काठमाडौं । धितोपत्र बजारको नियमन र सुधार तथा विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले विक्रम संवत् २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना गरिएको हो ।
बोर्डको बजार नियमनसम्बन्धी बढ्दो जिम्मेवारीअनुरूपको कानूनी व्यवस्था गर्न धितोपत्रसम्बन्धी ऐन, २०६३ तर्जुमा गरिएको थियो । उक्त ऐनबमोजिम पूँजी बजारको नियमन निकायका रूपमा बोर्डले धितोपत्रको निष्कासन, खरीदविक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको कामकारबाहीलाई व्यवस्थित गर्दै आएको छ ।
साथै, वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ जारी भएपश्चात् बोर्डमा वस्तु विनिमय बजारको नियमन गर्ने जिम्मेवारी आएकोमा बोर्डबाट बस्तु विनिमय बजार सञ्चालनका लागि कानूनी संरचना तयार गरिएको छ । बोर्डबाट धितोपत्र बजारलाई व्यवस्थित गर्न विभिन्न ११ ओटा नियमावली, सातओटा निर्देशिका, ६ ओटा विनियम, दुईओटा म्यानुयल र दुई ओटा निर्देशन तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।
वस्तु विनिमय बजार नियमन एवं कानूनी व्यवस्था
२०७४ भदौ ११ गते देखि वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ लागू भएको छ । वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ लागू गरेपश्चात् देशमा वस्तु विनिमय बजार नियमनका लागि आवश्यक कानूनी पूर्वाधार तयार भएको छ । यसबाट बोर्डको नियमन क्षेत्राधिकारसमेत बढ्न गएको छ । बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८ तयार गरी २०७८ साल असार १५ गतेदेखि लागू गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमन तथा सञ्चालन
बोर्डले २०७५ फागुन २२ गतेदेखि विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरेको छ । प्राइभेट इक्विटी, भेञ्चर फन्ड र हेज फन्डजस्ता विशिष्ट प्रकृतिका संस्थाहरूलाई धितोपत्र बजारमा प्रवेश गराई स्वदेशी तथा विदेशी पूँजी परिचालन गर्ने कार्यको नियमन गर्न बोर्डले उक्त नियमावली लागू गरेको हो । धितोपत्र बजारमा यस्ता कोषहरूको सञ्चालनबाट देशको आर्थिक गतिविधिहरूमा गतिशीलता आउने देखिन्छ । सोही क्रममा भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्ड परिचालन गर्न कोष व्यवस्थापकको अनुमतिपत्रका लागि बोर्डमा १७ कम्पनीको निवेदन प्राप्त भएकोमा सम्पूर्ण कागजात तथा विवरण पेश गरेका सातओटा कम्पनीलाई भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटीको कार्य गर्ने अनुमति दिन सहमति प्रदान गरिएको छ ।
धितोपत्र बजार सञ्चालन व्यवस्था
बोर्डले धितोपत्रको दोस्रो बजार कारोबार सञ्चालन व्यवस्थाका लागि मिति २०५० पुस २३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई धितोपत्रको दोस्रो बजारको सञ्चालन अनुमति दिएको थियो । नेप्स संस्थागत धितोपत्रहरू तथा सरकारी ऋणपत्रलाई तरलता प्रदान गर्नुका साथै त्यसको निर्बाध रूपमा किनबेच सुविधा प्रदान गर्न बोर्डबाट अनुमतिप्राप्त हालसम्म एक मात्र धितोपत्रकोे दोस्रो बजार हो । नेप्सेले संगठित संस्थाहरूले निष्कासन तथा बाँडफाँट गरी सूचीकरण भएका धितोपत्रहरूको विनिमय कारोबार सञ्चालन गरिरहेको छ ।
केन्द्रीय निक्षेप सेवा सञ्चालन
धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६४ को व्यवस्थाबमोजिम नेप्सेको पूर्ण स्वामित्व रहने गरी विक्रम संवत् २०६७ मा स्थापित सिडिएस एन्ड क्लियरिङ लिमिडेड ९सीडीएससी० लाई सेवा सञ्चालन अनुमति दिइएको थियो । हाल उक्त कम्पनीले धितोपत्रको अभौतिकीकरण तथा केन्द्रीय निक्षेप सेवा प्रदान गर्नुका साथै धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट सेवा प्रदान गर्दै आएको छ । सीडीएससी नेपालको एक मात्र धितोपत्रको केन्द्रीय निक्षेप कम्पनीका रूपमा रहेको छ । धितोपत्र बजारमा २०७९ जेठ १७ सम्ममा करीब ५२ लाखको डिम्याट खाता रहेको छ भने मेरो शेयर खाता संख्या ४३ लाख भन्दा बढी पुगिसकेको छ ।
क्रेडिट रेटिङ संस्था
सूचीकृत कम्पनी तथा यस्ता कम्पनीले निष्कासन गर्ने धितोपत्रहरूको रेटिङ गरी लगानीकर्तालाई जोखिमको स्तरसम्बन्धी जानकारी दिने उद्देश्यले क्रेडिट रेटिङ नियमावली, २०६८ मा भएको व्यवस्थाअनुरूप बोर्डले विसं २०६९ साल देखि क्रेडिट रेटिङ कम्पनीलाई सञ्चालन अनुमति दिन शुरू गरेकोमा हाल यस्ता तीनओटा कम्पनी सञ्चालनमा छन् ।
सामूहिक लगानी कोष तथा योजना र योजना व्यवस्थापक तथा डिपोजिटरी
विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी बोर्डले सामूहिक लगानी कोषहरू सञ्चालनको अनुमति प्रदान गरेको छ । हाल बोर्डमा १८ ओटा सामूहिक लगानी कोष दर्ता गरिएकोमा उक्त कोषहरूमार्फत धितोपत्र बजारमा विभिन्न २९ ओटा योजना सञ्चालनमा छन् । कुल योजनामध्ये २५ ओटा बन्दमुखी योजना र चारओटा खुलामुखी योजना सञ्चालनमा रही बजारमा करीब रू। ३२ अर्ब ४२ करोडभन्दा बढी पूँजी परिचालन भएको छ ।
धितोपत्र व्यापारी (स्टक डिलर) सञ्चालन
बोर्डले २०७६ साल फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको छ । उक्त संशोधनपश्चात् नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई धितोपत्र व्यापारीको कार्य गर्न बोर्डले अनुमति दिएको छ । नेपालको धितोपत्र बजारमा पहिलोपटक धितोपत्र व्यापारीको प्रवेश भएको हो ।
मर्चेन्ट बैंकिङ व्यवसाय
धितोपत्र कारोबारलाई व्यवस्थित गर्न बोर्डले हाल ३० ओटा कम्पनीलाई मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमतिपत्र प्रदान गरेको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ६२ मा गरिएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्न मिल्ने व्यवस्था बोर्डले गरेको हो । यस्ता व्यवसायीले निष्कासन तथा विक्री प्रबन्ध सेवा, धितोपत्रको प्रत्याभूति सेवा, शेयर रजिस्ट्रार सेवा, पोर्टफोलियो सेवा तथा लगानी परामर्श सेवा प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएका छन् ।
धितोपत्र दलाल व्यवसायी सेवामा सुधार तथा विस्तार
धितोपत्र कारोबारमा मध्यस्थकर्ताका रूपमा काम गर्न हाल ५० धितोपत्र दलाल व्यवसायी कार्यरत छन् । पछिल्लो समय ब्रोकरहरूले आफ्नो सेवा विस्तार गर्दै उपत्यकाबाहिर ४५ ओटा यस्ता शाखा सञ्चालनमा ल्याएका छन् । बोर्डले ब्रोकरमार्फत प्रवाह हुने गरी मार्जिन कारोबारसम्बन्धी थप कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ मा मार्जिन कारोबारसम्बन्धी ऋणको ब्याजदर तथा अनुगमनसम्बन्धी विशेष व्यवस्था पनि समावेश गरिएको छ । हाल ४१ ओटा धितोपत्र दलाल व्यवसायीहरूको ५३ ओटा शाखा कार्यालयमार्फत देशका मुख्य शहरहरूमा सेवा उपलब्ध भएको छ ।
निक्षेप सदस्य
बोर्डबाट ८१ कम्पनीले निक्षेप सेवा कार्य गर्न अनुमति लिएका छन् । यस्ता कम्पनीले डिम्याट खाता खोल्न तथा धितोपत्रलाई अभौतीकृत गर्ने कार्यमा लगानीकर्तालाई महत्त्वपूर्ण सेवा प्रदान गर्ने कार्य गर्छ । धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ बमोजिम स्थापित निक्षेप सदस्यहरूको संख्या क्रमशः बढ्दै गएको छ ।
आस्बा सदस्य
धितोपत्रको प्राथमिक बजारमा बोर्डले आस्बा प्रणाली लागू गरेपश्चात् आस्बा सदस्यका रूपमा कार्य गर्न ४९ बैंक तथा वित्तीय संस्थाहरूलाई अनुमति दिएको छ । यी आस्बा सदस्यले मर्चेन्ट बैंकरसँग सहकार्य गरी धितोपत्रको प्राथमिक निष्कासन कार्यमा धितोपत्रको दरखास्त संकलनसम्बन्धी कार्यको व्यवस्थापन गर्दै आएका छन् । देशको ७७ ओटै जिल्लामा आस्बा सेवा उपलब्ध भई धितोपत्रको प्राथमिक बजारको पहुँच देशव्यापी रूपमा विस्तार भएको छ ।
योग्य संस्थागत लगानीकर्तालाई अनुमति
बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ मिति २०७७ साल साउन २८ गते जारी गरेको थियो । धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तरराष्ट्रिय रूपमा प्रचलनमा रहेको बुक बिल्डिङ विधि लागू भइसकेको छ । प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न बोर्डले १०० संस्थागत लगानीकर्तालाई अनुमति प्रदान गरेको छ ।
बोर्डको चारवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा
बोर्डले समग्र बजारको सुधार तथा विकास विस्तारलाई उच्च प्राथमिकता दिई चारवर्षे रणनीतिक योजना कार्यान्वयनका लागि अघि बढाएको छ । आर्थिक वर्ष २०७७र७८ को प्रारम्भदेखि नै लागू हुने गरी बोर्डले चारवर्षीय रणनीतिक योेजना तर्जुमा गरी कार्यान्वयनको चरणमा रहेको छ । चारवर्षे रणनीतिक योजनामा सात ओटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । बोर्डले ऐन नियम, बजार विकास, नियमन क्षमता, सुशासन, पारदर्शिता तथा परिपालना, जोखिम व्यवस्थापन, लगानीकर्ता शिक्षा र सर्वसाधारणको सचेतना अभिवृद्धिसँगै बोर्डको राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्बन्ध विकासजस्ता योजना कार्यान्वयनमा ल्याएको हो ।
बोर्डको आगामी लक्ष्य तथा प्राथमिकता
धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य बोर्डले लिएको छ । बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालीम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने लक्ष्य बोर्डको छ । बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तरराष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याउने योजना बोर्डको छ ।
सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी व्यावसायिक रूपमा सफल तथा स्थापित अन्य कम्पनीलाई धितोपत्र बजारमा सूचीकरण गराई तिनमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने काममा बोर्डले ध्यान दिनेछ । पर्याप्त पूँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पूँजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने लक्ष्यसमेत बोर्डको छ । समग्रमा बजारको विकास तथा विस्तार गर्ने, कानूनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको भावी प्राथमिकता रहेको छ ।
धितोपत्र बजारमा सर्वसाधारण सहभागिताको अवस्था
हाल नेपालमा कुल जनसंख्याको करीब १८ प्रतिशत जनसंख्या पूँजी बजारमा आबद्ध भएको देखिन्छ, जुन भारत र बंगलादेशमा क्रमशः ६ दशमलव ५५ प्रतिशत र १ दशमलव २४ प्रतिशत मात्र रहेको देखिन्छ ।
विशेषतः धितोपत्रको प्राथमिक निष्कासनमा आस्बा प्रणाली लागू गरिनु, धितोपत्र बाँडफाँटमा सम्भव भएसम्म न्यूनतम १० कित्ता बाँडफाँट गर्नुपर्ने नियम लागू गरिनुका साथै धितोपत्रको दोस्रो बजार कारोबार प्रणाली पूर्णतया अनलाइनमा आधारित भएका कारण पूँजी बजारमा सर्वसाधारणको सहभागिता बढेको देखिन्छ ।