ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जरले १४ कम्पनीको शेयर कारोबार रोक्का : लामो समय कारोबार रोक्ने चलन अव्यवहारिक*

२०७९ जेठ, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मर्जर र प्राप्तिका कारण १४ कम्पनीको शेयर कारोबार रोक्का छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार तीन वाणिज्य बैंक, पाँच बीमा कम्पनी, ४ लघुवित्त कम्पनी र दुई जलविद्युत् कम्पनीको शेयर कारोबार मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोकिएको हो । 

शेयर कारोबार रोक्का हुने तीन वाणिज्य बैंकमा नेपाल इन्भेष्टमेण्ट, हिमालयन र नेपाल बंगलादेश बैंक छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको मर्जर प्रयोजनका लागि २०७८ वैशाख ३१ गतेदेखि शेयर कारोबार रोक्का गरिएको हो ।

दुई कम्पनीबीचको मर्जर भाँडिइसकेको अवस्थामा पनि शेयर कारोबार खुला गरिएको छैन । नेप्सेले बैंकहरूबाट कारोबार खोलिदिन लिखित अनुरोध नआएकाले मर्जर भाँडिएको समाचार आए पनि कारोबार खुला हुन नसकेको बताएको छ । नबिल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार पनि २०७८ पुस ३० गतेदेखि रोक्का छ ।

यतिबेला बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत् क्षेत्रमा मर्जर तथा प्राप्तिको चहलपहल देख्न सकिन्छ । पछिल्लो समय पाँच बीमा कम्पनीले मर्जरसम्बन्धी सहमति र सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पूँजी वृद्धि अभियान चलिरहेको बीमा क्षेत्रमा एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरेका छन् । वैशाख २२ गते प्रारम्भिक मर्जर सम्झौता गरेका यी दुई कम्पनीको शेयर कारोबार वैशाख २३ गतेदेखि रोक्का छ । बीमा क्षेत्रकै ठूलो मर्जर सहमति युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइमलाइफ इन्स्योरेन्सबीच भएको छ ।

वैशाख २९ गते मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका यी तीन कम्पनीको शेयर कारोबार भने ४ दिन लगातार सार्वजनिक बिदा परेकाले जेठ ३ गतेदेखि रोक्का भएको छ । यीबाहेक नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त र समाज लघुवित्तको शेयर कारोबार पनि मर्जर तथा प्राप्तिकै निहुँमा रोक्का रहेको छ ।

मर्जर र प्राप्तिको कारण लामो समयसम्म कारोबार रोक्का रहँदा समस्यामा परेको गुनासो लगानीकर्ताले गरेका छन् । मर्जर र प्राप्तिको प्रक्रियाबाट बाहिरिएको महिनौं बित्दा पनि कारोबार खुला नगर्दा आम लगानीकर्ताको सम्पत्तिमाथि खेलाँची गरिए जस्तो देखिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल मर्जर तथा प्राप्तिका कारण रोकिएका कारोबारबाट परेको असरलाई सम्बद्ध निकायले गम्भीरताका साथ लिनुपर्ने बताउँछन् । मर्जर तथा प्राप्ति प्रक्रियालाई सधैं सहयोग गरिरहेका लगानीकर्ता यतिबेला सबैभन्दा बढी मारमा परेको बुझाइ उनको छ । 

‘एक वर्ष अघिदेखि रोक्का रहेको कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताको त्योबाहेक अरू सम्पत्ति छैन र यतिबेला उसलाई उपचार, छोराछोरीको शिक्षादीक्षा, ऋणको किस्ता भुक्तानी वा अन्य जरुरी खर्चका लागि रकम चाहिएको छ । यो अवस्थाको सम्बोधन कसले गर्ने रु’ 

पौडेलले प्रश्न गरे,  ‘हाल रोक्का रहेका कम्पनीहरूको शेयर धितो राखी कर्जा लिएका लगानीकर्तालाई कर्जाको सीमा ४ करोड रुपैयाँमा झार्नु छ । शेयरको मूल्य घटेर आधा भएको अवस्था छ । 

विक्री गरौं आफूसँग भएका शेयर रोक्का छन्, नगरौ बैंकको खराब कर्जा सूचीमा परिन्छ ।’ कर्जा तिर्ने इच्छा र सम्पत्ति भएर पनि लगानीकर्ता विकल्पहीन अवस्थामा पुगेको पौडेलले गुनासो गरे ।

‘नियामकले यसरी विकल्पहीन बनाएर लगानीकर्तालाई विस्थापित गर्न मिल्छ रु’ पौडेलले प्रश्न थपे । आजभन्दा १२ वर्षअघि सामान्य समस्याका कारण गरिएको रोक्काको व्यवस्थामा आज खर्बको कारोबार रोक्का हुँदा समेत पुनर्विचार नगर्ने सरोकारवाला निकायबाट आम लगानीकर्ताले अरू अपेक्षा गर्न नसक्ने उनको भनाइ छ ।

कारोबार रोक्का राख्ने निकाय नेप्सेले पनि मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय कारोबार रोक्का राख्ने अभ्यास अन्तरराष्ट्रिय स्तरमा नभएको बताएको छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले अन्तरराष्ट्रिय अभ्यासमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि अन्तिम सम्झौता भएपछि स्वाप रेसियोअनुसारको शेयर कायम गराउन एक दिन मात्र कारोबार रोक्का हुने व्यवस्था रहेको बताए । 

नेपालमा मर्जर र प्राप्ति प्रयोजनका लागि कारोबार रोक्का गर्ने परिपाटीले कसैलाई पनि फाइदा नहुने बुझाइ पराजुलीको छ । बजार सञ्चालकको नाताले बजार सम्बद्ध पक्षलाई मर्जर वा प्राप्ति प्रयोजनका लागि कारोबार रोक्काको अन्तरराष्ट्रिय अभ्यासबारे बारम्बार जानकारी गराउँदै आएको समेत उनले बताए । कुनै व्यवस्थाले कुनै पक्षलाई पनि फाइदा गर्दैन भने त्यसलाई समयसापेक्ष बनाएर लैजानुपर्ने उनी बताउँछन् ।

सूचना अधिकारी पराजुलीले आम नेपालीको सम्पत्तिसँग जोडिएको धितोपत्रको दोस्रो बजारलाई समयसापेक्ष बनाउन नेप्सेको मात्र भूमिका पर्याप्त नहुने र यससँग जोडिएका हरेक निकायबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए । 

*उपरोक्त समाचारमा मर्जरले १४ कम्पनीको शेयर कारोबार रोक्का हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)