ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पछिल्लो १० महीनामा ११ ओटा जीवन बीमा कम्पनीको शेयरमूल्य औसत ५० प्रतिशत घट्यो

२०७९ जेठ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

जेठ २९, काठमाडौं । पछिल्लो समय बजार निरन्तर घट्दो क्रममा छ ।

३ हजार २ ०० विन्दुसम्म पुगेको बजार अहिले २ हजारको हाराहारीमा झरेको छ । उच्च विन्दुबाट बजार घटेर २ हजार विन्दुमा फर्कदा लगानीकर्ताले अर्बौं रूपैयाँ गुमाइसकेका छन् । नेप्सेमा १३ ओटा समूह रहेका छन् ।

१३ ओटा समूहमध्ये जीवन बीमा कम्पनीको शेयरमूल्य पनि निरन्तर घट्दो क्रममा नै रहेको देखिन्छ । नेप्से परिसूचक भदौ २ गते इतिहासकै उच्च विन्दु ३ हजार २०० मा पुग्दाको शेयरमूल्य र २०७९ जेठ २७ गते शुक्रवारको शेयरमूल्यलाई आधार मान्दा जीवन बीमा कम्पनीहरूको शेयरमूल्य निकै सस्तिएको छ । हाल नेप्सेमा १२ ओटा जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् ।

१२ ओटा  कम्पनीमध्ये पछिल्लो समय ९ ओटा जीवन बीमा कम्पनीको मात्र शेयर कारोबार हुने गरेको छ । तीन ओटा कम्पनीको शेयर कारोबार अहिले रोक्का रहेको छ । युनियन लाइफ, गुुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एकापसमा मर्जरमा जाने सम्झौता भएसँगै यी कम्पनीहरूको शेयर कारोबार रोक्का भएको हो ।

तथ्यांकमा यी तीन ओटा कम्पनीको शेयर रोक्का भएको अघिल्लो दिन (वैशाख २९ गते) को शेयरमूल्य लिइएको छ । १० महीनाको अवधिमा ११ ओटा कम्पनीको शेयरमूल्य औसत ५० प्रतिशत घटेको छ ।

त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले भदौभन्दा पछि आईपीओ निष्कासन गरी दोस्रो बजारमा सूचीकृत गरेको थियो । त्यसैगरी यो कम्पनीको पनि पछिल्लो कारोबार दिनको मात्र शेयरमूल्य लिइएको छ । सोही कारण उक्त कम्पनीको शेयरमूल्य औसतमा देखाइएको छैन । यो कम्पनीबाहेक नेप्सेमा सूचीकृत ११ ओटा कम्पनीको शेयरमूल्यको भने औसत देखाइएको छ । 

११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६१ दशमलव ९९ प्रतिशत घटेको छ । २०७८ भदौ २ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ४५५ रहेकोमा २०७९ जेठ २७ गते शुक्रवार प्रतिकित्ता रू. ५५३ मा झरेको हो । यसोत यस कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयरको समायोजनपछि पनि घटेको हो ।

त्यसैगरी १० महीनाको शेयरमूल्यको तथ्यांक हेर्दा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५८ दशमलव ८५ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य गत भदौ २ गते प्रतिकित्ता रू.१ हजार ८८२ रहेकोमा जेठ २७ गते प्रतिकित्ता रू. ७७४ दशमलव ४ कायम भएको छ । यसरी हेर्दा महँगोमा शेयर किन्ने लगानीकर्ताहरू धेरै नै मारमा परेको देखिन्छ । महँगोमा शेयर किनेका लगानीकर्ताहरूले बोनस शेयरले पनि घाटा पूर्ति नगरेको बताएका छन् ।

यतिबेला कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले दीर्घकालीन रूपमा लगानी गर्ने समय आएको बजार विश्लेषकहरू बताउँछन् । दीर्घकालीन रूपमा लगानी गरेमा जीवन बीमा कम्पनीबाट पनि राम्रो प्रतिफल प्राप्त हुने कतिपयको भनाइ छ ।

१२ ओटा कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७० रहेको छ । 

स्रोत : नेप्से

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)