ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फलफूलको मूल्य बढ्यो,  बजारको माग आयातित फलफूलले धान्ने

२०७९ जेठ, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

जेठ ४, काठमाडौं । पछिल्लो केहि दिन यतादेखि बजारमा फलफूलको मूल्य अत्यधिक बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीमै बढेको फलफूलको मूल्य खुद्रामै पनि व्यवसायीहरुले मूल्य बढाएर विक्री गरिरहेको पाईन्छ । गत महीनाको तुलनामा यो महीना ९० प्रतिशत फलफूलहरुमा मूल्य वृद्धि भएको तथ्याकंमा देखिन्छ ।

गत वैशाख महीनामा प्रतिकिलो २५० रुपैयाँ रहेको अनारको मूल्य बढेर अहिले प्रतिकिलो ४०० रुपैयाँ पुगेको छ । त्यस्तै, थोक बजारमा प्रतिकेजी स्याउ ३०० रुपैयाँमा विक्री भइरहेको छ ।

खुद्रा बजारमा उक्त स्याउ ३५० रुपैयाँसम्ममा विक्री भइरहेको पाइन्छ । गत महीना स्याउको थोक मूल्य २७५ रुपैयाँ रहेको थियो । कालीमाटी बजार बाहिर विक्री गर्ने व्यवसायीहरुले आफुलाई मनलागेको मूल्यमा विक्री गरिरहेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् ।

यस्तै, गत महीनाको तुलनामा केराको मूल्य कालीमाटी थोक बजारमा २० रुपैयाँसम्मले बढेको छ । अहिले केरा प्रतिदर्जन १७० रुपैयाँ रहेको छ । गत वर्ष यही समयमा केराको मूल्य १०५ रुपैयाँ रहेको थियो भने हाल १७० रुपैयाँ प्रतिदर्जन पुगेको छ । खुद्रा बजारमा केराको मूल्यमा ५० रुपैयाँ बढेको छ । 

यस्तै, अनारको पनि थोक मूल्यमा प्रतिकेजी १०० रुपैयाँ वृद्धि भएको छ । गत वैशाख महीनामा अनार प्रतिकेजी ३०० रुपैयाँमा विक्री भइरहेको थियो । अहिले अनारको मूल्य प्रतिकेजि ४०० रुपैयाँ होलसेलमै पर्ने गरेको व्यापारीहरु बताउँछन् ।

खुद्रामा भने अनार प्रतिकेजि ४५० रुपैयाँसम्म पर्ने गरेको कालीमाटी बजारका खुद्रा व्यापारी हरिहर पाण्डेले बताए । बजारमै पनि अनारको अभाव हुँदा महँगोमै ल्याएर बेच्न परेको उनको भनाइ छ ।

त्यस्तै तरबुजा, भुईकटर, मेवाको मूल्यमा भने खासै धेरै परिवर्तन भएको छैन । थोक बजारमा मूल्य केही फरक नआए पनि खुद्रा बजारमा भने १० देखि २० रुपैयाँ वृद्धि भएको छ ।
कुलेश्वरस्थित फलफूल बजार विकास समितिका अध्यक्ष अमर बानियाका अनुसार अहिले बजारमा पाइने अधिकांश फलफूल भारतलगायतका छिमेकी मुलुकबाट आयातित भएका हुन् ।नेपालमै उत्पादन हुने फलफूलले सिजनकै बेलामा माग पुरा हुँदैन, बेसिजनमा पाईने सबै फलफूल बाहिर बाटै आउने हो ।

उनका अनुसार केरा दर्जनमै ३० रुपैयाँले बढेर आएको छ । भारतमा गर्मि बढेकाले र पहिला आउने ठाउँभन्दा बाहिरि ठाउँबाट मगाउँदा महँगो भएको उनले बताए । नेपालकै चितवनमा पनि केराको सिजन शुरु भएको तर बजारमा भने आइसकेको छैन । 

त्यसैगरि, चीनबाट आयात हुने स्याउ पनि अहिले महँगिएको छ । पछिल्लो समय चीनमा कोरोना महामारी फैलिएको हल्लाले गर्दा स्याउ आयात भएको छैन। यहाँबाट पैसा पठाएको तर त्यहाँका व्यापारीहरुले २/ ३ हप्तामा पनि कोरोनाको कारण देखाएर लोड गरेका छैनन् । नेपालमा फूजी स्याउको माग एकदमै धेरै भएकाले पनि यसको मूल्य बढेको बानियाले बताए ।

त्यसैगरि, अहिले बजारमा उखुको माग धेरै छ तर स्वदेशी उत्पादन मात्रै भएकाले यसको पनि मूल्य बढेको छ । पहिला उखु एक विटाको १ हजार २०० देखि १ हजार ५०० रुपैयाँसम्म पर्ने गरेकोमा अहिले प्रतिबिटा २ हजार ५०० रुपैयाँसम्म पर्छ । यसले गर्दा नेपाली उखुलाई सहयोग भयो तर उपभोक्तालाई समस्या भएको छ । त्यसो त अहिले अनार  भारतमै पनि महँगो भएको छ ।

‘नेपालमा महँगो मूल्य तिर्दा पनि राम्रो र गुणस्तरीयय अनार पाईदैन । अहिले अनार एकदमै सीमित मात्रमा भित्रिएको छ’, उनले भने। पहिला - पहिला दिनको २० टन अनार भित्रिने गरेकोमा अहिले हप्तामै २० टन भित्रिन पनि मुस्किल परेको उनको भनाइ छ।

अहिले काठमाडौं, बुटवल, नारायणघाट पनि अनारको अभाव छ । काठमाडौंको कुलेश्वर बजारमा प्रतिदिन १ करोड रुपैयाँभन्दा बढिको फलफूल विक्री हुने गरेको बानियाँले बताए । 

भन्सार विभागको तथ्याकं अनुसार नौ महीनाको अवधिमा प्रमुख फलफूल मात्रै ११ अर्ब ७० करोड ८९ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । त्यसमध्ये, अनार १ अर्व १ करोड ८४ लाख ७६ हजार रुपैयाँको ९७ लाख ८८ हजार ७६३ किलोग्रम अनार आयात भएको देखिन्छ । यस्तै, १ अर्ब ३१ करोड १८ लाख बराबरको ४ करोड ६१ लाख ७७ हजार ४५८ किलोग्राम केरा आयात गरेको छ ।

त्यसैगरि, ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार रुपैयाँ बराबरको ६ करोड ९४ लाख ११ हजार ९४३ किलोग्राम स्याउ आयात भएको छ ।      

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)