो छ ?
घरदैलो, कोणसभा, भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छु । भेट्न नसकेका महानगरवासीसँग फोनबाटै भए पनि भोट मागिरहेको छु । 

घरदैलोमा पुग्दा महानगरवासीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 
महानगरवासीको प्रतिक्रियाले उत्साहित भएको छु । नागेश कोइराला मेयर भयो भने पक्कै पनि विराटनगर बनाउँछ भन्ने आशा र भरोसा भएको पाएको छु । यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । मैले तरुण दल र पार्टीका विभिन्न तहमा बसेर काम गर्दा समाजसेवालाई पनि निरन्तरता दिएँ । महानगरवासीका दुःख/अप्ठ्यारोमा साथमै रहेँ । यसकारण पनि मेरो उम्मेदवारीले महानगरवासीमा एक किसिमको आशा जगाएको छ । 

के कस्ता एजेन्डा लिएर मतदाताबीच पुगिरहनु भएको छ ?
पार्टीका केन्द्रीय सदस्य भीम पराजुली नेतृत्वका जनप्रतिनिधिले शुरू गरेका कामलाई निरन्तरता दिँदै विराटनगरको विकास गर्ने थुप्रै एजेन्डा छन् । हामीले प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छौं । मेरो बानी धेरै बोल्नेभन्दा काम गर्ने हो । म जे बोल्छु, त्यो गरेर छाड्छु । त्यसकारण मैले धेरै ठूला योजना अघि सारेको छैन । महानगरवासीका स–साना समस्या समाधान गर्ने योजना छन् । पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो । भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ । 
भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँदिल्लीलाई लिन सकिन्छ । भ्रष्टाचार मात्र नहुने हो भने विराटनगर मात्र होइन, मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो । भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म विराटनगरबाट देखाउन चाहन्छु । 
महानगरवासीका लागि मेट्रोसिटी अस्पताल बनाउनेछु । महानगरका विभिन्न स्थानमा महिला र अपांगतामैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य बीमा, ३० युनिट मात्र विद्युत् खतप गर्नेका लागि महशुलमा छूट, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, खानेपानी समस्या समाधान गर्नेछौं । डुबान समस्या समाधानका लागि केसलिया र सिंघिया खोलामा तटबन्ध बनाउनेछौं । साथै त्यसको दुवैतर्फ सडक निर्माण गरेर विराटनगर बजार क्षेत्रको सवारी चाप कम गर्ने योजना छ । यसबाहेक करको दायरा बढाउने र दर घटाउने एजेन्डा पनि छन् । स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रको विकासका एजेन्डा छन् । सारमा भन्नुपर्दा सफा, सुन्दर, हराभरा, सुरक्षित र विराटनगरवासीले गर्व गर्न एवं भावी पुस्ताले सम्झनलायक विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको टिम बनाएर उहाँहरूको सुझावअनुसार विराटनगरलाई ५ वर्षभित्र मुलुककै नमूना महानगर बनाउनेछु । 

यति धेरै योजना सुनाउनु भयो । महानगरको सीमित स्रोतले कसरी पूरा गर्नुहुन्छ ?
हो, महानगरको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ । तर, पूरा गर्न सकिन्छ । प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ । दातृ निकायहरू पनि विराटनगरमा लगानी गर्न चाहन्छन् । उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ । यसभन्दा अगाडि पनि एडीबीको पैसाबाट विराटनगरमा ढलसहितको सडक बनेको छ । अब बाँकी सडक पूर्वाधारसहित अन्य क्षेत्रको विकासका लागि एडीबी, जाइका, ईयूलगायतका दातृ निकायबाट सहयोग ल्याउन सकिन्छ । 
अर्कोतर्फ विराटनगरमा जन्मिएर विदेशमा कर्म गरिरहेका विराटनगरलाई माया गर्ने थुप्रै महानुभाव हुनुहुन्छ । उहाँहरूलाई पनि विराटनगरसँग जोड्न सकिन्छ । यसका लागि इच्छाशक्ति र भिजन चाहिन्छ, जुन मसँग छन् । यसबाहेक विराटनगरमा ठूला मन भएका उद्योगी व्यवसायी हुनुहुन्छ । यहाँको निजीक्षेत्रसँग मिलेर धेरै काम गर्न सकिन्छ । उद्योगी व्यवसायीले विगतदेखि नै विराटनगरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । यसलाई थप बढाउन मसँग स्पष्ट योजना छन् । विराटनगर बनाउने दृढ इच्छाशक्ति छ । 

तपाईंले चुनाव जित्ने खास आधार के छन् ?
पहिलो त कांग्रेसको संगठन नै हो । विराटनगर कांग्रेसको गढ पनि हो । कांग्रेस एक्लै चुनावमा लड्दा पनि विराटनगरमा जित्छ । अर्को, जसपासँग हाम्रो केन्द्रदेखि नैै गठबन्धन छ । दुईओटा पार्टीको तालमेल नै जितको आधार हो । अर्को, हामीले अघि सारेका एजेन्डा पनि हाम्रो जितको आधार हो भन्ने लाग्छ । यसबाहेक अर्को आधार कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, केन्द्रीय नेताहरू महेश आचार्य, डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली मात्र होइन, पार्टीका आमकार्यकर्ता पनि मलाई जिताउन रातदिन नभनी लाग्नुभएको छ ।

तपाईंले भ्रष्टाचार शून्यमा झार्छु भन्दै आउनु भएको छ । त्यो सम्भव छ ? 
म सकारात्मक सोच भएको व्यक्ति हुँ । हामी सबै मिल्यौं भने सक्छौं । भनाइ नै छ, ‘मुहान सफा भयो भने तल बग्ने पानी पनि सफा हुन्छ ।’ मुहान फोहोर भयो भने जति नै प्रयास गर्दा पनि तल बग्ने पानी सफा गर्न गाह्रो पर्छ । त्यसकारण म भ्रष्टाचार गर्दिनँ । मैले भ्रष्टाचार नगर्दा अरूले पनि गर्ने आँट गर्दैनन् । भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने भ्रष्टाचार स्वतः अन्त्य हुन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)