ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थले बनाउने सुझाव समितिमा लगानीकर्ताको आपत्ति, 'जसका समस्या, उनैलाई नसमेटेर समिति !'

२०७९ जेठ, २७  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । अर्थ मन्त्रालयले पूँजीबजारको  समस्या समाधानका लागि गठन गरेको चार सदस्यीय सुझाव समितिमा लगानीकर्ताको समेत प्रतिनिधित्व हुनुपर्ने आवाज उठेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधवार मात्रै लगानीकर्ताका समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने निर्णय गरेको बताएका थिए ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को ३०औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले पूँजीबजारको समस्या समाधानका निमित्त नेपाल धितोपत्र बोर्डको संयोजकत्व रहने गरी मन्त्रालय र नेपाल राष्ट्र बैंकका एक–एक जना प्रतिनिधि सहितको सुझाव समिति गठन गर्ने निर्णय गरेको जानकारी दिएका थिए । 

लगानीकर्ताहरूको दबाबका बीच सरकारले सुझाव समिति गठन गरेको र उक्त समितिमा लगानीकर्ताहरूको प्रतिनिधित्व नभएकोमा भने लगानीकर्ताहरूको आपत्ति छ । 

लगानीकर्ताहरूको हित  संरक्षणका लागि गठित लगानीकर्ता संघका पदाधिकारीहरूले पूँजीबजारको समस्या समाधान गर्ने समितिमा लगानीकर्ताको समेत प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् ।

केही दिनदेखि पूँजीबजारको  विकास र विस्तारका लागि पूर्वनिर्धारित नीति तथा कार्यक्रम कार्यान्वयनको माग सहित लगानीकर्ताहरू आन्दोलनमै रहेका छन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले पूँजीबजार सुधारका १९ बुँदे माग सहित आन्दोलन जारी राखेका छन् ।

सरकारले तीन वर्षअघि पनि पूँजीबजारको समस्या समाधानका लागि सुझाव समिति गठन गरेको थियो । उक्त सुझाव समितिले दिएको ५८ बुँदा सुझावमध्ये बजारका लागि महत्वपूर्ण रहेका केही बुँदाहरू सहित राष्ट्र बैंकको पछिल्लो नीतिमा देखिएका अन्य बुँदा समेटेर लगानीकर्ताहरूले १९ बुँदा कार्यान्वयनको माग गरेका छन् ।

शेयर लगानीकर्ता दबाब समूहका सचिव नयन बास्तोलाले सरकारले पूँजीबजारको समस्या समाधानका लागि गठन गरेको समितिमा लगानीकर्ताको समेत प्रतिनिधित्व हुनुपर्ने बताए । नीतिगत तहमा बसेका निकायको मात्र प्रतिनिधित्व हुँदा आम लगानीकर्ताको समस्या प्रष्ट आउन नसक्ने भन्दै लगानीकर्ताको समेत प्रतिनिधित्व गराई सुझाव समितिको कार्य अघि बढाउनुपर्ने उनको भनाइ छ । 

बास्तोलाले लगानीकर्ता मात्र नभई धितोपत्र कारोबारमा प्रत्यक्ष सरोकार राख्ने नेपाल स्टक एक्सचेञ्ज, ब्रोकर र मर्चेन्ट बैंकरबाट पनि सुझाव समितिमा प्रतिनिधित्व भए प्रभावकारी हुने प्रतिक्रिया दिए ।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले सरकारले समिति गठन गर्ने निर्णय गरेको र समितिका सदस्यहरूको नामावली अन्तिम चरणमा नपुगेको अवस्थामा लगानीकर्ताको समेत सहभागिता रहनुपर्ने पहल जारी रहेको बताए । उनले साँच्चै बजारको विकास र विस्तारका लागि सुझाव समितिले नीति तथा कार्यक्रमका लागि सुझाव दिने भए लगानीकर्ताको अनिवार्य सहभागिता हुनुपर्ने माग गरे ।

यसअघि गठित सुझाव समितिले दिएको सुझाव कार्यान्वयनको माग गर्दै आन्दोलनरत अवस्थामा रहेका लगानीकर्ताहरूलाई सुझाव समितिमा प्रतिनिधित्व नगराए मान्य नहुने पनि उनको भनाइ छ ।

आम लगानीकर्ताहरुको सुझावलाई समेटेर समितिले काम गर्छ : धितोपत्र बोर्ड 
लगानीकर्ताहरूको सुझाव समितिमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग राखिरहँदा समितिको संयोजकत्वको जिम्मा पाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आम लगानीकर्ताहरूको सुझावलाई लिएर समितिले काम गर्ने बताएका छन् ।

सबै लगानीकर्ता संघ सहित बजारका सबै सरोकारवाला निकायहरूको राय सुझावका आधारमा गठित सुझाव समितिले काम गर्ने भएकाले निरास नहुन अध्यक्ष हमालले आग्रह गरेका छन् । विभिन्न सञ्चार माध्यमहरूमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय भएको समाचार आएकोमा भने हमालले खण्डन गरेका छन् । 

हमालले मन्त्रालयमा बुधवार विहान चार सदस्यीय सुझाव समिति गठन गर्ने निर्णय भएको भए पनि समितिका पदाधिकारीहरूको नाम भने छनोट हुन बाँकी रहेको बताए ।

बोर्डबाट अधिकृत तहका एक जना समितिमा संयोजक र अर्का एक जना सदस्य सचिव रहने र नेपाल राष्ट्र बैंक र मन्त्रालयबाट पनि एक–एक जना प्रतिनिधि छनोट गर्ने निर्णय बुधवारको बैठकमा भएको हमालले प्रष्ट पारे । सरकारले गठन गरेको समितिले आगामी मौद्रिक नीतिका लागि सुझाव दिने हुँदा आम लगानीकर्ताको हितमा सुझावहरू आउने हमालले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

ramram

[Jun 10, 2022 07:22am]

manxe haru kasto pagal kura garne ho. bimari lai nai dr. banayera upachar garaune ?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)